स्थानीयवासीले आफ्ना सञ्चालकको फोटो गाडी र बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि शैलुङ कन्स्ट्रक्सनले कमलविनायक-नगरकोट सडक खण्डमा धमाधम काम गर्न थालेको छ।
भक्तपुरको कमलविनायक र नगरकोट जोड्ने सडकमा अहिले दैनिक १८ घन्टा काम भइरहेको छ।
‘डे र नाइट सिफ्टमा काम भइरहेको छ, केही अवरोध नआए समयमै सकिन्छ,’ सडक आयोजना प्रमुख जगत प्रजापतिले सेतोपाटीसँग भने।
गत मंगलबार नगरकोटका स्थानीयवासीले शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो सवारीसाधन तथा बिजुलीका पोलमा टाँसेका थिए। शैलुङकका सञ्चालक अधिकारी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुन्।
स्थानीयवासीको उक्त विरोध गरेकै दिनदेखि कामदारले बाटोका खाल्डाखुल्डी पुर्ने काम सुरू गरेका थिए।
कमलविनायक-नगरकोट सडक खण्डको ६५ प्रतिशत काम सकिसकेको छ। पछिल्लो समय विभिन्न बहाना बनाउँदै ठेकेदारले काम रोकेपछि स्थानीयले धुलो र हिलोको सास्ती झेल्नु परेको थियो।
सास्तीबाट पार पाउन उनीहरूले विरोधको नयाँ उपाय लगाएका थिए- बाँदर र कुकरसँगै ठेकेदार अधिकारीको तस्बिर गाडी र पोलमा टाँस्ने।
साढे १५ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २०७१ असारमा सम्झौता भएको थियो। सम्झौताअनुसार २०७३ असारसम्म सडकको काम भइसक्नु पर्ने थियो।
ठेकेदार कम्पनीले प्रभावका आधारमा पटक-पटक म्याद थप्दै आएको थियो।
पछिल्लो समय उक्त सडकको काम २०७७ वैशाखसम्म सक्ने गरी म्याद थप गरिएको छ।
अब पनि ठेकेदार कम्पनीले थपेको समयमा काम नसके ठेक्का तोडिने प्रजापतिले जानकारी दिए।
आयोजनाका साइट इन्चार्ज सुदन गौलीले सेतोपाटीसँग कुरा गर्दै तोकिएकै समयमा सक्ने गरी काम भइरहेको बताए।
सडकको कामले तीव्रता पाउनुको अर्को कारण दुई सातापछि हुन लागेको उपनिर्वाचन पनि हो।
भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को (ख)मा प्रदेश सभा उपनिर्वाचन हुँदैछ। प्रतिपक्षी दल नेपाली कांग्रेसले कमलविनायक-नगरकोट सडकको दुरावस्थालाई चुनावी एजेन्डा बनाएपछि ठेकेदार कम्पनी तातेको स्थानीय बताउँछन्।
‘हामीले विरोध गरेकै दिन उनीहरूले काम सुरू गरेका छन्,’ सडक संघर्ष समितिका अध्यक्ष राजकुमार लामिछानेले भने,‘सडक नै प्रमुख एजेन्डा बन्न थाल्यो अनि पछि काम सुरू गरेका रहेछन्।’
ठेकेदार अधिकारी प्रचण्डका घरबेटी भएकाले उनको दबाबमा काम अघि बढको हुन सक्ने लामिछानेले बताए।
उपनिर्वाचन वा आफ्नो विरोधका कारण जेसुकै भए पनि छिटो बाटो बने आफूहरूलाई ठूलो राहत हुने बताए।