वुहानमा नेपाली
बंगलादेशले शुक्रबार साँझ विमान बंगलादेश एयरलाइन्सको जहाज चार्टर गरेर चीनको वुहान पठाउँदैछ।
वुहान संसारभर फैलिएको नोवेल कोरोना भाइरसको उदगम थलो हो। यो भाइरसको संक्रमण फैलिँदै गएपछि बिहीबारदेखि विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। चीनमा मात्र कोरोना भाइरसका कारण २ सय १३ जनाले ज्यान गुमाएका छन् भने झन्डै १० हजार बिरामी छन्।
आफ्ना नागरिक फिर्ता ल्याउने बंगलादेश सरकारको निर्णयसँगै वुहान सहरमा रहेका बंगलादेशी खुसी भए।
शुक्रबार घर फर्किन लागेकामध्ये एक जना बंगाली जनकपुरका अशोक साहका साथी थिए। अशोक वुहानमा पिएचडी थेसिस लेख्दै छन्।
विश्वविद्यालयमा सँगै पढ्ने ती बंगालीले शुक्रबार बिहानै विच्याट ग्रुपमा लेखे- म घर फर्किँदै छु। मसँग केही आलु बचेको छ, चाहिन्छ भने सम्पर्क गर्नुहोला।
जनवरी २२ देखि चीन सरकारले वुहान सहर बन्द गरिदिएको छ। पसल बजार बन्द छन्। रेल, गाडी चल्दैनन्। केही घन्टा खुल्ने पसलमा सामानको भाउ चर्को छ। दुइटा आलुको मूल्य नै ८ युआन (१३० रुपैयाँ) पर्छ।
बंगालीको सन्देश पढेर साहले अलिकति आलु आफूलाई पनि दिन भने।
केही बेरमा उनी बंगाली साथीको कोठामा गए। घर जान पाइने भएपछि उनी दंग थिए।
केही आलु बोकेर साह फर्किए।
‘चिनियाँ नयाँ वर्षमा केही दिन बजार बन्द हुन्छ भनेर हप्ता दिन जति पुग्ने सामान किनेर राखेका थियौं। अहिले त सकियो। त्यही भएर उसकोमा लिन गएको हुँ,’ साहले वुहानबाट विच्याटमा सेतोपाटीसँग भने।
आलु ल्याएर फर्किँदा बाटोमा उनको मन कुँडियो। आफू पनि त्यसरी नै घर फर्किन पाएको भए भन्ने कल्पना गरे।
फेरि सोचे- हाम्रो सरकारले जहाज पठाउने सुरसार नै गरेको छैन।
कोरोना भाइरस वुहानको सीमा नाघेर चीनभरि हुँदै टाढाटाढाका देशमा फैलिरहेका बेला वुहानका नेपाली भने एकअर्कासँगै जोडिँदै थिए। अहिले त्यहाँ झन्डै ७० जना नेपाली छन्।
ती सबैले बेइजिङस्थित दूतावासमा बारम्बार सम्पर्क गरिरहेका छन्।
‘हामीलाई अप्ठ्यारो छ, यहाँबाट निकाल्नुस् भनेका भन्यै छौं। उहाँहरू काठमाडौंमा सन्देश पठाइदिएका छौं भन्नुहुन्छ। अब सरकारले कहिले योजना बनाउला अनि हामी कहिले जान पाउँला,’ साहले भने,‘अस्ति-अस्ति अमेरिका, युरोपकाहरू जाँदा त धनी देश थिए, लिएर गएजस्तो लागेको थियो। अहिले त हाम्रै छिमेकी भारत र बंगलादेशले पनि आफ्ना नागरिक लिएर गए। कोरोना भाइरसका बिरामी दिनदिनै बढिरहेका छन्। हामीलाई मानसिक तनाव भइरहेको छ।’
भक्तपुरका दिनेश सुकामनीका दम्पती पनि वुहानमा छन्। केही महिनाअघि मात्र पिएचडी गर्न गएका उनीहरू यसपालि चिनियाँ नयाँ वर्षको विदामा घर नआई उतै बसेका थिए। अहिले भने उनीहरूलाई आफ्नो जीवन कैदीजस्तो लाग्न थालेको छ।
‘वुहानमा अचेल घाम लाग्दैन। हिजो र आज घाम लागेको थियो तर घाम ताप्न बाहिर निस्किने अवस्था पनि छैन,’ दिनेशले सेतोपाटीसँग भने,‘ कहिले, कहाँ के हुने हो पत्तो छैन। शारीरिक रूपमा केही नभए पनि मानसिक रूपमा हामी निकै तनावमा छौं।’
सँगै बस्ने साथीहरू धमाधम घर फर्किन थालेपछि वुहानका नेपाली झन् धेरै आत्तिन थालेका छन्।
वुहानमै पिएचडी गरिरहेका चन्द्रभूषण साह बस्ने छात्रावासको तलामा २० कोठा छन्। अहिले ती सबै खाली भइसके।
‘आजदेखि यो तलामा म एक्लै छु। भुत बंगलाजस्तो यो घरमा कसरी बस्ने होला?’ चन्द्रभूषणले भने, ‘मलाई टाउको दुखिरहेको छ। ज्वरो पनि आउलाजस्तो छ। अरू सबै देशका साथी घर फर्किँदा हामीलाई लिने जहाज कहिले आउलाजस्तो लाग्छ।’
उनले नेपाल फर्काउन पैसा लाग्छ भने पनि आफूहरू तिर्न तयार रहेको बताए। यहाँ आएपछि केही समय परिवार वा साथीभाइ नभेट्न र कतै छुट्टै निगरानीमा राख्ने हो भने त्यसका लागि पनि तयार रहेको उनको भनाइ छ।
‘नेपालमा छुट्टै बस्न कति पैसा लाग्छ हामी तिर्न तयार छौं। सरकारले हामीलाई यहाँबाट निकालिदिए मात्र हुन्थ्यो,’ उनले भने।
चीनबाट फिर्ता ल्याएका नागरिकलाई दुई सातासम्म अरूको सम्पर्कबाट बाहिर राखिन्छ।
कोरोना भाइरसको आयु १४ दिन हुन्छ। वुहानबाट फर्काउन लागेकालाई निगरानीमा राख्न बंगलादेशले विमानस्थलनजिकै क्याम्प बनाएको छ। वुहानबाट ल्याइएकालाई विज्ञ चिकित्सकहरूको निगरानीमा 'अस्कोना हाजी' क्याम्पमा राखिनेछ र परिवारसँग पनि भेट्न दिइने छैन।
वुहानमा रहेका नेपाली फिर्ता ल्याउने हो भने सरकारले काठमाडौंमा पनि त्यस्तै क्याम्प बनाउनुपर्ने हुन्छ।
‘सशस्त्र र नेपाली सेनाका ट्रेनिङ सेन्टर छन्। नभए कुनै एउटा लजमा राखे पनि हामी बस्न तयार छौं, आफ्नो देशमा फर्किए कम्तिमा यहाँको जस्तो तनाव त हुँदैन,’ चन्द्रभूषणले भने।
सरकारले भने चीनबाट तत्काल नेपालीलाई फर्काउन तयारी गरेको छैन।
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले एक सन्देश जारी गर्दै नेपाल सरकार हुबेइ/वुहानमा रहेका नेपालीको हितमा आवश्यक कदम चाल्न तयार रहेको बताएका छन्। नेपाल सरकार र दूतावास उनीहरूको सुरक्षा र समग्र हितका लागि हरदम प्रयत्नशील र कृयाशील रहेकोमा विश्वस्त रहन उनले अनुरोध गरेका छन्।
‘हुबेइमा रहनु हुने कसैको भिसा अवधि सकिन लागेको छ भने चिन्ता नलिनु हुन अनुरोध गर्दै चीन सरकारसँगको समन्वयमा उक्त समस्या समाधान गरिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन्।
परराष्ट्र मन्त्रालयले पनि तत्काल जहाज पठाएर उद्धार गर्ने योजना बनाएको छैन।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चीनमा रहेका नेपालीलाई के गर्ने भन्नेबारे बैठक बसेको बताए।
‘अहिले पनि २४ सै घन्टा हाम्रो बेइजिङस्थित दूतावास अधिकारीहरू खटिनुभएको छ। आवश्यक परे हामी तत्काल आफ्ना नागरिकको उद्धार गर्छौं,’ प्रवक्ता पौडेलले भने, ‘धेरै देशले वुहानबाट नागरिक ल्याउने भनेका हुन् तर ल्याइसकेका छैनन्।’
उनले बिहीबार मात्रै स्वास्थ्य, परराष्ट्र लगायत मन्त्रालयका अधिकारीबीच यसबारे छलफल भएको जानकारी दिए।
‘सरकारले उच्च तहबाट परिस्थिति नियालिरहेको छ। आवश्यक परेका बेला हामीले संसारका विभिन्न देशबाट आफ्ना नागरिक फिर्ता ल्याएका छौं। वुहानबाट पनि ल्याउँछौं,’ पौडेलले भने।