श्रीमानको आदेश बिना घर बाहिर एक पाइलासम्म नहिँड्ने रामराजी देवी दास अहिले आफ्नो स्वतन्त्रतामा पँखेटा लागेको महसुस गर्छिन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ कि दलित महिला सदस्य रामराजीलाई दुई वर्ष अगाडिसम्म राजनीति के हो भन्ने ज्ञान समेत थिएन। तर आजभोलि समस्या समाधान गर्दिनका लागि दर्जनौँ महिला उनकोमा जाने गरेका छन्।
उनलाई घरको समस्याभन्दा अचेल वडामा रहेका दलित महिलाहरुको समस्याले बढी पिरोलेको हुन्छ। त्यसैले उनी दलितहरुको समस्या लिएर अन्य ठाउँमा बढी भेटिन्छन्।
४५ वर्ष पार गरेकी रामराजी राजनीति गर्छु भन्ने कल्पना समेत गरेकी थिइनन्। तर मुलुक संघीयतामा गएपछि दलित तथा महिलाको राजनीतिका लागि उनलाई ढोका खुल्यो।
स्थानीय तहको चुनाव हुँदा जनकपुरधाम वडा नम्बर ७ मा दलित महिला सदस्यका लागि खोजी भईरहेको थियो। कोही नभेटिएपछि अन्ततः नवलकिशोर दासले आफ्नी श्रीमती रामराजीलाई दलित महिला सदस्यका लागि उम्मेदवारी दिन भने। रामराजी दलित महिला सदस्य भइन्।
रामराजी भन्छिन् ‘देशमा आएको परिवर्तनकै कारण आफूजस्तो पछाडि पारिएका दलित महिलाहरुलाई समेत राजनीति गर्ने अवसर प्राप्त भएको छ।’
राजनीति सुरु गरेको दुई वर्ष मात्रै भएको छ तर रामराजी पहिलेभन्दा आफूमा निकै परिवर्तन आएको महसुस गरिरहेकी छिन्।
उनले भनिन् ‘पहिले श्रीमानसँग बाहिर जान्छु भनेर बोल्ने हिम्मतसम्म हुँदैनथ्यो तर अहिले हजारौं व्यक्तिको भीडमा समेत बोल्ने हिम्मत ममा पलाई सकेको छ।’
पहिले घरबाहिर जान नदिने श्रीमान, सासु, ससुराले अहिले घरभन्दा पनि वार्डको समस्या समाधानमा ध्यान दिन भन्ने गरेको उनी बताउँछिन्।
‘दलित महिलाले मबाट धेरै अपेक्षा गरेका छन्, वडा कार्यालयमा मेरो सल्लाह सुन्नेहरु हुन्नन्, वडाध्यक्षसँग बैठकमै चर्काचर्की गर्नुपर्छ’ उनले भनिन्।
एक कक्षा पनि अध्ययन नगरेकी उनले लेखपढ नहुँदा पनि समस्या भोगेको महसुस गर्छिन्। अब भने दलितहरुलाई शिक्षाका लागि प्रेरित गर्ने उनको अठोट छ।
दलित महिला शिक्षा तथा सीपमूलक कार्यक्रम समावेश गराउनका लागि नगरसभामा पहल गरेकी छन्।
रामराजी दलितको समस्यालाई लिएर आफूले आवाज उठाइरहने बताउँछिन्।