खाली सिसी, बोत्तल, कागज...!
घाम जमिनमा परिसकेकै हुँदैन, मान्छेका कानमा यी शब्द पुग्न थाल्छन्। साइकल डोर्याउँदै आउनेका आवाजले काठमाडौंलाई अझै ब्युझाउँछ।
यी आवाजका सर्जक त्यति सुकिला देखिँदैनन्। न स्थानीय नै। प्रायः फोहोर हुलियामा देखिने उनीहरू सहर सफाइका बाहक हुन्।
फोहोरको थुप्रोमा होस् वा महानगरपालिकाको गाडीमा, फाल्न ठिक्क पारिएको कागज-बोतललाई मोहोरमा बदल्ने यी सफाइ बाहकहरूले सम्मान भने खासै पाउँदैनन्। कतिले गाली नै खान्छन्– बिहान-बिहान कत्ति कराएको? झर्को लागिसक्यो!
'सधैं सबैको यो अवस्था नरहला नि,' मुकेश यादव भन्छन्, 'हाम्रो पनि त अहिले दिन फेरिएको छ।'
केही समय भयो, मुकेश र केही सहकर्मीले यही काममा सम्मान पाउन थालेका।
भारत, मोतिहारीका ३६ वर्षे मुकेश २० वर्षदेखि काठमाडौंका गल्लीमा साइकल डोर्याइरहेका छन्। कवाड बटुलेर परिवार पालेका छन्। दुई दशकसम्म उनले कुनै सम्मान पाएनन्। अवहेलना कति हो कति।
यो दिनचर्यामा बदलाव आउला भन्ने उनले कल्पना समेत गरेका थिएनन्।
'पहिले मान्छेले बिहारी, मधिसे भन्थे। खाली सिसी, ओ भैया भन्दै निकै हेप्थे,' मुकेश भावुक हुन्छन्।
'तर अहिले त्यस्तो छैन। काम त्यही हो, सम्बोधन फेरिएको छ। अचेल हामीलाई पनि सर भन्छन्। चिया-पानी खाने भनेर सोध्छन्। कति खुसी लाग्छ यसरी सम्मान पाउँदा।'
मुकेश आफूहरू जस्ता धेरैको पहिचान सम्मानित भएको बताउँछन्। संकलित सामग्री र श्रमको पनि उचित मूल्य पाउन थालेको उनको भनाइ छ।
यो सबै सम्भव बनाएको हो–खाली सिसी कम्पनीले। काठमाडौंका गल्ली चहार्दै गर्दा उनको भेट खाली सिसी कम्पनीकी आयुषी केसीसँग भएको थियो। मुकेशलाई आयुषीले कम्पनीका लागि कवाडी उठाउन आग्रह गरिन्। पहिले त मुकेश अलमल परे रे। पैसाका बारेमा सोधे। गरिरहेको कामभन्दा बढी पाइने भएपछि तयार भए।
मुकेश भन्छन्, 'कम्पनीमा संकलकले सम्मान पाउँछन्। आत्मसम्मान बढेको छ। काम गर्न लजाउनु परेको छैन।'
कवाड संकलनसँग मुकेशको पुस्तैनी सम्बन्ध छ, त्यसैले यो पेसा विरासतमै पाएजस्तो उनलाई लाग्छ।
मुकेशका बुबा जयनारायण यादवले आधा जीवन काठमाडौंमै कवाड संकलन गरेर बिताए। मेट्रिक पास गर्दा पनि भारतमा काम नपाएपछि बाबु काम खोज्दै नेपाल हानिएका मुकेश बताउँछन्।
'रोजगारीको क्षेत्र व्यवस्थित नभइसकेको देश आएर झन् भनेजस्तो काम कहाँ पाउनु?,' काठमाडौं आउँदाको रोचक कथा मुकेशसँग पनि छ।
बुबा जयनारायणले वर्षौं काठमाडौंका गल्ली नापे। बेलाबखत मोतिहारी पुग्थे। उनीसँग काठमाडौंका अनेक किस्सा-कहानी हुन्थे। कति त दन्त्यकथा जस्ता! जसरी उति बेला 'बम्बै'बाट फर्किएका नेपाली ठिटाहरूसँग थरिथरिका कथा हुन्थे।
बुबाका कथाको संसारमा पुग्ने सपना मुकेशले पनि देखिसकेका थिए। केटाकेटी मनले सोच्यो- बुबा बसेको ठाउँमा म पनि पुग्ने हो।
०५३ सालमा १३ वर्ष लाग्दै थिए। हजुरआमाको गोजी मारे। ६० रुपैयाँ भारू मिल्यो। त्यति पैसाले काठमाडौं पुगिन्छ-पुगिँदैन, उनलाई थाहा थिएन। जे होस्, हानिए।
'त्यति छिट्टै भागेर नेपाल आउँथिन होला, समस्या थियो,' उनले केही बताउन खोजे।
आमालाई हृदयघात भएको थियो रे। उपचार गर्न पैसा थिएन। साहुसँग ऋण काढेर उपचार गर्नुपर्याे। अक्षर चिन्ने उमेरमा साहु-महाजन चिन्नुपर्याे।
'गरिब मान्छेको आमालाई हार्टअट्याक जस्तो विमारी भयो भने के गर्छ? लाखौं लाग्छ। कसरी जुगाड गर्नु? पैसा नै सबै चिज रहेछ जस्तो लाग्यो,' उनी सपनाको सहर काठमाडाैं आउनुको कारण खोल्छन्।
उनले कतै सुनेका थिए, 'बाप से बडा भैया, सब से बडा रुपैया।'
'त्यति बेला साहुसँग मागेर भए पनि पैसा जम्मा गर्न सकियो, तब न अहिले आमा छ' उनले भने।
सय रुपैयाँ चानचुन बोकेर काठमाडौं आइपुग्न मुकेशलाई निकै सकस भयो। सानो उमेरका उनलाई रेलमा अरू यात्रुले मानवीय व्यवहार देखाएनन्। न कसैले सहयोग नै गरे।
मुकेश हारेनन्। उनलाई काठमाडौं पुग्नै थियो। सोध्दै र खोज्दै काठमाडौं आइपुगे। धुम्बाराही उनको गन्तव्य थियो।
'त्यहाँ एक जना अंकलको कवाडखाना थियो। गएर झट्ट एक जनालाई सोधेँ, 'मेरो बाबुका नाम जयनारायण यादव है। म मिल्न आएको। यहाँ छन् कि छैनन्,' उनले सुनाए, 'उहाँ नै पो बुबा हुनुहुँदोरहेछ।'
छोरो आएकोमा खुसीभन्दा धेरै बाबुको अनुहारमा चिन्ता देखियो।
हप्काए- 'पढाइ छाडेर किन आएको?' नपढेर आफूजस्तै कवाडी बटुल्ने होला भन्ने पीर थियो बुबालाई।
बुबाको चर्को स्वर सुनेर केहीबेर मुकेश अताल्लिए।
पछि मुख खोले, 'बाद मे पढाइ। कर्जावाला व्याज खोज्न आउँछ, गाली गर्छ। पैसा छ भने सबकुछ छ। म काम गर्न आएको।'
केही दिनपछि बुबाले छोरो पढोस् भनेर नेपाली किताब किनेर ल्याइदिएका थिए रे। साहुको ऋणले पिरोलिएका मुकेशको किताबमा भन्दा बढी ध्यान पुरानो साइकलमा गयो जुन उनका बुबाले डोर्याउँथे।
बुबा कवाडको काम गर्छन् भन्ने थाहा थियो, तर कवाड भनेको के हो? कहाँ बसेर काम गर्ने? केही पत्तो थिएन। सबै नालीबेली बुझ्न धेरै दिन पनि लागेन।
एकदिन बुबाको पुरानो साइकल चोरेर 'कवाडी संकलन गर्न' भन्दै हानिए। अनुभव थिएन। फलाक्ने त हो, तर कहाँ-कसरी। यताउता भौंतारिएरै भए पनि पहिलो दिन बीस रुपैयाँ कमाए। दंग परे।
दिन यसरी नै बित्न थाले। कमाएको पैसा बुबालाई दिन्थे। गरिबीमा रुमलिएको परिवारमा पैसाले खुसी दिने नै भयो।
बुबाले भने, 'ल, तिमीलाई जे मनपर्छ त्यही गर।'
अनि त बाबुछोराले कमाएर ऋण तिरे। मुकेशको उमेर बढेसँगै बिहेको कुरा चल्यो। केटी हेरेनन् रे। मन नभएर भने होइन।
'पन्ध्र वर्षअघिको कुरा, चलनै त्यस्तो। बाबुले हेरिदिएपछि पुग्थ्यो,' उनले सुनाए।
केटाकेटीले एकअर्कालाई नदेखी ०६२ सालमा बिहे भयो। मुकेशले सोचेभन्दा राम्री श्रीमती पाएको बताउँछन्।
'सोचेकी थिइनँ, म जस्तो कवाड काम गर्नेलाई यति राम्री पत्नी मिल्न सक्छ,' उनी हाँस्दै श्रीमतीको नाम सुनाउँछन्- पिञ्चुदेवी।
यसैले होला, उनलाई आफ्नो काम निकै प्यारो लाग्छ रे!
'अरुले दिएको र घरमा भएको सम्पत्ति जति भए पनि पुग्दैन,' उनको बुझाइ छ, 'जुन काम गरेर रोटी खान पाइन्छ, त्यही काम ठूलो भयो नि हैन।'
सानैबाट नेपालीमाझ बसेका मुकेशलाई नेपालीहरू निकै सहयोगी लाग्छ।
'मलाई 'गरिब मान्छे, काम गरेर खाएको छ' भन्थे। तर पनि कवाडी काम गर्ने भनेर कसैले चाहिँ साह्रै हेपेर बोल्थे। मुखले केही नभन्ने तर नाक खुम्चाउनेहरू पनि हुन्छन्,' उनी सुनाउँछन्।
एकदिन यस्तै नराम्रो भयो।
कवाडीवाला होस् या घुमन्ते-फिरन्ते व्यापारी, चिच्याएर कराउँदै नहिँडेसम्म ग्राहकको कानमा पुगिँदैन। अलि धेरै करायो, घरवाला र टोलवासीको गाली।
धुम्बाराहीको एउटा गल्लीमा एकाबिहानै छिरेका थिए, चर्को आवाजमा बोल्दै। भर्खरै उठेर मुख धुन बरन्डामा निस्किएका बुढा मान्छेलाई उनको चिच्याहट मनपरेन।
'बिहान-बिहान तलाईं कसले दिन्छ कागज,' मुकेशलाई हप्काउँदै माथिबाट पानी खन्याइदिएछन्।
यो घटनाले मुकेशलाई धेरै दिनसम्म बिथोल्यो। स्वाभिमान दबिएको महशुस भयो। छाडेर हिँडू भन्ने पनि सोचे। फेरि हिम्मत जुटाए।
'अर्काको देशमा काम गर्न आएको छु, भने जस्तो हुँदैन। यति त सहनै पर्छ,' उनले आफ्नो संकलन गर्ने तौरतरिका बदल्ने प्रयास गरे।
बिहान सानो स्वरमा बोल्न थाले। बुढा बाको टोल पुग्दा चुपचाप हिँड्थे।
उसो त उनी भारतमै काम गर्न नफर्केका होइनन्। तर मन रमाउन नसकेको बताउँछन्।
'यहाँ सामान धेरै पाइन्छ, कमाइ पनि धेरै। दिल्लीमा यहाँ जस्तो बोतल पनि पाइँदैन,' उनको अनुभव छ।
खालीसिसी कम्पनीसँग जोडिएयता पछाडि फर्कनु नपरेको बताउँछन् मुकेश।
'अहिले धेरै राम्रो छ। कराउनु पर्दैन, कोही मान्छे रिसाउँदैन पनि। फोन-म्यासेज गरेर बोलाउँछन्। फलानो मार्गमा पुग्नुपर्यो भनेपछि जहाँ पनि पुग्न सक्छु,' उनको अनुहारमा खुसी देखिन्छ।
मिजासिला मुकेश एक ठाउँमा पुगेपछि प्रभाव जमाएर मात्रै फर्कन्छन् रे।
'पहिले त अफिसमा धेरै फोन आउँथ्यो, अहिले मलाई नै धेरै आउँछ,' कामको अनुभव सुनाउँदै भने, 'फोनमै 'के-के सामान छ छुट्याएर राख्दै गर्नू, म आइपुगिहाल्छु' भन्छु। सामान जोखेर पैसा र बिल दिन्छु। उनीहरू पनि खुसी हुन्छन्।'
कम्पनीको आधिकारिक व्यक्ति भएर कवाड लिन जाँदाको केही अनुभव सम्झँदा मुकेशलाई रमाइलो लाग्छ।
एकदिन उनी दूतावास पुगेका थिए।
'चाइनिज एम्बेसी होला। गार्डले एकसरो नियाले। मैले आफ्नो कार्ड देखाएँ। त्यसपछि गार्डले कुरा बुझे,' उनले सुनाए, 'ए आउनुस् सर, भनेर भित्र लगे। चिया-पानी सोधे। त्यस्तो त पहिले भएकै थिएन, खुबै आनन्द आयो। हामी जस्तो मान्छेलाई पनि सर भन्दा रहेछन् नि।'
त्यसयता प्रायः सबै दूतावास पुगिसकेका छन्। साधारण अंग्रेजी बोल्न र बुझ्न थालेका छन्।
'एउटै काममा अवहेलना र इज्जत हुँदो रहेछ। पहिले भैया-मधिसे भन्थे, अहिले सर भन्छन्। कोहीले दाइ-भाइ वा मुकेशजी पनि भन्छन्। घर, होटल, अफिस, पसल सबैतिर जान्छु। दुइटा बियरको बोतल लिन पनि गएको छु' उनी सुनाउँछन्।
कवाड काम गरेरै छोरालाई होस्टल राखेर पढाएका छन्। तीन सन्तानका बाबु मुकेशको चाहना छ- छोराछोरी पढून्, इमान्दार बनून्। सन्तानलाई आफ्नै कामको बाटोमा हिँडाउने मन छैन।
भन्छन्, 'मेरो लागि पो यो काम सबैथोक थियो, भोलि मेरा बच्चाका लागि अर्कै काम सबथोक हुन सक्छ नि!'