भोटाहिटीमा सडकछेउ रञ्जना लिपि कुँदिएको एउटा मण्डल छ।
वर्षभरि सवारी साधन गुड्ने भएकाले यो मण्डल छोपेर राखिएको हुन्छ। धेरैलाई त यहाँ मण्डल छ भन्ने पनि थाहै नहोला। येँया पुन्ही अर्थात् इन्द्रजात्रा सुरू भएसँगै यो मण्डलको ढक्कन खोलिन्थ्यो। नालादेखि वन यात्रा गरेर ल्याएको यःसिं (रुख) यही मण्डलमा राखेर पूजा गरिन्थ्यो।
यो पटक भने वडा कार्यालयले पूजा गर्ने समय हुँदासम्म पनि ढक्कन नखोलेको केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धरले बताए।
‘साइत हुँदासम्म पनि वडाले पूजा गर्नका लागि मण्डल खोलिदिएको छैन। त्यसैले हामीले त्यहीँ कृत्रिम मण्डल बनाउनुपर्यो,’ उनले झोक्किँदै सुनाए, ‘पटकपटक इन्द्रजात्रामा यस्तो हुँदै आएको छ। त्यस्तै हो भने हामी मण्डल नै सधैंका लागि बाहिरै राखिदिन्छौं।’
तत्कालीन नगरको पूर्वी प्रवेशद्वार भएकाले यःसिंलाई यहीँबाट हनुमानढोका प्रवेश गराइन्छ। मानन्धर समुदायलाई यःसिं भक्तपुरको नालामा रहेको यसिंगुँबाट ल्याएका हुन्।
आइतबार (भदौ १५) ११ बजेर ७ मिनेटको साइतमा उनीहरू गुरुजुको पल्टनसहित वन यात्रामा निस्किएका थिए। त्यही दिन राति ८ बजेर १ मिनेटको साइतमा बोका (दुगु)को बली दिएर यःसिंका लागि छानिएको सल्लाको रुखमा चोट लगाइएको थियो। नालाबाट तान्दै भदौ १७ गते भोटाहिटी पुर्याइएको थियो।
यःसिंलाई शुक्रबार बिहान ९ बजेर ३५ मिनेटको साइतमा भोटाहिटीबाट पूजा गरेर बाजागाजाका साथ नगर प्रवेश गराइँदैछ। भाद्र शुक्ल द्वादशी अथार्त भदौ २४ गते बिहान ९ बजेर १७ मिनेटको साइतमा हनुमाढोकामा इन्द्रध्वज फहराएर यःसिं ठ्डयाएपछि येँया सुरू हुन्छ।
त्यसै दिनदेखि सुरू हुने आठ दिन लामो येँयामा पुलुकिसी, मजिपाः लाखे, देवी नाच, महाकाली लगायत विविध गतिविधि हुन्छन्।