१२ वर्षमा प्रदर्शन हुने कीर्तिपुरको बाघभैरव नाच (गथु प्याखँ) को जग्गा स्थानीय खाजाघर 'नेवाः लहना'ले मिचेको भन्दै गुठीयारहरू आक्रोशित भएका छन्। खाजाघरको भवन निर्माण क्रममा नाचघरको जग्गा पनि मिचिएको गुठीका नाइके अर्जुन मालीको भनाइ छ।
‘पहिले पनि भर्याङका लागि भनेर हाम्रो जग्गा लिएको थियो। टोलको लागि भोज घर बनाउने भनेपछि सबैका लागि हुन्छ भनेर हामीले पनि दियौं,’ उनले भने, ‘अहिले त हामीसँग सल्लाह नै नगरी सार्वजनिक जग्गा न हो जसरी पेलेको पेल्यै छ।’
०७२ सालमा पछिल्लो पटक बाघभैरव नाच प्रदर्शन भएको थियो। अर्को पटक ०८४ मा यो नाच प्रदर्शन हुनेछ। भैरव, बाराही, काली लगायतका ११ पात्रद्वारा नाचिने यो नाचमा माली समुदायको भूमिका हुन्छ। त्यसबीचको अन्तरालमा प्रत्यक वर्ष 'नेवाः लहनाले मिचेको जग्गामा नाच प्रशिक्षणबाहेक श्रीपञ्चमीमा भोज र पुस महिनातिर ‘माल्खो देसी’ भन्ने नाच सम्बन्धी पूजा पनि हुने' नाइके मालीले बताए। ती सबै कार्य गुठीको एक आनाभन्दा पनि कम जग्गामा हुन्छ।
जग्गाको क्षेत्रफल सानो भए पनि त्यसको महत्व बढी छ। त्यस्तो महत्वपूर्ण ठाउँमा भोज घर बनाउने भन्दै भट्टी पसल अनि फोहोर फाल्ने ठाउँजस्तो बनाएको पहिलेदेखि नै गुठीयारहरूको गुनासो छ।
‘करिब १५ वर्षदेखि लहनासँग हाम्रो खाली कचकच मात्रै गइरहेको छ। अहिले पनि जबरजस्ती निर्माण कार्य हुँदैछ। त्यस्तै हो भने नाच चलाउनै हामीलाई मुस्किल हुन्छ,’ उनले भने।
यही विषयमा वडा नं एक कार्यालयमा सरोकारवालासँग छलफलसमेत भएको थियो। पहिले नै वडा कार्यालयमा लिखित जानकारी गराउँदा पनि सुनुवाइ नभएको र नाचको संरक्षणमा स्थानीय सरकारले बेवास्ता गरेमा आफूहरुले परम्परा नै छोडिदिने धारणा राखेका थिए।
वडा अध्यक्ष हर्षमान महर्जनले विवादको विषयमा अध्ययन र स्थलगत निरीक्षण गरी टुंग्याउने बताए।
‘अहिलेलाई हामीले लहनाको काम रोक्का गरेका छौं। दुई–तीन दिनमा यसको छिनोफानो हुन्छ,’ उनले भने।
सबै तस्बिरहरु: नारायण महर्जन