अहिले खण्डग्रास सूर्यग्रहण लागेको छ। बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटसम्म रहने छ।
कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास बोर्डको परिसरबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल सूर्यग्रहण हेरेका छन्।
उनीसँगै विद्यालय र क्याम्पसका विद्यार्थीले पनि सूर्यग्रहण हेरेका छन्।
झण्डै तीन घन्टा लाग्ने ग्रहण टेलिस्कोपको सहायताले देखाउने व्यवस्था मिलाइएको बोर्डका कार्यकारी निर्देशक सनत कुमार शर्माले जानकारी दिए।
टेलिस्कोपमा फिल्टर राखेर ग्रहण लागेको देखाइएको छ। यद्यपी टेलिस्कोप, दुर्विन, चस्मा, नाङ्गो आखाँबाट हेरे हानिकारक हुने समेत जनाइएको छ। एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु नहुने शर्मा बताउँछन्।
ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ। पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखिनेछ।
रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ।
रिङ अफ फायर साउदी अरबबाट सुरू भएर कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ।
त्यस्तै, हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ।
यो ग्रहण काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरू हुनेछ भने ११ बजेर ३३ मिनेटमा अन्त्य हुनेछ। त्यसैगरी, महेन्द्रनगरबाट ८ बजेर ३८ मिनेटमा सुरू भएर ११ बजेर १९ मिनेटमा अन्त्य हुनेछ भने भद्रपुर झापाबाट ८ बजेर ४८ मिनेटमा सुरू हुन्छ भने ११ बजेर २७ मिनेटमा अन्त्य हुनेछ।