जसरी कोरोना भाइरसले संसारकै ध्यान चीनको वुहान सहरमा तानेको छ, काठमाडौंमा सबैको ध्यान टेकु अस्पतालतिर केन्द्रित छ।
हामी कोरोनाको 'इपिसेन्टर' वुहानमा पढ्ने नेपाली विद्यार्थीहरूलाई काठमाडौं फर्काउने कुरा गरिरहेका बेला चीनकै अन्य प्रान्तमा बस्ने नेपालीहरू धमाधम फर्किरहेकै छन्। उनीहरू संक्रमणको डरले सोझै घर जान डराउँछन्। विमानस्थलमा जाचिने सामान्य तापक्रमले ढुक्क पनि छैनन्। अनि सिधै पुग्छन्, टेकु अस्पताल।
यसबाहेक कोरोना भाइरसको त्रास बढेसँगै सामान्य रूघाखोकी लागेका र ज्वरो आएकाहरू पनि डाक्टरसँग जचाएर ढुक्क हुन टेकु धाइरहेका छन्।
यी दुवैथरि व्यक्तिलाई भेट्न हामी सोमबार पनि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यौं।
आइतबार झन्डै ३ बजे पुग्दा ढिला भइसकेको थियो। दुई-तीन जना मात्र त्यस्ता व्यक्ति भेटिएका थिए। त्यही भएर सोमबार दिउँसो साढे १२ बजे नै पुग्यौं।
अस्पतालको सोधपुछ कक्षनिर एक घन्टा उभिँदा कोरोना भाइरसबारे बुझ्न आउनेहरू एकछिन खाली भएनन्। हामीले उनीहरूका कुरा सुन्यौं। अधिकांश चीनको लामो बसाइपछि कोरोनाको त्रासले फर्केकाहरू थिए। केही भने छोटो बसाइमै आएका।
तिनैमध्ये एक हुन्, सुजन जो आइतबार मात्र चीनको ग्वाङ्जाओबाट फर्केका हुन्। उनलाई रूघाखोकी लागेको छैन। अरू लक्षण पनि केही देखिएको छैन। तर, उनी घर जान डराइरहेका छन्। भाइरस सल्केको १४ दिनसम्म लक्षण देखिन सक्छ भन्ने थाहा पाएका उनी जचाएर ढुक्क हुन चाहन्छन्।
'म बसेकै प्रान्तमा ७ जनाको ज्यान गएको समाचार सुनेँ,' उनले भने, 'यकिन नभई कसरी सिधै घर जानु!'
हुन त काठमाडौं उड्नुअघि चिनियाँ विमानस्थलमै उनको स्वास्थ्य परीक्षण गरिएको थियो। त्रिभुवन विमानस्थल ओर्लिएपछि पनि उनको तापक्रम जाचियो। ज्वरो नआएको र रूघाखोकी नलागेकाले उनले यी दुवै परीक्षण पार गरे। तर, उनको मन बेचैन छ।
‘ठीक भएकैले छाडेको होला, तै पनि पहिलो चरणमा भाइरस लागेको लक्षण देखिँदैन रे!’ उनले शंका देखाए, 'यसो सम्झँदा ग्वाङ्जाओमा मेरो सम्पर्कमा रहेकाहरू कसैलाई पनि रोग लागेको थाहा छैन। तर अस्पतालमा नजचाई मन मानेन।'
उनी होटलमा काम गर्न चीन गएका थिए। भाइरस फैलिएपछि परिवारको दबाबले फर्के। आफूसँगै १३ जना नेपाली पनि चीनबाट आएको उनले बताए। उनीहरू कहाँ छन् सुजनलाई थाहा छैन।
‘जचाउन त आएँ, तर यहाँ सोचेजस्तो परीक्षण भएन,’ उनले दुःखमनाउ गरे, ‘यत्तिकै सुरक्षित भएर बस्ने हो भने त चीनमा पनि सुरक्षित नै थियौं होला।’
सोधपुछ कक्षमै अब्दुल कादिर र उनका साथीहरू भेटिए, जो शुक्रबार चीनको हेनान प्रान्तबाट काठमाडौं आएका हुन्। यहाँ विमानस्थलमा पनि स्वास्थ्य परीक्षण नभएको उनीहरूले बताए।
'हामी आफैंले एयरपोर्टमा सोधखोज गर्यौं, तर कसैले हाम्रो उपचार गरेनन्,' अब्दुलले भने।
उनीहरू विमानस्थलबाट निस्केर सिधै घर जान सकेनन्। दुई दिन होटलमा बसे। होटलमा बस्दा पनि आफूलाई संक्रमण भएको छ भने अरूलाई सल्केला भन्ने डर भयो। त्यही भएर उपचार गरेर ढुक्क हुन टेकु आएको उनले बताए।
'यहाँ पनि उस्तै रहेछ। सोचेजस्तो परामर्श र उपचार पाएको छैन,' उनले भने, 'अस्पतालले खतरा छैन भनेको छ। केही लक्षण देखिए फिर्ता बोलाएको छ। लक्षण देखिन १४ दिन लाग्छ पनि भन्छ। के हो के?'
उनी अहिले पनि आफूसँगै आएका साथीहरूसँग हाेटलमै बसिरहेका छन्। चौध दिनको म्याद कटेपछि मात्र घर जाने उनको मनसाय छ।
सुजन र अब्दुलको कुरा सुन्दा प्रश्न के उठ्छ भने, १४ दिनपछि रोगको लक्षण देखिए उनीहरू त सरासर अस्पताल पुग्लान्, तर यसबीच उनीहरूबाट अरूमा भाइरस सल्किन सक्छ कि सक्दैन?
कम्तिमा सुजन, अब्दुल र उनका साथीहरू चीनबाटै फर्केकाले कोरोनाप्रति सचेत र सतर्क छन्। केही भइहाले तुरून्तै जचाउन जान्छन्। तर अरूलाई संक्रमण भए उनीहरूले त थाहा पनि पाउन्नन्। यो डर निवारण गर्नु विमानस्थल र अस्पतालकै जिम्मेवारी होइन र?
यही डरले काठमाडौंमै बस्नेहरू पनि रुघाखोकी लाग्नासाथ कोरोना भाइरस त सल्केन भन्दै जचाउन आएका प्रशस्तै भेटिन्छन्।
सोधपुछ कक्षमा एक जना पुरूष हतासिँदै भनिरहेका थिए, 'अफिसमा विदेशीहरू आइरहन्छन्। उनीहरू आफू मात्र आउँछन् कि रोग पनि ल्याउँछन् के थाहा? कसरी सचेत हुने? त्यही भएर जानकारी लिन आएको।’
परामर्शका लागि बसेका डाक्टरले उनलाई केही सुझाव दिए। अस्पतालले तयार पारेको कोरोनासम्बन्धी सन्देशमूलक पर्चा पनि थमाए।
लगत्तै एक जना महिला सोधखोज गर्दै मेरैछेउ आइन्। उनी बौद्धबाट आएकी रहिछन्। उनको अनुहारमा कोरोनाको उस्तै त्रास थियो। मैले नै उनलाई सोधपुछ कक्षसम्म लगिदिएँ।
उनले डाक्टरलाई भनिन्, ‘मेरो मान्छेलाई खोकी लागिरहेको छ। कुन्नी के रोग आ’को छ रे। ऊ चाइनातिरबाट आएको त होइन, तै पनि डर लाग्यो। जचाएपछि ढुक्क होला नि।’
डाक्टरले उनलाई चिन्ता नलिन र सफा रहन सुझाए।
टेकु अस्पतालले सोमबारै एक जना व्यक्ति कोरोना भाइरसको शंकामा भर्ना भएको जनाएको छ। भर्ना भएका व्यक्तिबारे थप खुलाएको छैन।
अहिलेसम्म यहाँ छ जना व्यक्ति भर्ना भइसकेका छन्। तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर प्रयोगशालाबाट रिपोर्ट आउनुअघि नै उनी डिस्चार्ज भइसकेका थिए। अस्पतालले सोधखोज गरेर निगरानीमा राखेको र अहिले निको भइसकेको जनाएको छ। अस्पतालको 'आइसोलेसन वार्ड' मै राखेर निगरानी गरिएका अन्य पाँच जनामा संक्रमण पुष्टि भएन।
सोधपुछ र उपचार गर्न आउनेहरू मात्र होइन, डाक्टर, नर्स, कर्मचारी, सुरक्षागार्ड पनि उस्तै भयग्रस्त छन्। उनीहरू आपसमा कुरा गर्दै थिए, ‘टाउको दुखेजस्तो, ज्वरो आएजस्तो भएको छ। डरले पो हो कि!’
अस्पताल प्रशासनले कोही व्यक्तिलाई संक्रमणको शंका लागे भर्ना हुन सक्ने जनाएको छ। सिनियर कन्सल्टेन्ट तथा प्रवक्ता डा. अनुप बास्तोलाले त्यस्ता बिरामीलाई 'आइसोलेसन वार्ड' मा राखेर उपचार गरिने जानकारी दिए।
‘हामीले यहाँ आएका मानिसलाई केही शंका छ भने अस्पतालमै बस्नुस्, खानेबस्ने व्यवस्था छ, केही दिनमा लक्षण देखिए थप उपचार हुन्छ, लक्षण नदेखिए संक्रमण नभएको पुष्टि हुन्छ भनेका छौं,’ उनले भने।
उनका अनुसार, चीनबाट आएका व्यक्तिमा रूघाखोकी लागेको छ भने मात्र आइसोलेसन वार्डमा राखेर उपचार गरिन्छ। यहीँका मान्छेलाई रूघाखोकी लाग्दैमा डराउनुपर्दैन। शंका लागेका कोही व्यक्ति जचाउन आए लक्षण छ कि छैन हेरिन्छ। लक्षण भए आइसोलेसन वार्डमा राखिन्छ। छैन भने घरै पठाइन्छ।
यहाँको आइसोलेसन वार्ड हामीले अन्य देशका अस्पतालमा देखेजस्तो सुविधासम्पन्न र अलग-थलग छैन। जनरल वार्डबाट अलिकति छुट्टयाएर बनाइएको कक्षमा छ जनासम्म अटाउँछन्। बिरामी चाप बढ्दै गए २२ जनासम्म राख्ने गरी व्यवस्था गर्न सकिने उनले जानकारी दिए।
चीनमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट साढे तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ भने सत्र हजारभन्दा बढी बिरामी छन्। यो रोग कम्तीमा २५ वटा देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले 'स्वास्थ्य संकटकाल' घोषणा गरेको छ।
कोरोना भाइरसको भयमा रुमलिएको टेकुको मनोदशा नियालेपछि म देशकै जेठो अस्पताल वीरतिर लागेँ।
वीरको नयाँ भवनमा पनि संक्रमणको शंका लागेका बिरामी राख्ने चर्चा छ। त्यहाँ यसको तयारी बुझ्न मैले आफैं जचाउन आएको बहाना गर्दै एक जना नर्सलाई सोधेँ, ‘कोरोना भाइरस जचाउने ठाउँ कता हो?’
उनले त आफैं अत्तालिँदै भनिन्, ‘यहाँ हैन, यहाँ हैन, टेकु अस्पताल जानुपर्छ।’
उनको यस्तो भनाइले प्रस्ट भयो, काठमाडौंमा बिरामीको सबभन्दा बढी चाप हुने वीर अस्पतालमा कुनै तयारी रहेनछ।
मैले सोधपुछ कक्षमै गएर पनि सोधेँ, 'कोरोना जचाउने ठाउँ यतै हो?’
त्यहाँ बसेका व्यक्तिले आश्चर्य मान्दै भने, ‘के हो त्यो कोरोना भनेको? उता रिपोर्ट लिने ठाउँमा गएर सोध्नू त।’
यी पनि हेर्नुहोस्: