चीनको वुहानबाट सुरू नोभल कोरोना भाइरस संक्रमण फैलिन नदिन अस्पतालहरूले शंकास्पद बिरामीलाई 'आइसोलेसन वार्ड' मा राखेर उपचार गर्नुपर्ने विषय चर्चामा छ।
के हो 'आइसोलेसन वार्ड'? कस्तो हुनुपर्छ?
अरू बिरामीसँग नजिक राख्दा वा स्वस्थ व्यक्तिको सम्पर्कमा रहँदा भाइरस झन् फैलिन सक्ने भएकाले अलग-थलग उपचार गर्नुपर्ने टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
उनका अनुसार, कुनै रोग बिरामीलाई छोएर, नजिक बसेर वा एउटै कोठामा बस्दा पनि सर्ने सम्भावना धेरै हुन्छ। यस्तो अवस्थामा बिरामीलाई निश्चित मापदण्ड पुगेको छुट्टै कोठामा राखेर उपचार गर्नुपर्छ। यही विधिलाई 'आइसोलेसन' भनिन्छ।
यस्तो वार्डमा तालिमप्राप्त स्वस्थ्यकर्मी र बिरामीबाहेक अरूलाई प्रवेश निषेध हुन्छ। वार्डभित्रको वातावरण विशेष किसिमको पूर्वाधारबाट तयार पारिन्छ। 'यो खासगरी सरुवा रोगका लागि प्रयोगमा ल्याइने युनिट हो,' अन्तर्राष्ट्रिय अभ्यासबारे बताउँदै पुनले भने, ‘बाहिरी मुलुकमा उक्त वार्डमा प्रयोग गरिएका मेडिकल सामग्री दोहोर्याएर प्रयोग गरिँदैन।’
एउटा वार्डमा कति जनासम्म बिरामी राख्न सकिन्छ भन्ने प्रश्नमा डा. पुनले भने, ‘एउटै रोग लागेका बिरामी उस्तै चरणमा छन् भने एउटै आइसोलेसन वार्डमा राखेर उपचार गर्न सकिन्छ। किनकि, भर्खरै रोग निको भइरहेको व्यक्तिलाई तत्काल संक्रमणको सम्भावना कम हुन्छ।’
नेपालजस्तो देशले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार तयार पार्न नसकेको पुन बताउँछन्। ‘दिसा, पिसाब, थुक, खकारबाट सर्ने रोगका लागि फरक मापदण्डका पृथक वार्ड हुनुपर्छ। स्वासप्रश्वासबाट सर्ने रोगका लागि फरक तरिकाले तयार पारिन्छ,’ पुनले स्पष्ट पारे।
नेपालकै ठूलो सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल, टेकुमा कुनै समय आइसोलेसन वार्डको अभ्यास गरिएको थियो। पूर्वाधार अभावमा त्यो अलपत्र छ। कोरोना भाइरसको निम्ति यस्तो वार्ड छुट्याइएको छ तर मापदण्ड पूरा भएको देखिँदैन।
चीनबाट नेपाल फर्काउन लागिएका करिब २ सय विद्यार्थीलाई विशेष निगरानीमा अलग्गै राखिने र यसको निम्ति उपयुक्त स्थान खोजी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विद्यार्थी ल्याएर राखिने स्थानलाई नै 'आइसोलेसन वार्ड' भनेका छन्।
‘मन्त्रीज्यूले भन्नुभएको क्वारेन्टाइन हो, जहाँ स्वस्थ मानिसलाई निगरानीमा राखिन्छ, कुनै लक्षण देखिए मात्र आइसोलेटेड गरिन्छ,’ सरूवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, ‘आइसोलेसन वार्ड यस्तै हुनुपर्छ भन्ने छैन, तर शतप्रतिशत सुरक्षित हुनु जरुरी छ।’
सुवेदीका अनुसार आइसोलेटेड गरिने स्थान कुनै वार्ड, कोठा वा कोठाको एक कुना मात्र पनि हुनसक्छ। बिरामीलाई कस्तो स्थानमा राख्ने भन्ने संक्रमित रोगमा निहीत हुन्छ। सामान्य इन्फ्लुएन्जा रोगका बिरामीलाई केही दुरीमा एकै कोठामा सर्जिकल मास्क र पञ्जामै उपचार गर्न सकिने डा. सुवेदी बताउँछन्।
कोरोना, इबोला, स्वाइनफ्लु, क्षयरोग, दादुराजस्ता रोग अलि जटिल हुन्। यसको उपचार पद्धति, सर्जिकल सामग्री, व्यक्तिगत सुरक्षा सामग्री अलग्गै हुनुपर्छ।
‘क्षयरोग र दादुराका किटाणु पर-परसम्म फैलिन सक्छन्, त्यसका लागि नेगेटिभ प्रेसर रुम आवश्यक हुन्छ,’ आइसोलेसन वार्डको उदाहरण दिँदै सुवेदीले भने, ‘आइसोलेसन वार्डमा बाहिरको ताजा हावा कोठाभित्र जाने, तर कोठाभित्रको हावा सिधै आकाशतिर जाने सुविधा हुनुपर्छ।’
सुवेदीका अनुसार यस किसिमको वार्ड नेपालका दुईवटा निजी अस्पतालमा मात्र उपलब्ध छ।