नेपालमा र्याप संगीत सुरू गर्ने गायक गिरीश खतिवडाले गायक समीर घिसिङ 'भिटेन' लाई प्रहरीले गिरफ्तार गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश भनेका छन्। संगीतमै सेन्सरसिप गर्ने प्रहरीको प्रयास जायज नभएको पनि उनले बताएका छन्।
प्रहरीले बिहीबार भिटेनको 'हामी यस्तै त हो नि ब्रो' गीतको भिडिओ र शब्दले सामाजिक विकृति मलजल गरेको आरोप लगाएर उनलाई पक्राउ गरेको थियो।
भिटेन पक्राउ पर्नु केही दिनअघि 'ह्याप्पी तिहार, चिसो बियर' गीतको शब्दमा उस्तै कारण देखाइ प्रहरीले गायक दुर्गेश थापालाई पक्रेको थियो।
युट्युबबाट गीत हटाउन लगाएर दुर्गेशलाई प्रहरीले रिहा गरिसके पनि भिटेन हिरासतमै छन्। उनीमाथि अनुसन्धान गर्न भन्दै सात दिन म्याद थपिएको छ।
एक साताभित्र गीतकै आधारमा दुर्गेश र भिटेन पक्राउ परेपछि संगीतमा सेन्सरसिप लगाउन खोज्ने प्रहरीको कदमको पक्ष-विपक्षमा बहस भइरहेको छ। धेरैले सिर्जना र कलाकारमाथि राज्य नियन्त्रणको निन्दा गरेका छन्। सामाजिक सञ्जालमा भइरहेको यो बहसमा र्याप र हिपहप सार्वजनिक स्थानमा सुन्दा अपाच्य लाग्ने शब्दको प्रयोगप्रति आपत्ति जनाउनेको संख्या उत्तिकै छ।
यसबारे गिरीशले भने, 'फ्रिडम अफ एक्सप्रेसन र भल्गारिटीको सीमा तोक्ने काम प्रहरी वा समाजको हैन।'
उनले यो पछिल्ला दुई गायकको गिरफ्तारीले गीतमा कसको नियन्त्रण र निर्णय भन्ने नजिर बसाउने बताए।
'समाजमा के ठीक, के बेठीक भन्ने कुराको सेप यस्तै घटनाले लिने हो। यो घटना केस स्टडी बन्न सक्छ। अरू जनराभन्दा र्याप गाउनेको शैली फरक हुन्छ। उनीहरू आफूलाई फ्रि स्टाइलमा एक्सप्रेस गर्न चाहन्छन्,' गिरीशले भने, 'र्याप, रक, पंक अफेन्सिभ हुन्छ नै। यसको शब्द, गायन र नृत्यसमेत एग्रेसिभ हुन्छ। यो शैलीलाई नबुझी कारबाही गर्नु निन्दनीय छ।'
गायक पनि म्युजिक भिडियोमा कहिले प्रेमी, कहिले प्रहरी त कहिले गुन्डाको अभिनय गरिरहेको हुन्छ। उनले भने, 'भिटेनले पनि आफ्नो गीतअनुसार फरक फरक हुलियामा देखिनुपर्ने हुन्थ्यो। त्यसलाई प्रहरीले बुझेन कि!'
२३ वर्षको उमेरमै युवा पुस्तामाझ चर्चा कमाउन सफल भिटेनलाई 'यस्तै त हो नि ब्रो' ले थप चर्चित बनाएको थियो। भिटेनलाई यहाँसम्म ल्याइपुर्याउनमा गिरीशलाई श्रेय दिनेहरू पनि धेरै छन्।
आफ्नै भोगाइ मिसिएको गरिब गीत गाएर र्याप संसारमा देखा परेका भिटेनबारे गिरीशले दुई वर्षअघि भिडिओ ब्लग बनाएका थिए। गिरीश कान्तिपुर एफएममा 'नेपहप' कार्यक्रम चलाउँथे। नयाँ पुस्ताका र्यापरलाई प्रोत्साहन दिने कार्यक्रममा भिटेन सहभागी थिए।
गिरीशले त्यो बेलाको सम्झना गर्दै भने, 'भिटेन र अरू चार गायकसँग कार्यक्रमपछि पनि निकै लामो समय बिताइयो। त्यही बेला भिटेनको ट्यालेन्टबाट प्रभावित भएको थिएँ।'
गिरीशले बनाएको भ्लगमा भिटेनले 'चुरोट' गीत गाएका थिए। यही भ्लगले भिटेनलाई चर्चामा ल्याएको उनी आफैंले स्वीकारेका छन्।
भिटेन रौतहट, चन्द्रनिगाहपुरको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलबाट एसएलसी सकेर काठमाडौं आएका हुन्। सोह्र वर्षको उमेरदेखि काठमाडौं बस्न थालेका उनले यहाँ आफ्ना काकासँग थांका पेन्टिङ बनाउन सिके। २०७२ को भुइँचालो अघिसम्म थांका नै भिटेनको मुख्य आयस्रोत थियो। तर उनी संगीतमा धेरै रत्तिन्थे।
भुइँचालोपछि थांका व्यवसाय खस्कियो। उनको आर्थिक नाजुक बन्यो। कहिले आफन्तकहाँ त कहिले साथीभाइकहाँ बसेर संघर्ष गर्नुपर्यो। यस्तै परिस्थितिमा उनको भेट गिरीशसँग भएको थियो। यो भेटले उनको संगीत यात्रामा गति ल्याइदियो।
छोटो अवधिमै भिटेनले जुन छलाङ मारेका छन्, त्यो लोभलाग्दो छ।
गिरीशको नजरमा भिटेन भर्साटाइल र्यापर हुन्। 'खलासी', 'बैनी', 'कथा', 'मान्छे खत्तम', 'चुरोट', 'सिमसिमे पानी', 'हालखबर', 'लाहुरेको फेसन' जस्ता गीतले यी कुरा पुष्टि गर्छ। 'हामी यस्तै त हो नि ब्रो' त झन् त्यस्तो गीत हो जसले भिटेनलाई कहिल्यै र्याप नसुनेका स्रोतामाझ पनि लोकप्रिय बनाइदियो।
गिरीशले धेरैअघि भनेजस्तै भिटेन र्याप संगीतको दुनियाँमा अरूलाई पछि छाड्दै धेरै अगाडि बढिसकेका छन्। २०७३ सालमा र्यापर यमबुद्धको आत्महत्यापछिको रिक्त स्थानमा भिटेनलाई देख्न चाहने प्रशंसक धेरै छन्।
भिटेनका फ्यान फलोअर्स, युट्युबमा अपलोड गीतहरूले पाउने लाखौं भ्युज र अनगिन्ती प्रतिक्रियाबाट उनको लोकप्रियता बुझ्न सकिन्छ। उनका प्रायः गीत ट्रेन्डिङमा पर्छन्। पक्राउ परेपछि ट्वीटर ट्रेन्डिङमा पनि उनकै नाम देखिएको छ।
भिटेन पक्राउपछि चलेका बहसमा सर्जकको अभिव्यक्ति स्वतन्त्रता र कलाकारको दायित्य के हुने/नहुने भन्ने सतहमा आएको छ। गिरीश भन्छन्, 'ध्यान दिएर सुन्यो भने प्रकाश सपुत र भिटेनका गीतका कतिपय विषय मिल्छन्। तर उनीहरूले चयन गर्ने शब्द र गायनशैलीमा भिन्नता छ।'
यस्तो भिन्नता नबुझे हामी श्लील र अश्लीलको बहसमै रुमल्लिइरहने उनको भनाइ छ। एकैपटक धेरै स्रोतासम्म पुग्ने भिटेनजस्ता कलाकारको समाजप्रति दायित्व हुने कुरालाई भने गिरीश पनि स्वीकार्छन्।
'भिटेनको ट्यालेन्टमाथि त्यही बेलादेखि विश्वास थियो, आज पनि छ,' भिटेनलाई नजिकबाट चिनेका उनले जोड दिँदै भने, 'हामी कलाकारले गीत बनाउँदा विषयवस्तु, शब्द चयन र त्यसको प्रस्तुतिमा भने सचेत हुनुपर्छ।'