ललितपुर महानगरपालिकाले पुल्चोक इञ्जिनियरिङ कलेज भवन घेरिएको अग्लो पर्खाल भत्काएको छ। खुला ठाउँहरू सर्वसाधारणले महशुस गर्ने गरी खुला राख्ने योजनाअनुरूप पर्खाल भत्काउने काम सुरू भएको हो।
पहिलो चरणमा ऐतिहासिक भवन तथा सार्वजनिक मैदानमा लगाइएका अग्ला पर्खाल भत्काएर खुला पारिने महानगरले बताएको छ।
योजनाअनुसार पुल्चोक कलेज, जावलाखेल चोक, सदर चिडियाघर अगाडिको र लखनखेलस्थित बुद्धि विकास मण्डल मैदान घेरिएका पर्खाल भत्काउने काम सुरू भइसकेको छ। पर्खाल भत्काएर त्यो ठाउँ भित्र र बाहिरको दृश्य हेर्न मिल्ने गरि फलामे बार राख्ने महानगरको योजना छ।
पुराना तथा ऐतिहासिक महत्व बोकेका सार्वजनिक भवन तथा स्थान घेरेर बसेका पर्खाल हटेपछि सर्वसाधारणले भित्री हरियाली साथै आसपासका दृश्य नियाल्न सक्नेछन्।
पुल्चोक इञ्जिनियरिङ कलेजको पर्खाल भत्काएर पश्चिमतर्फका केही स्थानमा बार समेत राखिसकिएको छ। बार राखेपछि सर्वसाधारणले बाहिरैबाट कलेज हाताभित्रको दृश्य हेर्न सक्नेछन्। यसअघि भित्री दृश्य पर्खालले घेरिएको थियो। अब कलेज वरपर सबैतिर बार नै लगाएर सुरक्षित गरिनेछ।
त्यस्तै लगनखेलस्थित बुद्धि विकास मण्डल मैदानको पनि पश्चिमी पर्खाल भत्काउने काम भइरहेको छ। भत्काइएको स्थानमा तत्कालै फलामे बार राखेर सुरक्षित गरिएको छ। मैदानको पूर्वी पर्खालसँग सैनिक मैदान जोडिएकाले भत्काउने वा राख्ने स्पष्ट भइनसकेको ललितपुर मेयरका स्वकीय सचिव इन्द्र बज्राचार्यले जानकारी दिए।
पर्खाल भत्किएसँगै मैदानभित्रको क्रियाकलाप र हरियाली देख्न पाइने भएको छ भने मैदानमा स्थानीयको पहुँच सहज भएको छ।
जावलाखेल चोक र सदर चिडियाघरबीच रहेको मैदानको पर्खाल पनि भत्काएर खुला गरिएको छ। अहिले चोकबाटै चिडियाघरको मुख्य गेट देख्न सकिन्छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुनै पनि महानगरपालिकामा ३० प्रतिशत खुला स्थान हुनुपर्छ। नगरक्षेत्रभित्र खुला स्थान बढाउने उद्देश्यले पर्खाल भत्काउन थालिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए।
'हामीले सार्वजनिक बाहेक थप स्थान खुला बनाउन सक्दैनौं। तर भइरहेको खुला स्थान सर्वसाधारणका लागि पनि खुला गर्न सक्छौं।'
यसरी सार्वजनिक स्थान खुला बनाउने योजनाले आन्तरिक तथा बाह्य पर्यटन विकासमा समेत सहयोग पुग्ने महानगरको विश्वास छ।
'वर्षौं बन्द रहेका स्थान एकाएक खुला हुँदा दृश्य अवलोकनका लागि पनि मानिस रोकिन सक्छन्,' मेयर महर्जनले सेतोपाटीसँगको कुराकानीमा भने 'खुला ठाउँ भेटेपछि हिँडडुल गर्ने, घाम ताप्ने, आराम गर्ने ठाउँ समेत बन्नेछ।'
भुइँचालो जस्ता भैपरि आउने समस्याबाट बच्न र सुरक्षित रहन सहरमा खुला ठाउँ अत्यावश्यक रहेको मेयर महर्जन बताउँछन्।
महानगरको यो कामको स्थानीयले प्रशंसा गरेका छन्। राम्रो काम थालनी भएको बताउँदै सामाजिक सञ्जालमा समेत सरहाना भएको पाइन्छ।
प्रमोद पण्डितले ट्विटरमा लेखेका छन्- 'मेयर चिरिबाबुको नीतिले गर्दा यहाँको अग्लो पर्खाल भत्कियो। अब फलामे रेलिङ लगाइनेछ। रोड छेउमा ठूलो खेल मैदान देखिँदा राम्रो भयो।'
लगनखेल फुटबल मैदानको पर्खाल भत्किएपछि प्रतिक्रिया दिँदै पण्डित थप्छन्, 'पहिले (लगनखेल मैदान) उराठलाग्दो थियो। जावलाखेल मैदान पनि अब बाहिरबाट छ्यांगै देखिनेछ।'
पहिलो चरणमा गरिएको काम सफल भए नगरभित्रका अन्य सार्वजनिक स्थान तथा भवनका पर्खाल हटाउने महानगरको योजना छ।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी