तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा पक्राउ परेका छन्। कास्की प्रहरीले शुक्रबार वडाअध्यक्ष थापा सहित वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
यसअघि साउन २५ गते ८ जना पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । उनीहरुमाथि अनुसन्धान पछि वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पोखरा १८ सराङ्कोटका लेखबहादुर थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाउन यिनीहरुले सहयोग गरेको प्रहरीको आरोप छ।
तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीहरुलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप लेखबहादुरमाथि छ। लेखबहादुरका नातिनीहरु सरु र तासीआङ्मोले कास्की प्रशासनबाट जेठ २६ र असार ६ गते क्रमशः नागरिकता लिएका थिए ।
लेखबहादुरकै छोरीहरु हुन् भन्ने आधिकारिक कागजमा दस्तखत गरेका स्थानीय बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापा मगर, कमल थापा र इमा थापामगर समेत समातिएका थिए। लेखबहादुरले छोरी दाबी गरेकाहरु छोरी नभएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको थियो।
नागरिकता लिन पेस गरिएका सबै कागजातमा युवतीहरुका बाबुको नाममा लेखबहादुर थापाको नाम उल्लेख छ। जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरु र तासीआङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ। झुठो विवरण पेस गरी नागरिकता लिएको भन्ने उजुरीमाथि कास्की प्रशासनले छानबिन गरेको थियो। नेपाली वंशजको नागरिकता दिलाउन झुठो विवरण पेस गरेको कास्की प्रशानको आरोप छ।
उनीहरुलाई नागरिकता ऐन २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ। झुठो विवरण पेस गरी नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ। कास्की प्रशासनले उजुरी आउनासाथै ती युवतीहरुको नागरिकता जफत गरेको थियो। नागरिकता लिएका दिदी बहिनीको उमेरको फरक केवल ७ महिना छ। यही प्रकरणमा कास्की प्रशासनले ४ कर्मचारीलाई पनि विभागीय कारबाही सिफारिस गरेको छ।