आज महाशिवरात्रि।
फागुन कृष्ण त्रियोदशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको अति प्यारो दिनका रूपमा लिइन्छ।
यस पर्वका दिन उपवास बसी रातभर जाग्राम गरेर शिवको प्रिय गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।
महाशिवरात्रि पर्वको अवसरमा पशुपति मन्दिरमा भक्तजनहरूको बिहानैदेखि भीड लागेको छ। कोही भक्तजनहरू भने चिसो मौसममा पनि खाली खुट्टामा लाइन बसिरहेका छन्।
यसवर्ष पशुपति बेहुलीझैं सिंगारिएको छ। पशुपतिनाथ मन्दिर र परिसरमा फूलैफूल राखिएको छ।
भारतको ग्लेज ट्रेडिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले मिलेर यसपालि पशुपतिनाथ मन्दिरलाई २ करोड बराबरका फूलले सजाएका हुन्।
एकातर्फ भक्तजनहरू पूजाका लागि लाइनमा बसिरहेका छन् भने अर्कातर्फ बाबाहरू गाँजा, भाङको सेवन गर्दै मस्तमगन छन्।
आजका दिन भगवान शिवलाई जाडो नहोस् भन्नका लागि प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने गरिन्छ।
हेर्नुस् तस्बिर :