बुधबार कलंकी अन्डरपासमा टिपरको ठक्करबाट मृत्यु भएका राजेश र मुन्ना चौधरीलाई जनही सात लाख रुपैयाँ दिने सहमति भएको छ। दुर्घटनामा संलग्न टिपरका साहुले दुवै परिवारलाई क्षतिपूर्ति स्वरुप सात-सात लाख रूपैयाँ दिने सहमति भएको पीडित परिवारले जनाएको छ।
कालिमाटी प्रहरी वृत्तमा बिहीबारदेखि दुई पक्षबीच वार्ता भइरहेकोमा शुक्रबार सहमति भएको हो। सम्झौताअनुसार रकम भने पाइनसकेको पीडित परिवारले बताएको छ।
'अहिले किरिया खर्च भनेर ५० हजार नगद र डेढ लाखको चेक दिएको छ, बाँकी पैसा काम सकिएपछि लिन बोलाएको छ,' दुर्घटनामा ज्यान गुमाएका १९ वर्षीय राजेशका दाजु राजनकुमार चौधरीले सेतोपाटीसँग भने, 'भाइ मरिहाल्यो, परिवारमा पीर छ, उनीहरूसँग कति सौदा गर्नु।'
राजनकुमारका अनुसार बाँकी ५ लाख टिपरधनीले पछि दिने भनेर साम्झौता गरेका छन्। त्यही आश्वासन लिएर आफ्ना भाइ राजेश र उनीसँगै ज्यान गुमाएका मुन्नाको शव बोकेर चौधरी परिवार शुक्रबारै रौतहट फर्किए।
परिवारको सदस्य नै नरहेपछि पीडितका आफन्तहरूले 'काजकिरिया नगरी बसेर कति कचकच गर्ने' भन्दै फर्किएका हुन्।
दुर्घटना गराउने टिपर चलकलाई कुनै कानुनी कारवाहीको व्यवस्था नहुँदा झनै मन कुँडिएको परिवार बताउँछ। हामीकहाँ दुर्घटना गराउने चालकलाई कडा कारबाही वा सजाय छैन। दुर्घटनाको प्रकृति हेरेर कानुनले तीन किसिमको कारबाही निर्धारण गरेको छ– क्षतिपूर्ति, ज्यान मार्ने उद्योग र अंगभंग मुद्दा।
यो पनि पढ्नुसः सहरमा गुडाउनै नहुने टिपरले लिँदैछ ज्यान
प्रचलित व्यवस्थाअनुसार २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि अदालतमा मुद्दा दायर हुन्छ। सामान्य सवारी मुद्दामा दुई वर्ष कैद सजाय व्यवस्था छ। लापरबाहीपूर्वक गाडी चलाएर ज्यान लिएको छ भने ज्यान मुद्दाअन्तर्गत पाँचदेखि १२ वर्ष कैद हुन्छ। धेरै चालकले २४ दिन हिरासतमा बसेरै मुक्ति पाउँछन्।
क्षतिपूर्ति रकम तिर्ने जिम्मा सवारीधनीकै हो। हामीकहाँ दुर्घटनाका अधिकांश घटना यसैगरी थामथुम हन्छन्।
त्यसो त पीडित पक्षले जनही १५ लाख क्षतिपूर्ति माग गरेको थियो। व्यक्ति नरहे पनि क्षतिपूर्ति रकम परिवारका लागि सहारा बन्ने उनीहरूको आशा हो।
मृत्यु भएका राजेशको आर्थिक अवस्था कमजोर छ। उनका बुवा माछा बेचेर गुजारा चलाउँछन्। वृद्ध भइसकेकाले टाढाटाढा पुगेर बेच्न सक्दैनन्। दाजु राजनकुमारका अनुसार राजेशले घरको अवस्थाका कारण दस कक्षामै पढाइ छाडेर कमाउन विदेश जाने सुरसार कसेका थिए।
राजनकुमार आफैं अशक्त छन्। केही वर्ष पहिले उनको टाउकामा पंखाले लागेको थियो। तीन महिना वीर अस्पतालमा उपचार गरे पनि राम्ररी निको नभइसकेको भान हुन्छ। बेलाबेला बल्झिइरहन्छ। उनी खासै काम गर्न सक्दैनन्।
यो पनि पढ्नुसः परिवारलाई उनीहरूकै आस थियो, टिपरले मार्दियो'
घरको समस्या कम गर्न कस्सिएको भाइको शव बुझ्न आफैं काठमाडौं आएका उनी अलमल-अलमल देखिन्थे।
उता मुन्ना चौधरी पनि विगत पाँच वर्षदेखि घरकै लागि भनेर काठमाडौंको ग्यारेजमा काम गर्दै थिए। उनका साथी कविराज चौधरीका अनुसार गत वर्ष मात्र बिहे गरेका मुन्ना नै परिवारको भर थिए।
रौतहट कटहरि-७ का मुन्ना र कटहरि- ४ का बासिन्दा राजेशको मृत्युले उनीहरूको परिवार झनै कमजोर भएको उनले बताए।
उनीहरूले आफ्ना परिवारलाई केही भरथेग होला भनेर १५ लाख मागेपनि टिपरधनीले पठाएको व्यक्ति (तेश्रोपक्ष) ले अडान छाडेनन्। यसको सट्टा एक जनालाई होइन, दुवै मृतकका परिवारलाई १५ लाख हाराहारी दिने भए।
'दुवै परिवारका कमाउने छोरा थिए। दुवैको परिवारलाई उनीहरूकै भर थियो। उनीहरू नरहेपछि हाम्रो विचल्ली भएको छ। दोषीलाई सजाय त हुँदैन हामीलाई केही राहत होला भनेर मागेका हौं,' राजेशका दाजु राजनकुमारले भने, 'यही पनि पूरा पैसा कहिले पाइने हो थाहा छैन। अहिले चेक र नगद गरेर २ लाख दिएका छन्।'
राजनकुमारलाई बाँकी पैसा लिन आउन झनै सास्ती हुने बताउँछन्। बूढा बुवाआमा, आफू अशक्त अवस्थामा बारम्बार धाइरहनुपर्ने हो कि भन्ने डर पनि छ।
उता मुन्नाको परिवारमा पनि यसरी धाउन सक्ने कोही नभएको उनले गुनासो गरे। उनलाई धेरैले सुनाएका छन्, 'टिपरधनीले एक-दुई वर्ष यसै घुमाइदिन सक्छन्।'
यो सुनेर उनी झनै छटपटिएका छन्।
'यत्तिका गलफत्ति गरेर सहमति भयो। अब पछि अझै दुःख पाइने हो कि भन्ने डर पो छ,' राजनकुमारले दुखेसो गरे।
मुन्ना र राजेश चढेको मोटरसाइकल उनीहरूको थिएन। दुर्घटनामा मोटरसाइकल आगलागी भएर काम नलाग्ने भएको छ। यसको क्षतिपूर्ति पनि टिपरधनीले गर्ने भएको उनले जानकारी दिए।