मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद छ भोलि।
सो पर्वका लागि प्रायः सबैको घरमा आजैदेखि तयारी छ तर महोत्तरी भंगहानपा वडा नं. १ की जाहिरा खातुनको घरमा कुनै उत्साह छैन।
पर्वको मुखैमा उनी घरबरविहीन भएकी छन्। उनका श्रीमानलाई विदेश पठाउने एजेन्टले शनिबार बिनाकुनै जानकारी डोजर लगाएर घर भत्काएपछि उनको सडकमा बास छ।
करिब ४ वर्षअघिको घटना हो। जाहिरा र उनका श्रीमान् शनिब शेखको पारिवारिक अवस्था नाजुक थियो। घरको अवस्था सुधार्नको लागि शनिबले विदेश जाने सोच बनाए।
जेनतेनले बचाएर राखेको ४० हजार लिएर गाउँकै बद्री ठाकुरकहाँ पुगे जो वैदेशिक रोजगारमा पठाउने एजेन्ट हुन्।
सुरूमा बद्रीले समयमै उडाइदिने भन्दै उनीहरूसँग रकम त लिए तर २ वर्षसम्म शनिबलाई यतिकै टारिदिए। उनले न विदेश पठाए न नै ४० हजार फिर्ता दिए।
धेरै हारगुहारपछि ठाकुरले तमसुक बनाएर ८५ हजार ऋण दिए।
बद्रीले जाहिराको श्रीमानलाई विदेश उड्नका लागि दिएको ८५ हजार ऋणको बदलामा ससूराअहम्मद शेखसँग तमसुक बनाउन लगाएका थिए। अहम्मदकै नाममा रहेको लगभग १८ धुर जग्गा यदि जाहिराले ऋण नतिरे आफ्नो हुने भनी सही छाप गराए र शनिबलाई साउदी उडाइदिए।
यता उडेको एक महिना नपुग्दै ठाकुरले ताकेता गर्न थाले।
जाहिरा भन्छिन् ‘ एक महिनामै कहाँबाट ८५ हजार ल्याउँथ्यौं हामीले समय माग्यौं तर उनले मानेनन्।’
ताकेताको बहानामा बद्री रातिको १२/१ बजे पनि ढोका ढक्ढक्याउन पुग्थे।
यहीँ कुरालाई लिएर आफूले पञ्चायत बसाएपछि ठाकुरले बदला लिने सोच बनाएको उनको दाबी छ।
आफूहरूले पटक पटक समाज र वडा अध्यक्षको रोहबरमा ८५ हजारको ४ लाख ऋिण तिर्ने भने पनि उनले पैसा नलिई जग्गा नै लिने भनी अदालतमा मुद्दा दिएको र उनले नै जितेपछि आफूहरू अकारण बिचल्लीमा परेको जाहिराको भनाइ छ।
प्रहरीसहित आएका एजेन्ट बद्रीले शनिबार मध्यान्ह १२ बजेतिर डोजर मगाएर जाहिराको घर तोड्न लगाए।
जाहिरा भन्छिन् ‘घर भत्काउनेबारे न कुनै जानकारी दिइयो न घरबाट केही निकाल्न नै दिइयो चामलदेखि बालबच्चाको लत्ताकपडा सबै माटोभित्र पुरिएको छ, न हामीसँग खानलाई केही छ न त लाउनलाई नै ।’
जाहिराका ६ जना सन्तान छन्। जसमध्ये दुई छोरीको विवाह भईसकेको छ,अहिले उनको घरमा दुईजना छोरा र दुई छोरी छन् । घर भत्किएपछि उनीहरू हिजोदेखि नै सडकमा छन्।
बद्रीले अचानक घरमा डोजर लगाउँदा घरमा रहेको ४० मन चामल, एजेन्ट बद्रीलाई दिनका लागि राखिएको दुई लाख रुपैँया, जाहिरा र छोरीहरुको गरगहना समेत त्यसमै पुरिएको छ।
के गरुँ कहाँजाउँ कसलाई भनुँ भक्कानिँदै जाहिराले भनिन् ‘मेरो सबै थोक लुटियो अब हामी के खान्छौं कहाँ बस्छौं।’
जाहिरा र उनको छोराछोरीलाई अहिले छरछिमेकले खानका लागि व्यवस्था गरिदिएका छन्।
वडा नम्बर एकका अध्यक्ष नवल किशोर कापर जाहिराको परिवार रकम दिनका लागि पटक पटक तयार भए पनि जग्गाको लोभमा बद्रीले पैसा नलिई घर तोड्न लगाएको बताउँछन्।
वडा अध्यक्ष कापरले अदालतको आदेशमा घर खाली गराउने कुरा भए पनि एजेन्ट बद्रीले बिनाकुनै जानकारी घर तोड्न लगाएको बताए।
पीड़ितबारे भंगहा नगरपालिकाका प्रमुख संजीव मण्डल जतिसुकै ऋण भए पनि पर्वको मुखमाआएर घरबारविहीन बनाउनु निन्दनीय रहेको बताउँछन्।
उनी भन्छन् ‘हामी तत्काल उहाँहरूका लागि खाद्यान्नको व्यवस्था गर्छौं बासका लागि सामुदायिक भवन छन् हामी त्यसमै व्यवस्था गर्छौं, उहाँहरूको पर्व छ भोलि सहजताका लागि सक्दो सहयोग गर्ने नै छौं।’