आइतबार बिहान चीनको वुहानबाट १ सय ७५ विद्यार्थी नेपाल आइपुगे। नेपाल वायुसेवा निगमको जहाजबाट सरकारको पहलमा उनीहरू नेपाल आएका हुन्। विमान अवतरण भएसँगै विद्यार्थीलगायत उनीहरूका अभिभावकको खुसी बेग्लै छ।
सबैले आफ्ना अभिभावकलाई आफू सकुशल आइपुगेको र खरिपाटीस्थित 'क्वारेन्टाइन'मा आराम गरिरहेको जानकारी गराए।
वुहानमा एमबिबिएस इन्टर्न गरिरहेकी ललितपुर, बागडोलकी सरिमा कक्षपतीले आफू सकुशल विमानस्थल उत्रिएको खबर बुवा भगवतीलाल कक्षपतीलाई दिइन्। बिहान ९ बजे खरीपाटी पुगेको पनि सुनाइन्। छोरी आइपुगेको खबर सुनेपछि भगवतीलालले धेरै दिनपछि ढुक्कको सास फेर्न पाएको सुनाए।
'नेपाली माटोमा सास फेर्न पाइयो, आनन्द भयो। राम्रो छ बस्न। इन्टरनेट छ। राती सुत्न पाइएन अब आराम गर्नुपर्यो,' छोरी सरिमाका भनाइ उद्धृत गर्दै भगवतीलालले भने, 'छोरीले आफूहरू राम्ररी आएको बताएपछि खुबै आनन्द लागेको छ। शब्दमा भन्नै सकिरहेको छैन।'
उनका अनुसार चीनमा रहेका विद्यार्थीका अभिभावकले उनीहरूलाई फिर्ता ल्याउन पहल गरिरहेका थिए। सम्बन्धित निकायसँग बारम्बार कुरा गरेका थिए। देश फर्काउन अभिभावकले गरेको पहललाई विद्यार्थीहरूले सरहाना गरेका छन्।
'छोरीले धन्यवाद बुवा भनिन्, मलाई त के भन्नु, के भन्नु भयो झन्,' उनले थपे।
ढिलै भए पनि सरकारले अभिभावकत्व निर्वाह गरेर नेपाली विद्यार्थी उद्धार गरेकामा अभिभावकहरू हर्षित छन्। आइतबार उद्धार गरिएका अधिकांश एमबिबिएस अध्ययनरत विद्यार्थी हुन्। यसकारण पनि उनीहरू आफ्नो स्वास्थ्यप्रति सचेत छन्। मेडिकल क्षेत्रका विद्यार्थी उनीहरूलाई नै तालिम दिएर पनि चीन सरकारले प्रयोग गर्न सक्थ्यो।
विदेशी नागरिकलाई संरक्षण गरेको बताउँदै कक्षपतीले भने, 'डाक्टर बनिसकेका हाम्रा छोराछोरीलाई चीनले तालिम दिएर काममा लगाउन सक्थ्यो, तर आफ्नै नागरिक प्रयोग गर्यो। यो चीन सरकारको तारिफयोग्य काम हो।'
त्यस्तै चाबहिलका मोहन खतिवडा पनि छोरीले खरिपाटी जाँदैछौं भनेर खबर पठाएपछि ढुक्क छन्। शनिबार राती अबेरसम्म पनि 'अपडेट' रहेका खतिवडाले बिहान छोरीको खबर पाए। धेरैदिनको छटपटी केही मत्थर भएको उनले सुनाए।
'नेपाली जहाज जाँदै गरेको थाहा थियो। अपडेटमा थिएँ। बिहान छोरीले खबर गरेपछि बल्ल ढुक्क भयो,' सेतोपाटीसँग कुराकानी गर्दै खतिवडाले भने, '६ जना विद्यार्थी आउन पाएनछन्, दुःख लागेको छ। एकछिन त मेरै छोरी आउन पाइन कि भन्ने पनि भयो। आएँ भनेपछि आनन्द लाग्यो।'
वुहानमा रहेका १ सय ८५ जना विद्यार्थीले चीनस्थित नेपाली दूतावासमा नेपाल आउने फारम भरेका थिए। आइतबार बिहान १ सय ७५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। बाँकी ६ जनामा तापक्रम वृद्धि भएको देखिएपछि आउन पाएनन्। चार जनाले आफैं नआउने भनेका थिए।
'घर आउने उत्साहमा तापक्रम बढेको पनि हुनसक्छ, धपेडी तनाव पनि भयो होला,' चीनमा रहेका विद्यार्थीप्रति सहानुभूति राख्दै खतिवडाले भने, 'सबै ठीकठाक भएको हेर्न पाइयोस्। हामीलाई छोराछोरीको माया कति लाग्दो रहेछ, यो विपत्तिले एकपटक फेरि महशुस गराएको छ।'
चाबहिल र खरिपाटीको दूरी धेरै छैन। मान्छेलाई स्वास्थ्यको चिन्ता जहाँ पुगे पनि भइरहन्छ। सुरक्षित ठानेर नै छोरी नेपाल आएकी हुन् भन्नेमा उनी निश्चिन्त छन्।
पछिल्लो जानकारीअनुसार वुहानस्थित एअरपोर्टमा रोकिएका ६ जना नेपालीको स्वास्थ्य अवस्था ठीक छ। चीनमा रहेका नेपाली विद्यार्थी उद्धार नेपालमा पहिलो अभ्यास हो। ढिलै भए पनि सरकारको यो कामको चौतर्फी सरहना भइरहेको छ।
चीन जाने जहाज उडाएका पाकिस्तानी पाइलटको साहसको जति तारिफ गरे पनि कमै हुने अभिभावकहरू बताउँछन्।
भन्छन्, 'अरू देशले हत्तपत्त आफ्ना नागरिक झिकाए पनि नेपाल सरकारले धैर्य देखायो।'
यसै सन्दर्भमा नेपाल फर्किएका विद्यार्थीका अभिभावकले कार्यक्रम गरेर खुसी साटासाट गर्ने योजना बनाएका छन्। विद्यार्थीहरू क्वारेन्टाइन सकिएर घर आएपछि सकेसम्म सबैजना जम्मा हुने र अनुभव साट्ने उनीहरूको योजना छ।