१ सय २२ चिनियाँ नागरिकलाई लिन दुई चिनियाँ चार्टर्ड जहाज साँझ काठमाडौं आएका छन्।
कुन्मिङबाट चाइना इस्टर्नको जहाज र ग्वान्झाओबाट चाइना साउदर्नको जहाज चिनियाँ लिन आएका हुन्।
उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट हत्कडी लगाएर प्रहरीको गाडीमा राखेर विमानस्थलसम्म लगिएको थियो।
नेपालले डिपोर्ट गरेका ति चिनियाँ नागरिक ४ वर्ष नेपाल आउन पाउने छैनन्। गत आइतबार १/१ हजार जरिवाना तिरेर ती चिनियाँहरु थुनामुक्त भएका हुन्।
‘चार्ली फक्स्टर’ नाम दिएर चलाइएको अपरेसनमा गत पुस ८ गते १२२ जना चिनियाँ पक्राउ परेका थिए। पक्राउ परेकामध्ये ११४ पुरूष र ८ महिला छन्। उनीहरू तारकेश्वर नगरपालिका १ मनमैजु, काठमाडौं ३ बाँसबारी र बुढानिलकण्ठ ३ बाट समातिएका थिए।
ती चिनियाँलाई ९ वटा घरमा छापा मारेर पक्राउ गरिएको थियो। पक्राउ परेका चिनियाँबाट ७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान फेला परेको थियो।
उनीहरूले इन्टरनेट प्रविधिको उच्चतम् प्रयोग गरी साइबरजन्य अपराध गरेको देखिएको भनिए पनि प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो।