मिथिला चित्रकलाका लागि प्रसिद्ध मानिने जनकपुरधामको नारी विकास केन्द्र आर्थिक अभावका कारण दयनीय अवस्थामा पुगेको छ।
बजारमा सस्तो र नक्कली सामान प्रयोग गरेर बनाइएका मिथिला चित्रकला पाउन थालेपछि नारी विकास केन्द्रमा बनाइएका सामान बिक्न छाडेको केन्द्रका प्रबन्धक सतिश साहले बताए।
सामान बिक्न छाडेपछि केन्द्रको अवस्था दयनीय बन्दै गएको हो।
उनले भने,‘बजारमा नक्कली रङ प्रयोग गरिएका मिथिला चित्रकला सस्तोमै पाइन्छ जसकारण यहाँ बनाइएको चित्रकलाको माग घटेको छ।’
कुनै समय ४० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने केन्द्र अहिले आएर वर्षभरिमा मुश्किलले १० देखि १२ लाखसम्मको कारोबारमा सीमित भएको छ।
केन्द्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नाम कमाए पनि अहिले आशा गरे अनुरूप काम समेत अगाडि बढाउन नसकेको केन्द्रका प्रबन्धक सतिश साह बताउँछन् ।
केन्द्रको आर्थिक अवस्था दयनीय बन्दै गएपछि त्यहाँ काम गर्दै आएका कामदार समेत समस्यामा परेका छन्।
कुनै समयमा ८५ जना महिला चित्रकार काम गर्ने यस केन्द्रमा अहिले ४० जनामात्र काम गर्छन्।
केन्द्रबाट बनाइएका चित्रकलाको माग नै घटेपछि आर्थिक अभाव भएको प्रबन्धक साहको दाबी छ ।
विदेशी नारी क्लेयर वर्करको पहलमा स्थापना भएको नारी विकास केन्द्र स्थानीय नारीहरूको कला प्रदर्शन गर्ने महत्वपूर्ण थलोको रूपमा रहँदै आएको छ ।