सुर्खेत र खोटाङमा सामूहिक रूपमा भएको गौहत्या र कुकुर हत्याविरूद्ध दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ।
बुधबार राजधानीको माइतीघर मण्डलामा पशुपंक्षीका हकअधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न व्यक्ति तथा संस्थाहरूले स्वत:स्फूर्त रूपमा सो कार्यक्रम आयोजना गरेका हुन्।
प्रदर्शनकारीले ‘जनावरप्रति गरिने निर्दयीताविरूद्ध आवाज उठाऔं’, ‘स्पिक अप फर दोज हु कान्ट स्पिक अप फर देमसेल्भ्स’,‘हेला होइन माया गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गेका थिए।
गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका तीन सय बढी गाईगोरू सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको फेला परेको थियो। त्यसमध्ये २४ वटा मरेका थिए।
सो घटनाबारे छानबिन गर्नको लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा मन्त्रालयका उपसचिव सागरमणि पाठकको टोली सुर्खेत पुगिसकेको छ।
त्यसैगरी, कुकुर मारेको आरोपमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरूद्ध उजुरी परेको छ।
निर्मम तरिकाले कुकुर मारेको भन्दै मेयर रिजालसहित नगरपालिकाका तीन कर्मचारीविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो।
गत शनिबार नगरपालिकाभित्र कुकुरलाई अमानवीय ढंगले मारेको भन्दै भिडिओ भाइरल भएको थियो। सडकमा रहेका कुकुरलाई टाउको र खुट्टामा लाठाले हानेर मारिएको भन्दै नगरपालिकाविरूद्ध सामाजिक सञ्जालमा पनि विरोध भएको थियो।
तस्बिरहरू :