गायक दीपक बज्राचार्यलाई अचेल भोजभतेर, चाडपर्व र पार्टीमा जाँदा कोही छुटेजस्तो लाग्छ। जमघटमा उनी आफ्ना पुराना साथी खोजिरहेका हुन्छन्। ती छुटेका अनुहार अब काठमाडौंमा भए पो!
ती साथीलाई उनी कि फेसबुकका फोटोमा देख्छन् कि विदेश गएका बेला भेट्छन्।
दीपकको मनमा पनि विदेश बस्ने रहर नपलाएको होइन। तर, दुई-तीन महिनाभन्दा बढी बस्दा उकुसमुकस भएपछि सधैं विदेश बस्ने रहर कहिल्यै भएन। विदेशलाई उनले कन्सर्ट र घुमफिर गर्ने ठाउँकै रूपमा चित्त बुझाए।
सन् २००९ तिर दीपक आफ्नो रिदम ब्यान्डसँग कन्सर्ट गर्न अमेरिकामा थिए। केही नेपाली र केही विदेशी उपस्थित कार्यक्रममा उनले आफ्ना चर्चित गीत सुनाए।
कार्यक्रम सकिनेबित्तिकै ब्याक-स्टेज आएर दुई विदेशी स्रोताले सोधेछन्, 'नेपाली कार्यक्रम भनेर हेर्न आयौं, रमाइलो भयो। तर तपाईंको गीतमा भाषा मात्रै तपाईंको, संगीत त हाम्रै रहेछ। नेपालीको आफ्नै बाजा छैन?'
नाचगान र बाजागाजाको धनी नेवार समुदायमा जन्मेका दीपक संगीतमा लागेको १५ वर्षपछि त्यस्तो प्रश्न सुन्दा रन्थनिए।
विदेशीले सोधेको त्यही प्रश्नले उनलाई आफ्नो बाजा, संगीत र संस्कृतिबारे गम्भीर बनाइदियो। त्यो समय र घटना उनको जीवनकै 'टर्निङ प्वाइन्ट' बन्यो।
त्यसपछिका गीतमा दीपकले नेवार-नेपाली पहिचान बोकेका गीत-संगीत गर्न थाले। उनको पछिल्लो चर्चित गीत 'मन मगन' यसैको उदाहरण हो।
'मन मगन' पछि दीपक संगीत जीवनको दोस्रो र फरक चरणमा छन्।
सोमबार सार्वजनिक उनको नयाँ गीत 'राति'को भिडिओलाई उनी 'मन मगन' पछिकै कामको निरन्तरता मान्छन्। 'राति' दीपकले निर्देशन गरेको पहिलो भिडिओ हो। यो गीतको कथासँग 'मन मगन' को कथा जोडिएको उनी बताउँछन्।
पश्चिमा र ल्याटिन स्वादको संगीतमा वर्षौं रमाएका दीपकले 'मन मगन'मा नेवार बाजाका धूनसँगै लाखे र झाँक्री पनि नचाएका थिए। गीतमा धेरैले आफ्नो संस्कृतिको झलक पाए पनि उनलाई केहीले प्रश्न गरेछन्– गीत त बनायौ, तर लाखे र झाँक्री नचाउनुको के अर्थ?
उनी भन्छन्, 'राति गीतको भिडिओमा मैले त्यो प्रश्नको जवाफ दिने कोशिस गरेको छु।'
दीपकको बुझाइमा, हाम्रा देवीदेवता, लाखे र झाँक्री 'पोजिटिभ इनर्जी' का प्रतिरूप हुन्। संगीत त्यो 'पोजिटिभ इनर्जी' फैलाउने माध्यम बन्न सक्छ। उनले यो कुरा मुखले भन्दा संगीतमार्फत् नै भन्नु ठीक माने।
'पोजिटिभ इनर्जी' को शक्ति देखाउन 'राति' को भिडिओमा 'नेगेटिभ इनर्जी' पनि देखाउनुपर्ने भयो। दीपकका विचारमा, विदेशको आकर्षण, भौतिक कुराप्रति मोहमाया र बाहिरी सौन्दर्यप्रति लगाव नै नेपाली समाज र संस्कृति खियाउने 'नेगेटिभ इनर्जी' हुन्। 'राति' भिडिओमा यही 'नेगेटिभ इनर्जी' र 'पोजिटिभ इनर्जी' बीच द्वन्द्व देखाइएको छ।
रातको बाह्र बजे 'हरर' ध्वनिसहित भिडिओ सुरू हुन्छ। जंगलबीच सुन्दर युवती 'बाथटब' मा नुहाइरहेकी हुन्छिन्। कालो पहिरनमा उनी 'एलओडी (लर्ड अफ द ड्रिंक्स)' क्लब पुग्छिन्, जहाँ दीपक गितार बजाएर गुनगुनाइरहेका हुन्छन्–
राति राति अप्ठ्यारो छ दिनमै भेट्नु,
सारै गाह्रो लाग्दो रैछ मनलाई छेक्नु
गायकलाई मोहनी लाएर आफ्नो पासोमा पार्नु ती युवतीको उद्देश्य हुन्छ। गायकको वरिपरि घुमिरहेका लाखे र झाँक्रीले युवतीको नियत बुझेका छन्। भिडिओ निर्देशक दीपकका अनुसार, यी दुई पक्षको द्वन्द्वमार्फत् उनले आफ्नो र पराइको फरक छुट्याउन खोजेका हुन्।
गीतमा फ्रेन्च युवती मार्गट अरनाउडको मुख्य अभिनय छ। विदेशी पात्रलाई 'नेगेटिभ इनर्जी' को र लाखे-झाँक्रीलाई मौलिक परम्पराको सुरक्षा कवचको प्रतिनिधि बनाइएको छ।
गायकलाई वशमा पार्ने युवतीको उद्देश्यबाट लाखे र झाँक्रीले जोगाउन सफल भएको त देखिन्छ, तर 'नेगेटिभ इनर्जी' पूर्णतः नाश नभएको सन्देश पनि दिइएको छ। ती युवतीले भाग्ने क्रममा आफ्नो सल छुटाउँछिन्, जसको माध्यमबाट 'नेगेटिभ इनर्जी' अर्को युवतीमा सर्छ। ती नयाँ युवती पनि विदेशी नै छन्।
दीपक भन्छन्, 'फ्रेन्चबाट चिनियाँ केटीमा नेगेटिभ इनर्जी सर्नुको अर्थ हो, बाह्य शक्तिबाट आइपर्ने खतराको सिलसिला जारी छ।'
एकातिर गीतले बोकेका सन्देश र अर्कातर्फ पहिलोपटक निर्देशक बनेकाले उनी 'राति' लाई विशेष मान्छन्। भन्छन्, 'गाउन थालेको तीस वर्ष भयो। मनोरञ्जनबाहेक संगीतमार्फत् समाज र संस्कृतिको पक्षमा पनि केही योगदान दिन सकूँ भनेर काम गरेको छु।'
यो गीत-भिडिओ उनलाई खास लाग्नुको अर्को पनि कारण छ।
भिडिओ परिकल्पना उनकी छोरी चेरिसा बज्राचार्यले गरेकी हुन्। 'मन मगन' को परिकल्पनाकार पनि चेरिसा नै थिइन्। 'मन मगन' का दृश्य दीपकले सन् २०११ मा पाटन, मंगलबजारमा गरेको एउटा कन्सर्टको हो।
अमेरिकामा 'तिम्रो संगीतमा तिम्रो संस्कृतिको अनुहार खै?' भन्ने प्रश्नले रन्थनिएका दीपकले संगीतमा आफ्नोपन कसरी ल्याउने भनेर नेवार बाजा सिक्न थालेपछिको त्यो पहिलो कन्सर्ट थियो।
कन्सर्टमा धिमे, भुस्याँ, मादल लगायत बाजा सिकेर पनि जात्रा, पूजा र भजनका बाजा बजाउँदा केही बिग्रिने पो हो कि भन्ने डर उनमा थियो। आफैंले बजाउने आँट आइसकेको थिएन। स्रोताको प्रतिक्रिया कस्तो आउला भनेर प्रयोग गर्न चाहन्थे। त्यसैले भजन, जात्रा र पर्वमा बजाउने कलाकारको समूह साथ लिएर उनी स्टेज उक्लेका थिए।
त्यहाँ उनले 'काली काली हिस्सी परेकी', 'ओ अमिरा', 'मायाको डोरीले', 'फर्केर आउने छैन' जस्ता स्रोताले पहिल्यै मन पराइसकेका गीत गाए।
दीपक सम्झन्छन्, 'आफ्नै बाजाका धूनले आफूलाई दर्शक-स्रोतामाझ पहिलेभन्दा धेरै नजिक पुर्याएको आभाष भयो। त्यसले मलाई पुरानो शैली छाडेर नयाँ जनरामा जाने हौसला मिल्यो।'
तिनै गीत मिसाएर उनले 'मेड्ली' रेकर्ड गराए। 'मेड्ली' को भिडिओमा भएभरका बाजा, परम्परागत भेषभुषा र नाचगान छ।
दीपक भन्छन्, 'राम्रो प्रतिक्रिया पाइयो। धेरैको मिहिनेत मिसिए पनि भिडिओ राम्रो बनाउने कुरामा भने हाम्रो पर्याप्त ध्यान पुगेन।'
'मन मगन' मा उनले यो कमजोरी सुधारे। यसको श्रेय उनी छोरी चेरिसालाई दिन्छन्।
त्यति बेला छोरीले भनेको उनी सुनाउँछन्, 'मन मगन भिडिओले दर्शकलाई जात्रामै पुगेको आभाष दिलाउनुपर्छ। लाइभ्ली र कलरफुल हुनुपर्छ।'
छोरीको सुझाव उनका निम्ति नयाँ पुस्ताको प्रतिनिधि सुझाव थियो। नयाँ समयमा नयाँ शैलीसाथ काम गर्न कम्मर कसेका उनले छोरीकै सुझावअनुसार काठमाडौं, पाटन, भक्तपुरबाहेक पहाड र मधेसको लय पनि अटाउने प्रयास गरे।
दीपकको बुझाइमा, पूर्वी संगीतको सही परिभाषा नाच र गान भएकाले यसलाई सँगसँगै लिएर हिँड्ने प्रयास गरे। नभन्दै, 'मन मगन' उनको शक्तिशाली 'कमब्याक' बन्यो। भिडिओले हालसम्म दुई करोडभन्दा बढी युट्युब 'भ्युज' पाइसकेको छ।
नयाँ शैलीको भोक र प्रयोग गर्न सधैं खुला रहनु दीपकको स्वभाव हो। एउटा समय थियो, दीपक रक गीत भनेपछि हुरुक्कै हुन्थे। त्यसपछि उनलाई झ्याइँझ्याइँ झुइँझुइँ कम भएका एकस्टिक संगीत मनपर्न थाल्यो। स्पेनिस फ्ल्यामिन्को, ल्याटिन साल्सा उनको रोजाइ भइहाल्यो। प्रयोगकै रूपमा उनले यसअघि संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ, गीत लेखनको अनुभव लिइसकेका छन्।
'राति' को निर्देशन पनि एउटा प्रयोग हो। निर्देशन अनुभव लिइसकेपछि उनी यो काम सोचेभन्दा धेरै गाह्रो रहेछ भन्ने निष्कर्षमा पुगेका छन्।
ठट्टा गदै दुःख साट्छन्, 'निर्देशक बन्न गीत गाएजस्तो सजिलो रहेनछ। यो नै मेरो अन्तिम भिडिओ पनि हुनसक्छ है।'
'राति' को छायांकन बज्रबाराहीको जंगल र एलओडीमा गर्नुपर्ने थियो। जंगलमा एक रातमै छायांकन गर्ने लक्ष्य थियो। सेटमा मैनबत्ती बाल्नुपर्ने, पानी पर्दियो।
दीपक भन्छन्, 'त्यसमाथि जुका कति–कति! खुट्टामा जुकाले चुसेको डाम अझै छ।'
पहिलो रात पानी परेकाले ४ बजेसम्म कामै गर्न पाएनन्। भिडिओमा लाखेले घोडा चढेर विदेशी युवती लखेट्ने दृश्य छ। छायांकन बेला लगिएका घोडा चाँडै फर्काउने भनेर उनीहरूको खाना लगेका थिएनन्।
'भोकाएका घोडा दौडिनै मानेनन्,' उनी भन्छन्, 'दुःखसुख जंगलको दृश्य खिचियो। एलओडीमा खिच्न भने कन्सर्ट गरी त्यहाँ उपस्थित दर्शकलाई नै भिडिओमा कैद गरियो।'
अनुभव नभएको, त्यसमाथि मौसमले साथ नदिँदा सास्ती सहे पनि निर्देशनले उनलाई बेग्लै सन्तुष्टि दिएको छ।
'थाक्ने गरी काम गर्न पाएँ भने प्रोडक्टिभ हुन्छ भन्ने लाग्छ। दिन सदुपयोग भयो भन्ने लाग्छ। यो भिडिओ बनाउँदा धेरै थाकियो,' उनी भन्छन्।
'राति' भिडिओमा सांस्कृतिक पक्ष बलियो भए पनि रक शैलीमा गाइएको छ। पछिल्लो समयका उनका 'अल्लारे, सानी, मन मगन, वरपर' जस्ता गीतमा लोकलयको प्रभाव बढी छ।
किन त?
'सबै गीत उस्तै नहोस् र नयाँ खाले स्रोता-दर्शकसम्म पुग्न शैली थोरै परिवर्तन गरेको,' उनी भन्छन्, 'रातिमा रक शैली भए पनि नेपाली परम्परा र संस्कृतिकै कुरा छ।'
कुनै बेला गीत बनाउँदा बनाउँदै लोकशैलीको भइदिँदा आफूलाई नसुहाउने भन्दै दीपक आफ्नै गीत 'रिजेक्ट' गर्थे। यति बेला तिनै गीत हार्डडिस्कमा खोजिरहेका दीपक भन्छन्, 'ढिलै भए पनि धन्न, हाम्रो संस्कृति र परम्परामा भएको पोजिटिभ इनर्जीको महत्व बुझेँ।'