पेप्सिकोला–काँडाघारी सडकखण्डको भर्खरै कालोपत्रे गरिएको बाटो। दक्षिणतिर झरेर खहरे नपुग्दै मूल सडकसँगै जोडिएको छ– एउटा निजी स्कुल।
बालवयका विद्यार्थीहरू चञ्चल छन्। कोही खेलिरहेका छन्। एकअर्कासँग हाँस्दै गफ गरिरहेका पनि देखिन्छन्। कोही शिक्षकले पढाएको पाठप्रति एकाग्र छन्। उत्सुक छन्। जिज्ञासु उत्तिकै।
आडैको अर्को घरमा पनि स्कुल छ। केटाकेटीहरू छन्। दृश्य भने अर्को स्कुलको भन्दा एकदमै भिन्न छ। एउटै कोठामा फरक–फरक उमेर समूहका केटाकेटी सँगै बसेका छन्।
किताब–कापी त परै जाओस्, आफ्नै शरीर सम्हाल्न हम्मे परेको देखिन्छ। कोही बोल्न सक्दैनन्। बोलेकाहरूले भनेको बुझिँदैन। कसैसँग आँखा जुधाउन पनि सक्दैनन्। बेन्चमा सँगै बस्नेसँग कुराकानी हुँदैन, बरु शिक्षिकाको आँखा नपरे झगडा गर्छन्। नभए आफ्नै गाला पड्काउँछन्।
कोही रोइरहेका, कोही भित्ता कोपरिरहेका छन्। कोही ढुन्मुनिँदै कोठाबाट बाहिर निस्कन्छन्। बाटोको अवस्था ख्यालै नगरी कुँद्छन्, फेरि उही बाटो फर्कन पनि जान्दैनन्। फर्कनुपर्छ भन्ने बुझ्दैनन्।
सँगै भए पनि सबै आ–आफ्नै सुरमा।
यो विशेष स्कुल तथा पुनःस्थापना केन्द्र 'एसएसडीआरसी' हो।
पहिलोचोटि केन्द्रमा पुग्नेलाई यो सबै देखेर अचम्म लाग्न सक्छ। 'सम्हाल्न' मुश्किल हुने केटाकेटी देखेर हैरानी हुन सक्छ।
स्कुल सञ्चालक सविता उप्रेती भने यी ४५ जना नानीबाबुप्रति गर्व गर्छिन्। उनीहरूको स्याहार–सुसारमा पटक्कै झिँझो मान्दिनन्। बरू खुसी र हँसिली देखिन्छिन्। सबैसँग घुलमिल हुन खोज्छिन्।
उनीमात्र होइन केन्द्रका तालिमप्राप्त 'थेरापिस्ट', परामर्शदाता र शिक्षकसमेत केटाकेटीको अस्वाभाविक अवस्था देखेर किञ्चित विचलित छैनन्। उनीहरूको सामाजिकीकरण र अन्तरसंवादमा विशेष चनाखो हुन्छन्।
सविताको मायालु स्पर्शले नानीबाबु खुसी हुन्छन्। उनलाई कसैले सविता भन्छन्, कसैले सवु, सवि, म्याम, मामु यस्तै यस्तै।
'बोल्नै नजानेको बच्चाले त जे भने पनि मीठो लाग्ने रैछ, छुच्ची भन्दा पनि खुसी लाग्छ, कमसेकम छुच्चो र ज्ञानी त छुट्याउन सके,' दंग पर्दै सुनाउँछिन् सविता।
एसएसडीआरसी अटिजम भएका केटाकेटीहरूको स्कुल र पुनःस्थापना केन्द्र हो। विकसित मुलुकहरूमा अटिजमका शारीरिक, मानसिक, संवेगात्मक जटिलताबारे धेरै अध्ययन भइसकेको छ। नेपालमा भने अटिजमको पहिचान भर्खरै भएको सविता बताउँछिन्। पहिले यो मानसिक अपांगताको कोटीमा राखिएको थियो। सन् २०१७ मा मात्रै यसले अपांगताको नवौं प्रकारमा समावेश हुँदै अलग्गै परिचय पाएको हो । तथ्यांकअनुसार हरेक ६८ जना बच्चामध्ये एउटा बच्चामा अटिजमको लक्षण देखिन्छ। त्यसमा पनि छोराको अनुपात पाँच गुणा बढी छ।
अटिजमले छुट्टै पहिचान पाए पनि बेग्लै स्याहार केन्द्र भने छैनन्। सिकाइ र पठन केन्द्र पनि छैनन्। यसले गर्दा अटिजम भएकाहरूको अवस्था सुधारोन्मुख छैन। अभिभावकले बुझ्न सकिरहेका छैनन्, पर्याप्त छलफल र बहस पनि भएको छैन।
एक साताअघि सार्वजनिक भएको एउटा तस्बिरले भने धेरैको ध्यान खिच्यो। अटिजमलाई चासो र कौतूहलताको विषय बनाइदियो।
बबरमहलस्थित कला परिषदको हलमा फोटो पत्रकार संघले 'बहुभाषिक परिवेशमा साक्षरता अभिबृद्धि' फोटो प्रतियोगिता गरेको थियो। प्रतियोगितामा अटिजम भएका सुव्रत काफ्ले र सविताको फोटोले सबैलाई पछि पार्यो।
प्रतिस्पर्धी ६ सय ३६ फोटामध्ये १६ वर्षीय किशोरले शिक्षिकाको आँखामा हेरेर गाला सुम्सुम्याउँदै गरेको उक्त फोटोमा झलक्क हेदा नौलो कुरा छैन। नियालेर हेर्ने हो भने फोटोमा सुव्रत अटिजमसँग संघर्ष गरिरहेका देख्न सकिन्छ। पढ्न लेख्न, हिँडडुल गर्न समेत नसक्ने उनी शिक्षिकासँग आँखा जुधाएर कुरा गर्न सक्थेनन्।
'उसको जीवनमा आएको सुधारात्मक कुराका प्रमाण नै फोटो हो,' तस्बिर भाव अर्थ्याउँदै सविता भन्छिन्, 'क्लासवर्क गरिसकेपछि मैले दिएको स्याब्बासीवापत उसले मलाई व्यक्त गरेको सांकेतिक खुसी फोटोमा भेटिन्छ।'
सुव्रतको आनीबानीमा सुधार देखिएपछि केही समयअघि मात्रै उनले केन्द्र छोडे। सविताका अनुसार आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने काम कुरा गर्न सक्षम भएपछि उनी फर्किएका हुन्।
'यस्ता केटाकेटीलाई हाँसो, खुसी, दुःख, सुख, रिस, आवेग अभिव्यक्त गर्न कठीन पर्छ। लगातार निगरानीमा राखेर विशेष स्याहार गरेपछि मात्रै आनीबानी, रूचि थाहा पाउन सकिन्छ,' उनले थपिन्।
सविताले पनि यी कुराहरू एकैदिनमा थाहा पाएकी कहाँ हुन् र! पहिले त उनलाई यस्ता केटाकेटी चिन्नै समय लाग्यो।
'बच्चा गर्भमा हुँदा नै उसको मानसिक अवस्थामा पर्ने प्रभाव वा चेतना विकासको एउटा अवस्था हो,' अटिजमबारे उनले भनिन् 'जसको लक्षण बच्चा ठूलो हुँदै गएपछि दुईदेखि तीन वर्षमा देखिँदै जान्छ।'
अटिजममा लक्षण व्यक्तिपिच्छे फरक–फरक हुन्छन्। तर सामाजिकीकरणको समस्या, दोहोरो कुराकानी गर्न नसक्ने र एउटै क्रियाकलाप दोहार्याउने अटिजमका साझा लक्षण हुन्।
धेरैजसोमा बौद्धिक अपांगता पनि देखिन्छ। तर सबैमा होइन। यस्ता बच्चामध्ये कोही कोहीमा अद्वितीय क्षमता हुने पनि सविता बताउँछिन्। मानिसहरूलाई यसबारे बुझाउनै कठीन भएको सविताको अनुभव छ। मानसिक कमजोरी भएकालाई पढाएर के हुन्छ र, भन्नेहरूलाई सविता राम्रै उदाहरण दिन्छिन्।
'अल्वर्ट आइस्ट्यान, विल गेट्स, मेसी आदि पनि अटिजम हुँदाहुँदै आ–आफ्ना क्षेत्रमा अब्बल भए,' उदाहरण दिँदै सविता भन्छिन्– 'हामीले पनि धेरैलाई सुधार गरेर पठाएका छौं।'
आँखा जुधाएर हेर्नै नसक्ने, एक वाक्य पनि बोल्नै नसक्ने बच्चाले कसरी आधारभूत कुराहरू सिक्छन् त?
केन्द्रमा अटिजम तथा बौद्धिक अपांगता भएकाहरूलाई विशेष स्याहार र पुनःस्थापनाको व्यवस्था छ। सबभन्दा पहिले बच्चा कुन अवस्थामा छ भनेर निदान (डायग्नोसिस) गरिन्छ। झण्डै १५ दिन चल्छ यो प्रक्रिया।
त्यसपछि बच्चाको अवस्था र लक्षण हेरेर अति प्रभावितलाई 'डी', कम प्रभावित 'सी', प्रभावित 'बी' र साधारणलाई 'ए'मा वर्गीकरण गरिन्छ।
त्यसो त यी चार समूहलाई सुधारको चरणका रूपमा पनि लिइन्छ। 'डी'बाट सुधार भएर आएकालाई क्रमशः 'सी' र 'बी'मा ल्याइन्छ। 'ए'मा आएको केही समयपछि अरू केटाकेटीसरह पढ्नलेख्न सक्ने र साधारण स्कुलमै लैजान मिल्ने सविता बताउँछिन्।
उनका अनुसार केन्द्रबाट सुधारात्मक अवस्थाबाट फर्किएका २ सय ८० मध्ये २६ जना बालबालिका साधारण स्कुलमा पढ्न थालिसकेका छन्। कोही सीप सिकेर समाजमा पुनःस्थापित हुँदैछन्।
'कुन अवस्थाको बच्चा हो, क्रियाकलाप कस्तो छ, कुन कुन अंग राम्ररी चल्छन् भनेर समस्या पहिचान गर्छौं। त्यहीअनुसार कसरी चप्पल फुकाल्ने र लगाउनेबाट सिकाइ सुरू गर्छौं,' सिकाइ प्रक्रियाबारे उनले जानकारी दिइन्।
केन्द्रमा उनीहरूलाई चप्पल–लुगा, लगाउन, फुकाल्न, खाना खान, रङ र दैनिक आवश्यकताका वस्तु चिन्न, सामान्य वाक्य फुटाउन आदि सिकाइन्छ। दैनिक तालिका बनाएर सिकाइने भएकाले समय हेर्न र समयसँग चल्न पनि सिक्छन्।
'यस्ता बच्चाहरूलाई विशेष माया र हेरचाह आवश्यक पर्छर बारम्बार सञ्चारसंवाद प्रक्रियामा ल्याउनुपर्छ,' सविता भन्छिन् 'भावना व्यक्त गर्न नसक्दा उनीहरू दुःखी बन्छन्। यहाँको सिकाइले यस किसिमको क्षमता विकासमा मद्दत पुर्याउँछ।'
केन्द्रमा ठूला घरानियाकादेखि निम्नवर्गीय परिवारका र अनाथ बच्चाहरूले स्थान पाएका छन्। विशेष उपचार र सिकाइपछि बालबालिकाको जीवन सहजमात्र भएको छैन, पुनःजन्म नै पाएका छन्।
पछिल्लो समय यहाँ बालबालिका राख्न समय पर्खनुपर्ने अवस्था छ। श्रोतसाधनको सीमितताले यो अवस्था आएको सविता बताउँछिन्।
'हाम्रो आर्थिक स्रोत अभिभावकले गर्नु भएको सहयोग नै हो जुन सीमित छ,' उनी भन्छिन् ।
समाजले यति जटिल मानेको विषयसँग उनी कसरी जोडिइन् त? सविताले बारम्बार सामना गर्ने प्रश्न हो यो।
दोलखाको नाम्दुबाट काठमाडौं भित्रँदै गर्दा उनीसँग सपनाका अनेक लहर थिए। दशकअघि सामान्य स्कुलको शिक्षिका थिइन्। 'ठूलो मान्छे' बन्ने सपना झाँगिदै थियो। राष्ट्रिय अपांग कोषमा केन्द्र व्यवस्थापन अधिकृतको जागिरले थप सहयोग गर्यो।
जागिरको सिलसिलामा विभिन्न ठाउँमा डुल्नुपर्ने। झन्झटिलो थियो। तर त्यही झन्झटिलो जागिर उनको जीवनको 'टर्निङ प्वाइन्ट' बन्यो।
२०६४–०६५ सालतिरको कुरा हो। उनी जडिबुटीस्थित सुकुम्बासी बस्तीमा दुई महिनादेखि धाइरहेकी थिइन्। अपांगता भएकाहरूका लागि 'काउन्सिलिङ' चलिरहेको थियो।
तर आमाबुबा भएको घर भेटिनै मुश्किल।
'केटाकेटीहरू एक्लै घरमा बसेर धेरै पटक दिसापिसाव खाएको दृश्य प्रत्यक्ष देखियो,' उनले सुनाइन्।
ती दृश्य भयावह थिए, तै पनि उनले ठोस केही गर्न सकेकी थिइनन्। मनमा एक किसिमको उकुसमुकुस भने चलिरह्यो। त्यस्तैमा एकदिन उनको आँखामा अर्को दृश्य पर्यो।
फोहोरको थुप्रोमाथि बसेर एक अवोध बालक फालिएको पुस्तकमा अक्षर चिन्न खोज्दै थियो। उसलाई न दुर्गन्धको पर्वाह थियो, न बाहिरी दुनियाँको मतलव।
'त्यो दृश्यले मलाई धेरै दिनसम्म पिरल्यो, मन कुँडियो,' विगत सम्झँदै उनले सुनाइन्, 'मलाई लाग्यो समाजमा आफ्नो भूमिका खोज्ने होइन देखाउने हो, जुन समय आइसकेको छ।'
अटिजमबारे उनी आफैं अनभिज्ञ थिइन्। विभिन्न माध्यमबाट जानकारी लिँदा नौलो विषय बन्यो। नेपालमा यस्ता समस्या भएका केटाकेटी धेरै छन् भन्ने प्रारम्भिक अध्ययनले देखायो।
लगत्तै दुई जना बालकसँग उनले काम थालिन्।
यात्रा सहज भने भएन। पढेलेखेकाहरूलाई नै अटिजम भन्ने शब्द नौलो थियो। फेरि अभिभावकले आफ्नो बच्चामा कमजोरी भएको स्वीकार्न मान्दैनथे।
अटिजम भएका बच्चाहरू खोज्न घरघर जाँदा 'किन आएको? मानसिक अपांगता भएका बच्चालाई के पढाउनु, के सिकाउनु' भनेर फर्काइदिन्थे। बच्चा लगेर बेचबिखन गर्छन् कि भन्ने डर पनि अभिभावकहरूलाई हुन्थ्यो।
सविता हार मान्थिनन्। महिनौं लगाएर अभिभावकलाई सम्झाएपछि वातावरण केही सहज बन्दै गयो।
ढिलै भए पनि समस्या पहिल्याउन सकेकोमा सविता खुसी छिन्। विभिन्न उपचार पद्धतिमार्फत् यस्ता बच्चाहरूको जीवन सहज बनाउने उनको प्रयास जारी छ।
'झन्झट, हैरानी, रिस, आवेग भन्ने कुरा त बिर्सिसकेँ मैले,' कक्षाका केटाकेटी देखाउँदै उनले थपिन्, 'मैले यिनीहरूको हैन, यिनीहरूले मेरो जीवन बदलेका छन्।'