सुर्खेतको भेरीगंगा नगरपालिकामा पर्ने छिन्चु बजार दुई दिनदेखि तनावग्रस्त बनेको छ। गाडीको ठक्करबाट एकको मृत्युपछि मृतकका आफन्त तथा स्थानीयले छिन्चु बजार ठप्प पारेका छन्। बुधवारदेखि छिन्चु भएर आवतजावत गर्ने सवारी साधन ठप्प छन्।
भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारमा मंगलबार राति साढे ८ बजे सडक छेउमा हिँडिरहेका राजु बोहरालाई गाडीले हानेको थियो।
भेरीगंगा नगरपालिका–४ का बोहराको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। आफू सवार मोटरसाइकल रोकेर कुरा गरिरहेको अवस्थामा बा ३ ख ६३५२ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो।
सडक बन्द गराउँदा जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोटबाट छिन्चु हुँदै बाहिरिने र भित्रिने यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै बुधबार पनि बजार तथा सडक बन्द गराएका थिए।
झडप हुँदा पाँच जना घाइते
यही विषयमा भएको आन्दोलनका क्रममा बिहिवार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। सुरक्षाका लागि वीरेन्द्रनगरबाट थप सुरक्षाकर्मी छिन्चु ल्याइएको छ।