सोमबार राती दरबारमार्गबाट घर फर्कंदै गर्दा गायक निशान भट्टराईको ज्यान गयो।
तीनकुनेस्थित सडकमा रहेको पोलमा कार ठोक्किएपछि गम्भीर घाइते भएका भट्टराईलाई उपचार गर्न ट्रमा सेन्टर त पुर्याइयो तर बचाउन सकिएन।
तीनकुनेकै सडक त यति जोखिमपूर्ण छ भने काठमाडौंका भित्री सडकहरूको अवस्था झन् कहालीलाग्दो छ। साँघुरा सडकमा खाल्डाखुल्डी छन्।
भित्री सडक पानी परेपछि हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ। स्थानीय बासिन्दाहरूले गुनासो गरेपछि काठमाडौं महानगरपालिकाले भित्री सडक केही फराकिलो पार्ने र कालोपत्र गर्न सुरू गरेको छ।
विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूस्थित भगवानपाउका सडक पनि साँघुरा थिए। महानगरले यो सडक केही फराकिलो बनाएको छ। अहिले यहाँ सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ।
करिब पाँच सय मिटर सडक फराकिलो बनाएको महानगरको काम हेर्नुभयो भने बिजोग देख्नुहुन्छ। कालोपत्रे गरिएको सडकको बीचमा बिजुलीका पोल ठिंग उभिएका छन्।
पहिले सडकको छेउमा रहेका बिजुलीका पोल सडक फराकिलो बनाएपछि बीचमा परेका हुन्।
महानगरले पोल हटाउन नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गरेको थियो तर प्राधिकरणले पोल हटाउने बजेट नभएको जवाफ दियो।
महानगर पनि के कम! पोल बीचमै राखेर पिच गरिदियो।
‘त्यहाँ तीन वटा बिजुलीका पोल छन्। महानगरले प्राधिकरणलाई पोल हटाइदिन अनुरोध गरिसकेको छ। छिट्टै हट्छ,’ काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सेतोपाटीसँग भने, ‘पोल सार्ने खर्चको पनि कुरा उठेको छ। प्राधिकरणबाट नभए बरू महानगरबाट खर्चको जोहो गरेर भए पनि ती पोलहरू हटाइन्छ।’
पोल हटाउनु ठूलो कुरा नभए पनि पोल सार्दा त्यस क्षेत्रमा विद्युत कटौती हुने भएकोले केही ढिलाइ भएको उनले दाबी गरे।
‘बिजुलीको पोल छ भन्दैमा सडक कालोपत्रे नगर्न त मिलेन नि!,’ उनले भने, ‘अहिले कालोपत्र गर्ने अनि पोल हटाउँदा पनि हुन्छ।’
पोलमा सवारीसाधन ठोकिएलान्, दुर्घटनाको जोखिम होला नि! भन्ने प्रश्नमा उनले भने, ‘पोलनजिक हामी ट्राफिक सिग्नल राख्छौं। दुर्घटना हुन्न। त्यो मेन रोड होइन, भित्री रोडमा सवारी चाप हुँदैन।’
सरकारी कार्यालयहरूबीच एकआपसमा समन्वय नहुँदा विकास निर्माणमा यस्ता प्रवृत्ति दोहोरिने गरेका छन्।