एक महिनासम्म चल्ने प्रसिद्ध माधवनारायणको व्रत एवं मेला अन्तर्गत ब्रतालुहरूको प्रदेश यात्रा सुरू गरेका छन्।
बिहीबार साँखुबाट सुरू भएको प्रदेश यात्रामा सहभागीले शुक्रबार बिहानै पशुपति क्षेत्रको बागमतीमा स्नान गरेका छन्।
पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू बिहीबार साँझ पशुपतिनाथ आएका हुन्।
एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि पूजापाठ तथा स्नान गर्छन्।
पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ।
माधवनारायणको ब्रत बस्ने ब्रतालुले पूर्णिमाको अघिल्लो दिन हात र गोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।
मन्त्रोच्चारण गरेर शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ।
माधवनारायणको पूजा नगरे स्वस्थानीको ब्रत र पूजा अधुरो रहने बताइन्छ।
स्वस्थानी र माधवनारायणको पूजा गरे सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ।
एक महिने ब्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा ब्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन्।
खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठले बताए।
तस्बिरहरूः