काठमाडौं उपत्यकाका चार भञ्ज्याङमध्येको पश्चिमी चन्द्रागिरी भञ्ज्याङको काखमा पर्ने थानकोटमा महालक्ष्मी अर्थात् सिन्दुर जात्रा सुरू भएको छ। यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ।
यसलाई न्हूदँ ११४० (नयाँ वर्ष) सुरू भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ। स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमर: र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमर: (सातगाउँले जात्रा) भनिन्छ।
‘थानकोटे जात्रा’ को नामले बहुप्रचलित यस सिन्दुर जात्रालाई महालक्ष्मी जात्रा पनि भने प्रचलन छ। तर यो जात्रा महालक्ष्मीको मात्र नभएर नारायण, गणेश र भैरवको सामूहिक जात्रा पनि हो।
तीन दिनसम्म मनाइने यो जात्राको पहिलो दिन महालक्ष्मीको जात्रा गरिने धातुको मूर्ति गुठीका पालो पर्ने गुठीयारको घरबाट अपरान्हतिर ल्याएर मन्दिरमा स्थापित गरिन्छ। राति महालक्ष्मी मन्दिरको प्राङ्गणमा होम गरेर देवदेवीलाई आह्वान गरिन्छ। यसलाई नेवारीमा ‘हवं यायगु’ भनिन्छ। आचाजु (कर्माचार्य थरका दिक्षित व्यक्ति) द्वारा तान्त्रिक विधिपूर्वक होम गराइन्छ। होम गर्दा गुठीयारहरूले राति बोका बली दिएर सम्य बजी खान्छन्| यसोगर्दा जात्रामा बिध्नवाधा आउँदैन भने जनविश्वास छ।
यसैगरी जात्राको दोस्रो दिन बिहानदेखि महालक्ष्मी, आदिनारयण, भैरवनाथ आदिको दिनभर पूजा आराधना गरिन्छ। ब्रत उपासना बस्ने गरिन्छ। कुनै/कुनै भक्तजनहरूले त पूर्णिमाको रातभरि आफ्नो जिउका विभिन्न अंगमा दियो बालेर उपसाना र जाग्राम पनि बस्ने गरेको पाइन्छ। यो दिन जात्राको मु भयव हुन्छ।
र अन्त्यमा तेस्रो दिन झिसमिसेमै सिन्दुर जात्रा प्राम्भ हुन्छ। पूर्णिमाको बिहानीपख महालक्ष्मीलाई विधिपूर्वक पूजा गरी खटमा बसाइन्छ। तत् पश्चात सिद्धि विनायक र महालक्ष्मी मूर्तिमा पुन: पुजा आराधना गरिन्छ। सर्वसाधारणको घुइँचोसँगै सिन्दुर जात्रा प्रारम्भ हुन्छ| दिनभर विभिन्न टोलमा रथलाई परिक्रममा गरिन्छ।
महालक्ष्मी, गणेश र भैरवको मिलन गराएर बेलुका आठ नौ बजेतिर जात्रा सम्पन हुन्छ। यसरी देवदेवीको मेलमिलाप गराइने सिन्दुर जात्राले मानवजातिमा पनि मेलमिलापको सन्देश दिन खोजिएको बताइन्छ।
प्राचीनकालदेखि नै यो जात्रा मनाइँदै आइएको किम्बदन्ती छ।
तस्बिरहरू :