‘समृद्ध कर्णालीको दीगो आर्थिक विकासको आधारः अर्गानिक कृषि, पर्यटन, जलस्रोत र उद्योग हुन् पूर्वाधार’ भन्ने नारासहित सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो कर्णाली एक्सपो (महोत्सव) चलिरहेको छ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रवर्द्धन तथा सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा फागुन ६ गतेदेखि सुरू भएको महोत्सव १७ गतेसम्म चल्ने छ।
यसका लागि कृषि तथा सहकारी मन्त्रालयले मात्र ४२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
तर महोत्सवमा जाने दर्शकहरूबाट भने आयोजकको सहारामा अन्य गिरोहले लुट मच्चाइरहेका छन्। वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समिति र वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ महोत्सव सञ्चालन भइरहेको छ।
उत्तरतर्फ रहेको नगरपालिका र समन्वय समिति छेउको करिब १ किलोमिटर सडकमा दर्शकले मोटरसाइकल राखेबापत गिरोहले ‘पार्किङ शुल्क’ भन्दै रकम उठाउने गरेका छन्।
उक्त बाटो सार्वजनिक हो। सधैं खुला रहने बाटोमा महोत्सवको बहानामा प्रतिमोटरसाइकल २० रुपैयाँका दरले लिने गरेका छन्।
महोत्सव आयोजक समितिका संयोजक सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले महोत्सव बाहिर राखेर कसैले आफ्नो सवारी साधन जिम्मा दिन चाहेमा मोटरसाइकल रेखदेख गरिदिएवापत पैसा लिन सकिने व्यवस्था मिलाइएको बताए।
उनका अनुसार सवारी धनीले आफैं जिम्मा लिन चाहेमा पैसा नतिरे पनि हुन्छ।
तर महोत्सव बाहिर रहेको गिरोहले भने अनिवार्य पैसा असुल्ने गरेको छ।
संयोजक रावतका अनुसार १०–१५ रुपैयाँसम्म लिन भनिएको छ भने उनीहरूले २० रुपैयाँ लिने गरेका छन्।
‘महोत्सवमा आउने दर्शकहरूले कुनै पनि ठाउँमा राखे पनि उनीहरूको सवारी साधनको जिम्मा दिन चाहेमा लिनेले १० देखि १५ रुपैयाँ उठाउन भनिएको छ,’ अध्यक्ष रावतले भने, ‘आफैं जिम्मा लिनेहरूले पैसा नतिरे पनि हुन्छ।’
कमजोर व्यवस्थापनले दर्शकलाई सास्ती
महोत्सवमा प्रवेशद्वारका रूपमा ‘लण्डन ब्रिज’ को नमूना राखिएको छ। उक्त ब्रिजबाट दर्शकहरू सहजैभित्र प्रवेश गर्न सक्छन्। तर भित्र भने स्टलहरूको बीचमा हिँड्दा उनीहरूले सास्ती खेप्नुपरेको छ।
एकैपटक मानिसको हुल गेटबाट भित्र पठाउँदा स्टलहरूको बीचमा घण्टौंसम्म सास्ती भोग्दै दर्शकहरू खुला स्थानमा आवतजावत गर्नुपरेको छ।
स्टलहरूको बीचमा पेलापेल हुँदा बालबालिका र महिलाहरू मर्कामा पर्ने गरेका छन्।