जनकपुरधामको एक मन्दिरमा दसैंको १० दिनसम्म महिला भक्तजनलाई प्रवेशमा रोक लगाउने गरिएको छ।
जनकपुरधामस्थित मिथिलानरेश राजा जनककी कुलदेवी मानिएकी प्रसिद्ध माता राजदेवीको मन्दिरमा पुरुष भक्तजनले पूजा गर्न पाए तापनि महिलाहरूले भने मन्दिरको झ्यालबाटै मात्र पूजा गर्ने गर्छन्।
वर्षको अन्य दिनमा महिला भक्तजनले पूजाअर्चना गरे पनि दसैंमा भने उनीहरूलाई प्रवेशमा रोक लगाउने गरिन्छ।
परापूर्वकालदेखि नै यही परम्परा रहेकोले यसलाई तोड्न मिल्दैन भन्छन्, राम मन्दिर एवं राजदेवी मन्दिरका महन्थ रामगिरी।
मन्दिर जस्तो पवित्रस्थलमा समेत जातीयता र लिंगको आधारमा विभेद गरिनु पित्तृसत्तात्मक सोचलाई उजागर गरेको अधिवक्ता रेखा झा बताउँछिन्।
उनी भन्छिन्, ‘नेपालको कानुनले नै स्पष्ट गरिदिएको समानताको व्यवस्थालाई धर्मको नाममा कायम राख्नु महिलाहरूप्रति भइरहेको सामाजिक असमानतालाई झल्काएको छ।’
अधिवक्ता झालगायतका महिला अधिकारकर्मीहरूले यस कुरितिविरूद्ध पटक-पटक आवाज उठाउँदै आइरहेका छन्।
‘हामीले दसैंको बेला राजदेवी मन्दिरमा महिलालाई किन निषेध गरिन्छ भन्ने खालका खुला बहसकै आह्वान गरेका थियौं, सम्बन्धित सरोकारवालालाई समेत बोलाएका थियौं’, अधिवक्ता झाले भनिन्, ‘तर सम्बन्धित राममन्दिर, जानकी मन्दिर र स्थानीय युवा क्लबहरूमध्ये कोही पनि उपस्थित भएनन्। लैंगिक समानताका लागि गरेको भाषण भाषणमै सीमित रहेको भन्ने कुरालाई स्पष्ट गरेको छ।’
राममन्दिर तथा राजदेवी मन्दिरका महन्थ गिरीले भने जनताले चाहे भने यस परम्परालाई तोड्न आफूहरूलाई कुनै आपत्ति नरहेको बताए।
प्रसिद्ध शक्तिपीठ राजदेवीमा प्रत्येक वर्ष हजारौं संख्यामा पूजाआजा गर्ने भक्तजनहरूको भीड नै लाग्ने गर्दछ।
समाजमा रहेका यस्ता लैंगिक समानता विरूद्धको कुप्रथालाई निष्तेज पारिनुपर्ने महिला अधिकारकर्मीहरू बताउँछिन्।
नारीशक्तिलाई पूजा गर्ने स्थानमा महिलालाई नै प्रवेशमा निषेध गरिनु उनीहरूको अपमान गरिनु सरह रहेको उनीहरूको तर्क छ।
राजदेवी मन्दिरमा भाकल गर्दा मनोकामना पूर्ण हुने धार्मिक विश्वास रहेकाले भाकल गरेकाहरूबाट यहाँ प्रत्येक वर्ष १० हजारभन्दा बढी बली दिइन्छ।