ह्याकरको अन्तर्राष्ट्रिय गिरोहले कृषि विकास बैंक लहान शाखाबाट चार करोड ७३ लाख रुपैयाँ लुटेको पत्ता लागेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आइतबार एकै दिनमा गिरोहले लहान शाखाको उक्त रकम लुटेको हो।
रकममध्येको १५ देखि ३० प्रतिशत कमिसन दिने सर्तमा ह्याकरले नेपालमा एजेन्टहरू प्रयोग गरेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कमिसन दिने सर्तमा खटाइएका १२ जनालाई तीन दिनमा पक्राउ गरिएको छ।
बुधबार पत्रकार सम्मेलन गरी महाशाखाले एजेन्टहरूलाई सार्वजनिक गरेको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाका अनुसार ‘पिटर’ नाम गरेका व्यक्तिले भारतको मुम्बईबाट एजेन्ट खटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
महाशाखाका अनुसार अफ्रिकन नागरिक पिटर लामो समय मुम्बईमा बस्दै आएका छन्। उनले नेपालका बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएको खुलेको छ। ‘विभिन्न नेपालीलाई प्रयोग गरी उनले बैंकहरूको पाँच अर्ब रकम ह्याक गरेर लैजाने योजना बनाएको पाइएको छ,’ थापाले भने।
प्रहरीले एजेन्टहरू नुवाकोट मेघाङ गाउँपालिका-४ का लवाङ तामाङ, रसुवा नौकुण्ड गाउँपालिका-५ की लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-२ का सञ्जय घले, सर्लाही हरिवन नगरपालिका-२ का पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिका-३ का विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका-९ का श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका-४ की सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं बस्दै आएका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका-३ का विजय साह र भजनी नगरपालिका-१ कै चन्द्रबहादुर बुढा छन्।
अन्य ८ जना एजेन्टहरू फरार रहेको प्रहरीले जनाएको छ।
यिनीहरूमध्येका पनि मुख्य एजेन्ट भने लवाङ हुन्। लवाङको गोंगबस्थित शाखाको खातामा पचास लाख रुपैयाँ रकम ह्याकरले पठाएको भेटिएको छ। सोमध्ये उनले ३१ लाख रुपैयाँ निकालेर घरमा लगिसकेका थिए। प्रहरीले सो रकम बरामद गरेको छ।
नुवाकोट मेघाङ गाउँपालिका-४ का ४३ वर्षीय तामाङ आइतबार नयाँ बानेश्वरको पानस रेमिट कम्पनीमा पुगेका थिए।
उनको नाममा देशका विभिन्न स्थानबाट २० पटक रकम पठाएको देखिन्छ। तर, पठाउने व्यक्तिको नाम एउटै हुन्छ। २० वटै आइएमई नम्बरमा ६०-६० हजार रुपैयाँका दरले पैसा आएको देखिन्छ।
छ पटक पैसा निकालेर दिइसकेपछि पानसका कर्मचारी झस्किन्छन् र पैसा भुक्तानी दिन छोड्छन्।
ती व्यक्ति फर्किएपछि पानसले प्रहरीलाई खबर गर्छ र सिस्टम ह्याकिङ भएको आशंकामा लवाङको पछि लाग्छ।
काठमाडौं तारकेश्वर नगरपालिका बस्दै आएका तामाङ बसेको घर पुग्दा प्रहरीले ३१ लाख रुपैयाँ फेला पारेको थियो। त्यो पैसा उनले गोंगबुस्थित शाखाबाट निकालेका थिए।
‘रकमको स्रोत खोज्दै जाँदा उनले विदेशी मान्छेले कमिसन दिने सर्तमा खातामा हालिदिएको र सो रकम तिनै विदेशीलाई पैसा फिर्ता हाल्न लागेको बताएपछि अनुसन्धान थाल्दा ह्याकरको गिरोह रहेको पत्ता लाग्यो,’ एसएसपी थापाले पत्रकार सम्मेलनमा भने।
उनका अनुसार अगस्ट २० तारिखदेखि नै बैंकमा हमला गर्न पिटरले नेपाली एजेन्ट खटाएको बुझिएको महाशाखाको अनुसन्धानबाट पत्ता लागेको छ। केही समयअघि तामाङले तीन लाख रुपैयाँ पिटरलाई पठाइसकेका थिए। त्यसबापतको कमिसन उनले बुझिसकेको भेटिएको छ।
कृषि विकास बैंकबाट तामाङले स्रोत नखुलेको रकम निकालेको भेटिएपछि प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनले अन्य व्यक्तिहरूको नाम लिएका थिए।
ठूलो परिमाणमा नगद निस्केको पाइएपछि प्रहरी कृषि विकास बैंकमा खबर गर्दै पुगेको थियो। बैंकको सिस्टम अनुसन्धान गर्दा सिरहा शाखाबाटै चार करोड ७३ लाख रुपैयाँ विभिन्न व्यक्तिका खातामा गइसकेको भेटिएको थियो।
अनुसन्धानमा संलग्न प्रहरी नाउब उपरीक्षक दुर्गा दाहालका अनुसार पिटरले भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क)को सहायताले कृषि विकास बैंकको सिस्टम ह्याक गराएका छन्।
ह्याकपछि सिरहा शाखाको कम्प्युटरबाटै उनले चार करोड ७३ लाख रकम एकैछिनमा विभिन्न व्यक्तिको खातामा जम्मा गराइदिएका छन्। ‘एकै व्यक्तिको खातामा ९९ लाख पठाइदिएका छन्,’ दाहालले भने, ‘ती व्यक्ति अहिले फरार छन्।’
प्रहरीले ज-जसको खातामा रकम गएको छ त्यी खाता पहिचान गरी बैंकलाई रकम झिक्न नदिन भनिसकेको छ।
दाहालका अनुसार पिटरले सुरूमा कृषि विकास बैंक चितवनको सौराहा शाखाको सिस्टम ह्याक गर्न खोजेका थिए। त्यहाँ सम्भव नभएपछि उनले सिरहा शाखामा आक्रमण गरेको पाइएको छ।
बैंकको कैलाली शाखाबाट १९ लाख रुपैयाँ निकालिएको थाहा भएको छ। यो समूहले अन्यत्रका बैंकबाट पैसा निकाल्ने योजना बनाइरहेको खुलेको छ।
पिटर-एजेन्ट सम्बन्ध
पिटरले नेपालमा कसरी एजेन्ट विस्तार गरे त्यो भने ‘रहस्मय’ नै छ। उनले दुई महिनाअघिबाट नेपालीसँग सम्पर्क थालेको देखिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार पिटरले ह्वाट्स एपबाट सम्पर्क गरी हिन्दी भाषामा कुराकानी थालेको भेटिएको छ। बैंकको सिस्टम ह्याक गरेर पैसा लुट्ने पिटरको योजनामा अन्य व्यक्तिहरूको संलग्नताबारे केही पत्ता लागेको छैन।
कुराकानीका क्रममा नेपालबाट पैसा पठाइदिएबापत जम्मा रकमको १५ देखि ३५ प्रतिशत कमिसन दिने लोभ देखाउँछन्। ‘नियमित कुराकानीमा क्रममा उनले पाँच अर्ब पैसा निकाल्ने र सो रकम हुण्डीबाट पठाउन अनुरोध गर्छन्,’ प्रहरी नायब उपरीक्षक दाहालले भने, ‘त्यसबापतको कमिसन पाउने लोभमा यिनीहरूले काम गरेको देखिन्छ।’
कुराकानीको भिडिओ तथा अक्षर अनुसन्धान भइरहेको छ। ह्वाट्सएपमा पिटरले नेपालका बैंकहरूबाट पाँच अर्ब निकाल्ने कुराकानी गरेका छन्।
पक्राउ परेकालाई बैंकिङ कसुर तथा संगठित अपराधमा अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घ अर्यालका अनुसार लहान शाखाबाट झिकिएको रकम साउन र भदौ महिनाको निक्षेपको ब्याज थियो।
प्रहरीका अनुसार पिटरले नबिल बैंकको सिस्टममा आक्रमण गर्न खोजेको देखिएको छ। नबिल बैंकलाई आफ्नो बैंकिङ सिस्टमबारे चनाखो हुन प्रहरीले सचेत गराइसकेको छ।
दाहालका अनुसार पिटरले प्रयोग गरेका मोबाइल नम्बर संकलन गरी अनुसन्धान थालिएको छ। पिटर बस्ने स्थान पहिचान गर्न प्रहरी लागिपरेको छ। कृषि विकास बैंकले सिस्टम ह्याक प्रकरणको अनुसन्धान गर्न टोली लहान खटाएको छ। प्रहरीले पनि लहान शाखाको कम्प्युटर परीक्षण गर्न टोली पठाएको छ।