येँया अर्थात् इन्द्रजात्राकाे मुख्य आकर्षण हाे पुलुकिसी।
पुलुकिसी काठमाडौंमा मात्र नाच्दैन। भक्तपुरमा पनि छ। त्यहाँको पुलुकिसी अलि भिन्न छ।
काठमाडौंमा सेतो हात्ती ‘पुलुकिसी’ हुन्छ भने भक्तपुरमा निलो हात्ती। यहाँ काठमाडौंमा जस्तो इन्द्रजात्राभर पुलुकिसी देखाइँदैन। जात्राको अन्तिम दिन मात्रै देखाइन्छ। बुधबार त्यसकाे प्रदर्शन गरिएकाे थियाे।
संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरको पुलुकिसीसँग जोडिएको कथा पनि काठमाडौंको भन्दा बेग्लै छ।
इन्द्रकी आमा बसुन्धरालाई ब्रत गर्न पारिजात फूल चाहिएको हुन्छ। भक्तपुरको कथामा इन्द्र आफैं फूल लिन जादैँनन्। छोरा जयन्तलाई पठाउँछन्। किसानको बारीमा फूल चोर्दा समातिन्छन्।
‘इन्द्रजात्रामा भक्तपुरका टोलटोलमा ‘यम द्यःचा’ उठाइन्छ। यो भनेको फूल चोरी गर्ने जयन्तलाई बाँध्नु हो,’ धौभडेलले भने, ‘काठमाडौंमा भने त्यसरी नै लिंगो (यः सीं) उठाइन्छ। त्यो भनेको पनि इन्द्रलाई बाँध्नु हो।’
छोरा जयन्त समातिएपछि राजा इन्द्रले बाहन हात्ती पठाउँछन्। भक्तपुरको पुलुकिसी यही निलो हात्ती हो।
पुलुकिसी बाँसको मान्द्रोले बनेको हुन्छ। मान्द्रोको अर्थ ‘पुलु’ हो। ‘किसी’ भनेको हात्ती। हात्तीलाई लुगा लगाएर सूँड हालिन्छ। पुलुकिसीमा हात्तीको सूँड कसैले छोयो भने बिरामी परिन्छ भन्ने मान्यता छ।
काठमाडौंमा दुई जनाले बोक्ने पुलुकिसी भक्तपुरमा चार जनाले बोक्छन्। यसको शरीरभित्र एक जना बसेको हुन्छ। त्यो मान्छेको जिम्मेवारी हात्तीको सूँडनिरको घन्टी बजाउँदै हिँड्नु हो।
धौभडेलका अनसार इन्द्रका छोरा समातिएका समयमा राक्षसहरूको राज्य थियो। यो घन्टी बजाउनुको अर्थ राक्षसलाई खोज्दै जानु हो।
भक्तपुरको इन्द्रजात्रामा राक्षस (मुपात्र) पनि निकालिन्छ। यसका दुई मन्त्री हुन्छन्। पुलुकिसीले राक्षसलाई देख्यो भने कुल्ची-कुल्ची मार्न पाउने नियम छ। त्यसैले, पुलुकिसी र मुपात्रको भेट नहुने गरी इन्द्रजात्रा व्यवस्थापन गरिएको हुन्छ।