काठमाडौं महानगरपालिकाले ठमेलका खम्बादेखि भुइँसम्म असरल्ल तार भूमिगत गर्न निजी इन्टरनेट, केबल सेवा प्रदायक कम्पनीलाई ३ महिना समय दिएको छ।
महानगरपालिकाका अनुसार पटकपटक सूचना जारी गरेर कम्पनीहरूलाई सेवा व्यवस्थित गर्न भनिएको थियो। तर पनि अटेर गरेकाले गत पुस पहिलो साताबाट ठमेलमा तार काट्न सुरू गरिएको थियो। काट्न सुरू गरेलगत्तै ठमेलका केही स्थान इन्टरनेट र केबलरहित बने। तार व्यवस्थापन राम्रो काम मानिए पनि समग्र पर्यटन प्रवर्द्धनमा समस्या देखिएपछि ठमेलका पर्यटन व्यवसायी निराश थिए।
यता इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार र सेवा व्यवस्थित पार्न महानगरसँग थप समय माग गरे।
पहिले नै सूचना जारी गरेर तार काट्न सुरू गरे पनि सेवा प्रदायक कम्पनीहरूले चासो नदिँदा अलपत्र परेको थियो। धमाधम तार काटिएपछि कम्पनीहरूले सेवा व्यवस्थित पार्न थप समय माग गरेपछि महानगरले तार काट्न रोकेको छ।
काठमाडौं महानगरपालिका २६ का वडाअध्यक्ष ख्याम तिवारीका अनुसार उनीहरूलाई तीन महिना म्याद दिइएको हो।
'केजल, इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जानकारी गराएका थियौं। पहिले उनीहरूले नै टेरेनन्,' वडाअध्यक्ष तिवारीले सेतोपाटीसँग भने, 'तार काटेपछि समस्या भयो। व्यवस्थित गर्छौं भनेर समय माग गरे। त्यसैले केही समय काम रोकियो।'
ठमेलमा इन्टरनेट, केबल, टेलिफोन लगायतका सेवा अवरुद्ध हुनु भनेको पर्यटन व्यवसाय समस्यामा पर्नु हो। तारको समस्या हटोस् साथै व्यवसायीले समस्या झेल्न नपरोस् भनेर सेवा प्रदायक कम्पनीलाई दिइएको समयमध्ये डेढ महिना बितिसकेको छ।
वडाअध्यक्ष तिवारीका अनुसार बाँकी डेढ महिनामा इन्टरनेट कम्पनीले समस्या सुल्झाउन नसके पनि तार काट्ने काम पुनः सुरू हुनेछ।
'तार काट्ने कुरा इन्टरनेट, केबल कम्पनीलाई पनि थाहा थियो। हाम्रो काम जारी राखे पनि हुन्थ्यो,' तिवारीले भने, 'उनीहरूको समस्या समाधानमा नलाग्ने हो भने यता ठमेलका व्यवसायी मर्कामा पर्ने भए। पूरै ठमेल टेलिफोन, इन्टरनेट, केबलरहित हुने भयो।'
'हामी भ्रमण वर्षमा छौं, राष्ट्रिय अभियानलाई नै असर पुग्ने देखिएपछि केही समय होल्ड गर्नुपरेको हो,' उनले स्पष्ट पारे।
ठमेल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई असर पर्ने छरपस्ट तार काट्ने कामलाई व्यवसायीले राम्रो मानेका छन्। बीचमा केही समस्या आएपछि छलफल गरेर नै अघि बढ्ने योजना बनाएको तिवारीले जानकारी दिए।