पर्यटकीय गन्तव्य स्थल ठमेल अब ताररहित हुने भएको छ। विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी तथा विद्युत प्रधिकरणका तारहरुले कुरुप बनाएको ठमेलमा यतिबेला तार काट्ने काम भइरहेको छ।
मंसिर १६ गते काठमाडौं महानगरपालिका, नेपाल टेलिकम, विद्युत प्रधिकरण, महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रतिनिधीबीच छलफल गरी तार काट्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार केही दिन अघि देखि ठमेलका तारहरु काट्न थालिएको हो।
‘यसबारे मंसिर १६ अगाडि देखि नै छलफल भइरहेको थियो’ ठमेल पर्यटन विकास संघका कोषाध्यक्ष पुन्यराम लाखेजुले भने, ‘१६ गतेदेखि औपचारिक रुपमा काम अगाडि बढ्यो।’
अहिले यसरी तार काटेपछि ठमेल इन्टरनेटरहित भएको छ। अर्थात सबै तारहरु काटिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको हो। कोषाध्यक्ष लाखेजुका अनुसार इन्टरनेट प्रदायक कम्पनीहरुले अवरुद्ध गर्न खोजेका थिए।
‘वर्ल्डलिंक मान्छेहरुले तार नकाट्न भन्दै आएका थिए’ उनले भने, ‘हामीले ज्यान भन्दा ठूलो इन्टरनेट होइन भनेर पठाइदियौं।’ यस्ता तारहरुले ठमेलको सौन्दर्य कुरुप बनाएसँगै ज्यानको पनि उत्तकै जोखिम हुँदै आएको लाखेजुको गुनासो छ।
‘पहिले एक घरमा आगलागी भएको थियो तर तारहरुले अवरुद्ध गरेपछि दमकल छिर्न सकेन’ लाखेजुले गुनासो गरे, ‘तारहरुले अवरुद्ध नगरेको भए त्यो घर बच्थ्यो होला।’
ठमेल काठमाडौँको मुख्य गन्तव्यस्थल भएको हुँदा यो कार्यक्रम भिजिट नेपाल २०२०लाई लक्षित गरेको संघले जनाएको छ। यसरी तार काट्दा करिब ९५ प्रतिशत अनावश्यक तारहरु भेटिएको बताइएको छ।
यो कामबाटअहिले स्थानीयदेखि व्यवसायीहरु समेत खुसी भएका छन्। नेपाल दुरसञ्चार प्राधिकरणले तार काटिएपछि सूचना निकालेर ध्यानाकर्षण भएको जनाएको छ ।
ठमेल पर्यटन विकास संघले प्रधिकरणसँग छलफल गरेर तार काटेको दावी गरेको छ। प्राधिकरणले भने छलफल बिनानै तार काटिएको बताएको छ। यसरी तार काटेपछि इन्टरनेट प्रदायक संघले समेत विरोध गरेको छ।