मिना देवीलाई घर र कार्यालयको जिम्मेवारीले भ्याई नभ्याई हुन्छ। उनी रौतहट दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ की सदस्य हुन्।
बिहान सक्दो चाँडै उठ्ने मिना घरको कामका साथै वडा कार्यालयको काममा समेत पोख्त हुने चाहना राख्छिन्। त्यसका लागि उनका श्रीमान् मोसाफिर दासले सक्दो सहयोग गर्छन्।
घरगृहस्थको जिम्मेवारी मात्रै सम्हाल्दै आएकी मिनालाई राजीनीतिमा ल्याउन पनि श्रीमान् मोसाफिर दासले नै सहयोग गरे।
मिना भन्छिन् ‘हुन त हामी दलित घरपरिवारमा महिलालाई कामका लागि पनि बिना कुनै बाधाअवरोध निस्किन दिइँदैन तर मसँग भने त्यस्तो केही भएन बरु मेरो श्रीमानले नै मलाई राजनीतिमा लाग्न, राजनीति जान्न सहयोग गर्नुभयो र मलाई सदस्यमा चुनाव लड्न सघाउनुभयो अहिले पनि म अफिसको कामका लागि बाहिर जाँदा उहाँले घरको जिम्मेवारी सम्हाल्नुहुन्छ।’
मोसाफिर दास पेशाले किसान हुन्। उनी आफ्नो र अर्काको खेत बटैयामा लिई खेतिपाती गर्ने गरेका छन् र उक्त कमाईले नै घरखर्च जोड्छन्।
हुन त मिनाले समेत मासिक ७ हजार पाउँछिन्। तर उनको पैसा दुई जना छोराको पढ़ाईमा खर्च गरिन्छ।
श्रीमान बिहान बेलुका चुल्हो बाल्ने जोहो गर्दछन् भने श्रीमती सन्तानको पढ़ाई खर्चमा सहयोग गर्छिन्। अर्थात् दुबै मिलेर परिवार चलाउँछन्।
‘खासै जग्गाजमिन त छैन, श्रीमानको कमाइले घर चलाउने गरेका छौँ र मेरो मासिक तलबले छोराहरुको पढ़ाई खर्च’ मिनाले भनिन्।
मिना आफू दलित भएपनि दलित परिवारमा महिलामाथि गरिने हेला र तिरस्कार नपाएकोमा भाग्यमानी ठान्छिन्। ‘गाउँमा सधैँ घुम्टोभित्रै रहेकी म अहिले मजस्तै दलित परिवारका अन्य महिला पनि राजनीति जानोस् प्रगति गरोस् भन्ने चाहन्छु’ उनले भनिन्।
तर यसका लागि पुरुष वर्गको सोच परिवर्तन गर्नुपर्छ भन्नेमा उनको जोड़ छ। उनले भनिन् ‘सबैभन्दा पहिले पुरुष वर्ग सकारात्मक हुनुपर्यो।’
मिनाको घर तत्मा टोलमा छ। दलितको टोल नै छुट्टै छ।
‘हामी दलितमा छोरालाई जे जति पढ़ाए पनि छोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान नै थिएन तर आफू महिला भएर पनि यतिसम्म अगाडि बढेपछि अहिले यहाँका छोरीहरु समेत पढ्न सुरु गरेका छन् उनीहरुका अभिभावक समेत छोरी पढ़ाउन सकारात्मक हुँदैछन्’ उनले भनिन्।
दलित भए पनि उनी जनजातिको आरक्षण कोटाबाट सदस्य बनेकी छन्। दलित महिला सदस्यमा अर्कैको उम्मेदवारी परेपछि उनले आरक्षित रहेको जनजातिको कोटामा उम्मेदवारी दिइन्।
‘कोटा रहे पनि वडामा जनजाति कोही नभएकाले श्रीमान् र वडाका अन्य व्यक्तिहरुको सरसल्लाहमा मैले नै उम्मेदवारी दिएँ र विजयी पनि भएँ’ मीनाले भनिन्।
मिनाको दुई छोरा छन्। जेठो सुभाष दास र कान्छो प्रकाश दास। सुभाष एसइई परीक्षामा दुई विषयमा अनुत्तिर्ण भएकाले त्यसैको तयारीमा छन् भने कान्छो प्रकाश स्थानीय सामुदायिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन्।
विद्यालयसम्म नहेरेकी मीना देवीलाई शिक्षाको महत्वबारे भन्नुपर्दैन, उनी छोराहरुको उच्च शिक्षाका लागि समेत प्रतिवद्ध छिन्। उनी भन्छिन् ‘आफू त विद्यालयको मुख पनि हेर्न पाइनँ तर छोराहरुलाई उच्च शिक्षासम्म पढाउँछु नै।’
उनले अगाडि भनिन् ‘घर त बलियो छैन्, छोराहरुलाई उच्च शिक्षा दिलाउन समस्या भए पनि पढाउनबाट पछाडि हट्दिन जसरी नि पढाउँछु नै।’