जाजरकोटको जुनीचाँदे गाउँपालिका–४ को लुहादह जिल्लामै छाउगोठ धेरै भएको वस्ती हो। यो वस्तीमा महिनावारी हुनेलाई कडा नियम छ।
५ दिनअघिसम्म त उनीहरुले आफ्नो घर छुन समेत मिल्दैन। गृह मन्त्रालयले ‘छाउगोठ भत्काउन’ निर्देशन दिएको लामो समयपछि मात्र यो वस्तीका छाउगोठ जवरजस्ती भत्काइएको छ। यो वस्तीका करिव चार सय घरधुरीमध्ये अधिकांश घरमा महिनावारीलाई छुट्टै राख्नका लागि छाउगोठ बनाइएको थियो।
त्यही पनि वस्तीमा अझ फाट्टफुट्ट छाउगोठ रहेको जुनीचाँदे–४ का वडा अध्यक्ष हरिबहादुर खड्काले बताए। उनले भने, ‘केही ठाउँमा हामीले छाउगोठ भत्कायौं, कतै प्रहरीलाई नै पठाएर भत्कायौँ। अझ पनि ५/७ वटा छाउगोठ बाँकी नै छन्।’
ति बाँकी भएका छाउगोठ भत्काएर महिनावारीलाई घरभित्रै राख्न गाउँपालिकाले भने छुट्टै व्यवस्था गरिदिन लागेको छ। जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यका अनुसार छाउगोठ भत्काइए पनि महिनावारी हुँदा बाहिर नै बस्ने गरेका छन्, अझ पनि देउताको डर हटेको छैन।
यसका लागि गाउँपालिकाले केही बजेटको व्यवस्था गरेर नजिकमा मन्दिर बनाइदिने र घरभित्रका देउताका सामग्री तथा मूर्तिहरु त्यहाँ लगेर राखीदिने योजना बनाइएको उपाध्यक्ष आचार्यले बताइन्।
‘केही फाट्टफुट्ट घरमा छाउगोठ छन् होला, तिनीहरुलाई पनि हामीले भत्काउन भनेका छौँ,’ उपाध्यक्ष आचार्यले भनिन्, ‘देउताको डर लाग्छ भनेर नभत्काइएका केही घरपरिवार होलान्, गाउँपालिकाले केही बजेटको व्यवस्था गरेर अलग्गै मन्दिर बनाएर उनीहरुको घरमा भएका देउतालाई राखिदिने र त्यहीँ पुजा गर्ने व्यवस्था गर्छौँ, तर महिनावारी भएकालाई घरभित्रै राख्ने व्यवस्था गरिनेछ।’
त्यति गर्दा पनि छाउप्रथा मान्न नछोडे गाउँपालिकाबाट दिइने सबै सरकारी सेवासुविधा रोक्ने उपाध्यक्ष आचार्यले बताइन्। छाउपडी नमान्ने प्रमाणित भए मात्र सोसुविधा दिइने उनले बताइन्। ‘जबसम्म महिनावारीहरु घरभन्दा अलग बस्न छोड्दैनन तबसम्म सरकारी सेवासुविधा दिँदैनौँ’ उनले भनिन् ।
वडा अध्यक्ष खड्काले गोठ भत्काइएका घरका महिला पाल टाँगेर भएपनि बाहिरै बस्ने सम्भावना देखिएको बताए। ‘यहाँ त कतिपय कडा देखिए, छाउगोठ भत्काउन जाँदा स्थानीयले भनेअनुसार त महिनावारी भएका बेला पाल हालेर पनि घरबाहिर बस्ने सम्भावना छ,’ उनले भने, ‘बरू मन्दिर बनाएर देउता अलग राखिदियो भने सहज होला।’