कथा, किंबदन्ती र रोचक प्रसंगहरू येँया (इन्द्रजात्रा) का विषेशता हुन्। त्यसमा इन्द्र, इन्द्रकी आमा, ऐरावत हात्तीदेखि स्वर्गका कथा हुने नै भए।
यिनैमध्ये इन्द्रकी आमा अर्थात् 'दागीं' सँग अघिल्लो वर्ष मेरो चिनाजान भएको थियो। पुर्ख्यौली घर नरदेवी भएका मंगलमान डंगोल दागीं बनेको भने यसपालि २४ औं पटक हो।
चिनजानका आडमा ठट्यौली पारामा उनलाई सोधेकी थिएँ, 'यो पटक मलाई पनि स्वर्ग लानु हुन्छ?'
स्वर्ग अर्थात्, इन्द्रदहसम्मको यात्रा।
किंबदन्तीअनुसार आमाको व्रतलाई चाहिने पाल्जा स्वाः (पारिजातको फूल) खोज्दै इन्द्र काठमाडौं आइपुगेका हुन्छन्। एक किसानको घरमा फूल चोर्न लाग्दा स्थानीयले समाउँछन्। उनलाई बाँधेर जात्रै गर्छन्। त्यसपछि बहान ऐरावत हात्ती इन्द्र खोज्दै आउँदा स्थानीयले त्यसलाई पनि समातेर राख्छन्।
पछि आमा वसुन्धरा (दागीं) आफैं आउँछिन्। छोरा इन्द्रलाई छुटाउन उनले स्थानीयलाई खेतीपातीका लागि कुहिरो ल्याउने र स्वर्ग पुयाईदिने बाचा पूरा गर्नुपर्ने हुन्छ। दागींका अनुसार इन्द्रदहमा नुहाउँदा स्वर्ग पुगिने हुन्छ। यही विश्वासका साथ बर्सेनि मानिसहरू चन्द्रागिरिस्थित इन्द्रदहसम्म पुग्छन्। त्यहाँ नुहाउछन्, पूजाआजा गर्छन्।
दागीं बनेका मंगलमानको यात्रा पनि इन्द्रदहसम्मकै हो। तर उनी दुई वर्षयता जान पाएका थिएनन्। यो वर्ष कीर्तिपुर नगरपालिकाले बसको व्यवस्था गरिदिएपछि उनी पुगे। त्यही मौका हामीले छोप्यौं।
इन्द्रदह पुग्नुअघि दागींले कुमारी, भैरव र गणेश घुमेको तल्लो टोलको यात्रा गर्नुपर्छ। यात्राक्रममा दाजुभाइले उनका दुई हात दुईतिरबाट समाउँछन्। दागींसँगै वर्षभरि दिवंगत भएकाहरूको परिवार नौथरी गेडागुडी छर्दै हिँडेका थिए। दागींको पछि हिँड्दा स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सियोस् भनेर छरिएको भन्ने भनाइ छ। दागींसँगै यसरी हिँड्न नसक्नेका परिवारजन भने बिहानै उनको पुरानो घर नरदेवीमा 'पूजा दिन' आएका थिए।
दागीं बनेर निस्कनु अगाडि हामी मंंगलमानलाई भेट्न मरुगणेशस्थानस्थित लुकुफाल्चा पुगेका थियौं। दिनभर निराहार बसेका उनी केही दिनदेखि ज्वरोले थलिएका थिए। बिरामी देखिन्थे।
कसरी हिँड्लान् यत्रो बाटो?
अघिल्लो वर्ष उनले भनेका थिए, 'दागींको लुगा र मुकुट लगाएपछि मलाई अरू केही थाहै हुँदैन। एक किसिमको बेग्लै शक्ति आउँछ।'
सायद त्यही शक्ति मंगलमानको शरीरमा सञ्चार भएको छ।
शुक्रबार कुमारी, भैरव र गणेशको रथ यात्रा सक्किँदा रातको साढे दस बजिसकेको थियो। त्यसपछि बाजागाजासहित दागीं मंगलमान लुकुफाल्चाबाट निस्किए।
उनी गणेशथान प्याफल, याट्खा, टेंगल, बांगेमुडा, असन, इन्द्रचोक, हनुमानढोका लगायतका टोल परिक्रमा गर्दै गर्दा त्यहाँ बौमतः लग्ने तयारी हुँदै थियो। न्यापकट्टी भनिने निगालोजस्तो बाँसलाई सर्पझैं लस्कर लगाएर राखिएको थियो। ठाउँ–ठाउँमा गोबर टाँसेर त्यसमाथि दियो बालिएको थियो। यसलाई पाचँवटा मानन्धर टोलले बनाउने चस्वाँदु मानन्धर समूहका एक गुठीयारले जानकारी दिए।
उनका अनुसार बोमतःलाई नागराजकै प्रतीकका रुपमा निर्माण गरिएको हुन्छ। सबभन्दा माथिको टाउको लायकुसा, घाँटी न्हुँसा, शरीर फल्चासा, बीचको भाग देसाः र पुच्छर चस्वाँदु मानन्धर टोलले बनाएका रहेछन्। आ–आफ्नो टोलमा बनाएर काष्ठमण्डप छेउ राखेर त्यसलाई लामो सर्पजस्तो आकारमा जोडिएको थियो।
गणेशथान हुँदै माथिल्लो टोल परिक्रमा गरेर दागीं काष्ठमण्डपबाट ठ्याक्क कटेर जैसिदेवल, लगन लगायत ठाउँ परिक्रमा गर्दा बौमतःलाई गणेशथानको परिक्रमा गराउँदै दागीं पहिले हिँडकै बाटो बाजागाजासहित हिँडाइयो। बौमतः र दागीं भेट हुन नहुने विश्वास पनि छ।
'दागींले करिब आधा बाटो हिँडेपछि मात्रै बौमतः हिँडछ। किन?'
स्थानीय सन्देश मुनिकारले यो प्रश्नको सन्तोषजनक जवाफ दिए। उनका अनुसार रातमा दागीं र उनीसँगै पछि लाग्ने दिवंगतको परिवार दिनभर भोकै हुन्छन्। त्यसकारण उनीहरू बाटोमा कमजोरीका कारण ढल्ने सम्भावना हुन्छ। बौमतःले बाटोमा कोही ढलेका पो छन् कि भनेर खोज्दै हिँड्ने रहेछ। हामीले अहिले देख्ने 'रेडक्रस' जस्तो बौमतःले तिनीहरूको उद्धार गर्छन्।
दागीं बत्तिँदै सहर परिक्रमा गर्दै थिए, बौमतःको गति ठ्याक्कै उल्टो। बाजागाजाको पछिपछि चारैतिरबाट बाँस समाउँदै बत्ती निभ्लाझैं मानिसहरू बिस्तारै हिँडाउँदै थिए।
दागीं र बौमतः हेर्न टोलटोलका मान्छे रातभर नसुतेर जागै थिए। झन् सुस्तरी हिँडेका बौमतः टोलीले रातको कति बजाए होला!
हामीलाई त इन्द्रदह जान हतार भइसकेको थियो। करिब १२ बजेतिर दागीं सहर परिक्रमा गरेर लुकुफाल्चा फर्किसकेका थिए। करिब साढे एक बजेतिर बल्ल इन्द्रदहको हाम्रो यात्रा सुरू हुने भयो। त्यसका लागि परोपकार केन्द्रनजिकै सात वटा बसहरू लाम लागेका थिए, सर्पझैं।
हाम्रो बस कहिले बौमतः जसरी सुस्त त कहिले दागीं जस्तै बत्तियो।
दिउँसो पानी परेकाले हिलो अनि चिप्लो बाटोका कारण यात्रा सहज पक्कै भएन। नैकाप पुग्दानपुग्दै अगाडि बढ्नै नसकेपछि आधा उकालो लागिसकेको बस ओरालो झर्यो। अनि अर्कै बाटो समायो।
यसरी घुमाउरो, चिप्लो, भिरालो बाटो कट्दै करिब दुई घण्टामा स्विटजरल्याण्ड पार्क भनिने ठाउँ पुगेपछि बस रोकियो। त्यसपछिको बाटो झनै खराब भएकाले हामीले इन्द्रदहसम्म पुग्न करिब आधा घण्टा हिँड्नु पर्यो।
यिनै यात्राका सकसबीच एक जना बुढा मान्छेले भनेको सम्झिएँ, 'पहिले पहिले त काठमाडौंदेखि नै हिँडेर इन्द्रदह पुग्नु पर्थ्यो। अहिलेजस्तो बत्ती हुँदैन थियो। चिप्लेर खस्यो कि सिधै स्वर्ग।'
इन्द्रले पुर्याउने स्वर्ग र बाटोबाट खसेर पुगिने स्वर्गको विषयमा बाटोभरि चर्चा भइरह्यो।
करिब १२ किलोमिटर पार गरेर ३ बजेतिर इन्द्रदह पुग्दा चन्द्रागिरि नगरपालिका वडा नम्बर एकका अध्यक्ष राजेन्द्र केसीसहित स्थानीय हामीलाई टीका लगाएर स्वागत गर्न उत्सुक देखिन्थे। दुई वर्षदेखि टुटेको यात्राको पुनः सुरुआत भएकोमा खुसी थिए।
इन्द्रदहमा भव्य मेला नै थियो। रातभर जागा पसलहरू, पूजारी र तिर्थारुहरू। त्यहाँ पुगेर मानिसहरू नुहाउन र कुण्डको पानीले मुख धुन थाले। मान्छेको हुलमुलमा दागीं बनेका मंगलमान कहाँ हराए कहाँ, यताउता हेर्यौं, फेला परेनन्।
किंबदन्ती नै छ- दागीं जीवित रहेका मान्छेलाई स्वर्ग लान नमिल्ने भएपछि त्यहीँबाट चलाखीपूर्वक भाग्छन्।
यहाँदेखि गएका मान्छेहरू नुहाउने क्रम चलिरहँदा नगरपालिकाले दागीं बनेका मंगलमान लगायतलाई बोलाएर स्वागत कार्यक्रम गर्यो। त्यही बेला बल्ल उनलाई दहमा पहिलो पटक देख्यौं।
त्यसपछिको भेटमा फेरि उनलाई जिस्क्याउँदै भन्यौं, 'तपाईं त मरेका मान्छेलाई स्वर्ग लग्नुपर्छ भनेर भाग्नु पो भएछ कि भन्ठानेको!'
दहबाट फर्किँदै गर्दा डाँडाबाट तलतिर कुहिरोले बादलजस्तो बनाएको देखिन्थ्यो। सायद दागीं अर्थात् इन्द्रकी आमाले एउटा बाचा पूरा गरिन्- कुहिरो ल्याएर।
अब के मरेपछि स्वर्ग पुगिएला?