सुर्खेतको वीरेन्द्रनगर–७ ईत्रामा रहेको ‘भानु बाल उद्यान’मा सँधैजसो ताल्चा लगाइएको हुन्छ। बाल उद्यानभित्र बालवालिका रामाउनका लागि बनाइएको संरचना तथा सामग्री कहिलेकाहीँ मात्र प्रयोग हुन्छन्। उद्यानको भित्री भाग चिटिक्क छ, उपयोग भने कम छ।
मुख्यमन्त्रीको निवास नजिकै भएकाले पनि यो बाल उद्यान बढीमा दुई घण्टा मात्र खुल्ने गरेको छ । ‘मुख्यमन्त्रीको निवास नजिकै भयो, सुरक्षाका हिसाबले पनि सँधै खोल्न गाह्रो हुने भयो’ वीरेन्द्रनगर–७ का वडा अध्यक्ष ध्रुबकुमार चपाइँले भने, ‘बेलुकाका समयमा डेढ–दुई घण्टा खुल्छ।’
यो बाल उद्यान २०७३ सालमा निर्माण भएको हो। अध्यक्ष चपाइँका अनुसार त्यसबेला नगरपालिका र शहरी विकास कार्यालयको सहयोगमा करिब १२ लाख रुपैयाँ लागतमा भानु बाल उद्यान निर्माण गरिएको हो।
सुर्खेतको बुलबुले उद्यानभित्र बाल उद्यानका लागि भनेर छुट्टै ठाउँ छ। यहाँ निर्माण गरिएका बाल उद्यानका संरचनाहरु अहिले धेरैजसो छैनन्। बालवालिकाका लागि बनाइएका संरचनाहरु भएको ठाउँमा अहिले गौतम बुद्धको मूर्ति छ। अहिले बुलबुले पुग्ने बालवालिकाहरु पहिले जस्तो उद्यानमा रमाउन सक्दैनन्।
वीरेन्द्रनगर उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष नारायण कोईरालाका अनुसार अहिले वीरेन्द्रनगरमा तीनवटा सरकारी बालउद्यानहरु छन्। भानु बाल उद्यान, बुलबुले बाल उद्यान र घण्टाघर पार्कभित्रको बाल उद्यान।
तीमध्ये धेरैजसो प्रयोगमा आउने बाल उद्यान भने घण्टाघर पार्कभित्रको हो। सुर्खेतको परिचित पार्कका रुपमा रहेकोले घण्टाघर पार्कभित्र जाने बालवालिका भने भएका संरचनामा रमाउने गरेका छन्। बाँकी दुईवटा उद्यानहरु एउटामा संरचना विस्थापित, अर्को दिनभर नखुल्ने भएकाले उपयोग हुनुपर्नेजति भएका छैनन्।
उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष कोइराला बाल उद्यानले बालवालिकालाई आकर्षित गर्न नसकेको बताउँछन्। आम्दानी र बालवालिकाको मनोरञ्जनका लागि लक्षित गरी उद्यान निर्माण गरिए पनि उद्देश्य अनुसार प्रचारप्रसारसँगै आकर्षित गराउन नसक्दा धेरै उपयोगमा आउन नसकेको उनको भनाई छ।
‘पर्यटकीय स्थलहरुमा त मानिस टिकट काटेर जान्छन्, त्यहाँ बाल उद्यान देखेपछि बालवालिका खेल्न गईहाल्छन्’ कोइरालाले भने, ‘छुट्टै ठाउँमा बनाइएको बाल उद्यानमा स्थानीय मात्र जाने हुन्, तर आकर्षित भने गराउन सकिएको छैन।’
उनका अनुसार वीरेन्द्रनगरमा अरु तीनवटा सरकारी बाल उद्यान बन्नेछन्। शिक्षा क्याम्पस अगाडि र हटियालाईन अगाडि बाल उद्यान निर्माणका लागि जग्गा छुट्याइएको उनले जानकारी दिए। यस्तै बुलबुले उद्यानको व्यवस्थापन गर्ने कार्य चलिरहेकोले त्यसभित्र बाल उद्यानका लागि छुट्याइएको ठाउँमा पुनः व्यवस्थित बाल उद्यान बनाइने कोइरालाले बताए।