देशभर डेंगीको प्रकोप बढेको बेला प्रदेश २ विभिन्न जिल्लामा भने इन्फ्लूएंजाको प्रकोप बढेको छ ।
इन्फ्लूएंजाको प्रकोपबाट धनुषा, महोत्तरी, सिरहा लगायतका जिल्ला बढी प्रभावित भएका छन्।
जनकपुर अञ्चल अस्पतालमा इन्फ्लूएंजाका बिरामी दैनिक ४ सयदेखि ६ सयको हाराहारीमा आइरहेका अञ्चल अस्पतालका निमित्त मेसु एवं बालरोग विभागका प्रमुख डा. जामुन सिंह बताउँछन्।
सिंहका अनुसार अञ्चल अस्पतालमा इन्फ्लूएंजाबाट सबभन्दा बढी महिला र बालबालिका प्रभावित भएका छन्।
गत असारदेखि फैलिएको इन्फ्लूएंजाको प्रकोप अहिले पनि जारी नै रहेको निमित्त मेसु सिंहको भनाइ छ।
दैनिक सयौंको संख्यामा बिरामी पुग्दा अस्पतालको अवस्था समेत अस्तव्यस्त बनेको छ।
‘गत बुधबारदेखि नै छोरोलाई ज्वरो आइरहेको छ। अस्पतालमा बिरामी जचाउन समेत कठिनाइ भइरहेको छ’, छोराको उपचारका लागि पुगेकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ की पिंकी पाण्डेले भनिन्।
‘अस्पतालमा बिरामी राख्ने पर्याप्त बेड समेत छैन्, डाक्टर समेत आउँदैनन् समयमा। यसरी भुइँमै राखेर कति दिनसम्म उपचार गराउने हो कुन्नी!,’ उनले थपिन्।
दैनिक बिरामीहरूको संख्या बढ्दै गएको र पर्याप्त बेड नहुँदा बिरामीहरूलाई भुइँमा राखेर भए पनि उपचार गर्नुपरिरहेको डा. सिंहले स्वीकारे।
उनले भने, ‘दैनिक रूपमा इन्फ्लूएंजाका बिरामीहरू बढ्दैछन्, हामीसँग न त पर्याप्त जनशक्ति छ न त पर्याप्त ठाउँ नै तै जसोतसो उपचार गरिरहेका छौं।’
इन्फ्लूएंजाबाट प्रभावित भएका व्यक्तिमा लगभग १५ दिनसम्म ज्वरो आउने, रुघाखोकी लाग्ने गरेकाले उनीहरूलाई अस्पतालमै राखेर उपचार गर्न सम्भव नरहेको उनले बताए।
उनले अगाडि भने, ‘हामीले पुराना बिरामीहरूको दर्ता गर्दैनौं नयाँ बिरामीको संख्या दिनप्रतिदिन थपिँदै छ।’
जनकपुर अञ्चल अस्पतालमा अहिले धनुषा, महोत्तरीबाट इन्फ्लूएंजाका बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन्।