सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन हटलाइन सडकको काम ४० प्रतिशतमात्र भएको छ।
एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्नेगरी सम्झौता भएको सडकको सम्झौता मिति सकिन एक महिना बाँकी छँदा काम ४० प्रतिशतमात्र सकिएको छ।
अहिले सडक छेउका नाली बनाउने काम भइरहेको छ।
‘आशिष जेभी/श्याम एण्ड शंकर जेभी कन्स्ट्रक्सन’ स्यूचाटार काठमाडौंले २०७५ असोज १ गतेदेखि २०७६ भदौ ३१ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी हटलाइन सडकको सम्झौता गरेको थियो।
सम्झौता मितिभित्र काम सम्पन्न गर्नका लागि अहिलेसम्म कम्तीमा पनि ७० प्रतिशत काम सम्पन्न भइसकेको हुनुपर्ने वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीको भनाइ छ।
सम्झौता मितिभन्दा काम केही पछि सर्ने बताउँदै उनले अहिले निर्माण जिम्मा लिएको कम्पनीले नाला बनाउने, ग्राभेल हाल्ने जस्ता काम गरिरहेको जानकारी दिए।
‘अहिले निर्माणको जिम्मा लिएको कम्पनीले अलिकति पिच पनि गरेको छ, कतै नाला बनाउने, कतै ग्राभेल गर्ने काम गरिहेका छन्,’ सुवेदीले भने।
वीरेन्द्रनगर उपत्यकाभित्रको गणेशचोकदेखि विमानस्थलसम्म जोड्ने २.९ किलोमिटर बाटोलाई ‘हटलाइन सडक’ का रूपमा विस्तार गर्न लागिएको छ।
कालिञ्चोकदेखि गणेशचोक पूर्वतर्फको पुलसम्म ३५ मिटर सडकको क्षेत्रफल रहेको छ। त्यसमा १० मिटर कालोपत्रे गरेर बाँकी ठाउँलाई फुटपाथ बनाउने गरी डिजाइन गरिएको छ।
सडकको निर्माणको काम अहिलेसम्म ४० प्रतिशतको हाराहारीमा भएको संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतका सव-इञ्जिनियर चन्द्र खड्काले जानकारी दिए।
अहिलेसम्म ७०/८० प्रतिशत काम भएको हुनुपर्ने भए पनि ढिलाइ भएको उनले बताए।
यो चरणको काममा ढिलाइ भए पनि कालोपत्रे गर्ने क्रममा काम योभन्दा धेरै गुणा रफ्तारमा हुने उनको भनाइ छ।
निर्माण जिम्मा लिएको कम्पनीले समय थप गर्ने प्रक्रिया अघि सारेको उनले जानकारी दिए।
‘अहिलेसम्म ७०/८० प्रतिशत काम भएको हुनुपर्थ्यो, तर ४० प्रतिशतको हाराहारीमा भएको छ,’ इञ्जिनियर खड्काले भने, ‘अहिले ढिलो भए पनि पिच गर्नेबेला फटाफट काम हुन्छ, सम्झौता मितिभित्र नसकिए पनि ६ महिना म्याद थप गराएर पनि कम्पनीले काम गर्छ।’
सडकको केही भागमा पानी जमेका कारण काम हुन नसके पनि अन्यत्र काम भइरहेको आशिष जेभी/श्याम एण्ड शंकर जेभीका निर्देशक खगेन्द्र विक्रम रानाले जानकारी दिए।
उनले कुनै दिन पनि काम नरोकिएको दाबी गरे।
संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतसँग कम्पनीले ७ करोड ४३ लाख १२ हजार ६ सय ३४ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी हटलाइन सडकको जिम्मा लिएको छ।
सडक हिलाम्मे
हटलाइन सडकअन्तर्गत पर्ने घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बाटो हिलाम्मे हुँदा सवारी साधन आवातजावत गर्न सास्ती भएको छ।
हटलाइन निर्माणको क्रममा दुवैतर्फको भाग खनेर नाली बनाउन थालेपछि त्यहाँबाट निस्किएको माटो व्यवस्थापन गर्न नसकिँदा सडक हिलाम्मे हुने गरेको छ।
दैलेख, कालिकोट, जुम्ला, अछामबाट आउने सवारी साधनले वीरेन्द्रनगर पुगेपछि र वीरेन्द्रनगरबाट जाँदा यही बाटो प्रयोग गर्नुपर्ने भएकाले उक्त भाग सवारी चाप समेत धेरै हुने गरेको छ।
काम गर्दागर्दै पानी पर्न सुरू गरेपछि उक्त ठाउँमा यस्तो समस्या आएको निर्देशक रानाले बताए।
उक्त भागमा कालोपत्रे पनि उत्रिसकेको र गहिरो भाग भएकाले पानी जम्ने गरेको उनले जानकारी दिए। ‘अब पानी रोकिएपछि मात्र त्यो भागमा काम हुन्छ’, उनले भने।