सुर्खेतको गुर्भाकोट नगपालिका–१३ वेतेनीखोलामा बास बसेका राउटे समुदायका एक व्यक्ति विगत तीन महिनादेखि बेपत्ता भएका छन्।
३६ वर्षीय जयबहादुर शाही बेपत्ता भएको तीन महिना हुँदा पनि फेला नपरेपछि समुदायले खोजी दिन सरकारसँग आग्रह गरेको छ।
वैशाख २५ गतेदेखि जयबहादुर हराएको उनका दाइ प्रकाश शाहीले बताए।
२४ गते समुदायमा भएको विवाहमा नाचिरहेका जयबहादुर भोलिपल्टदेखि बेपत्ता रहेको उनले जानकारी दिए।
‘गाउँमा विवाह थियो, हाम्रा जनता नाचिरहेका थिए,’ प्रकाशले भने, ‘त्यस दिन घरमा आउला भनेको आएन, पछि हामीले धेरै ठाउँ खोज्यौं तर पनि ऊ भेटिएन।’
सरकारले खोजेर सहयोग गरिदिनुपर्ने कि त आफूहरूलाई खोज्न खर्च व्यहोर्नुपर्ने दाइ प्रकाशको माग छ।
‘हामी खोज्न जान्थ्यौं खर्च छैन, सक्ने जति खोजिसक्यौं,’ उनले भने, ‘हामी पूरा देशमा खोज्न जान्छौं सरकारले खर्च व्यहोर्नुपर्यो, कि त सरकारले खोजेर पुर्याइदियो भने हामी खुसी हुन्छौं।’
राउटे समुदायको सदस्य नहुँदा उनीहरूको धार्मिक तथा साँस्कृतिक क्रियाकलाप गर्नमा बाधा आउँछ।
पूजा, विवाह जस्ता कार्य गर्नका लागि जीवित सबै सदस्य अनिवार्य उपस्थित हुनुपर्ने परम्परा रहेको प्रकाशले जानकारी दिए।
‘जयबहादुर नहुँदा हाम्रा जनतालाई समस्या परेको छ, ज्युँदो वा मरेको जे भए पनि भेट्टायो भने सजिलो हुन्छ।’
अहिलेसम्म राउटे समुदायबाट उनीबाहेक कोही पनि नहराएको प्रकाशले बताए। जयबहादुर भने योसहित तीन पटक हराइसकेका छन्।
उनी पहिलोपटक हराउँदा एक महिनामा भेटिएका थिए भने दोस्रो पटक १४ दिनपछि भेटिएका थिए।
यसपटक उनलाई खोज्न सुर्खेतका विभिन्न ठाउँसँगै नेपालगञ्जसम्म पुगेको प्रकाशले बताए ।
लोपोन्मुख समुदायका रूपमा रहेको राउटे समुदाय विभिन्न समयमा बस्ती सर्ने गर्दछ। विशेषगरी जंगलमा बस्ने यो समुदाय अहिले दैलखेको गुराँस गाउँपालिका–५ मा पर्ने कान्छिबजार नजिकैको जंगलमा बसिरहेका छन्। उनीहरूले गुराँस गाउँपालिकाबाट स्थायी रूपमा परिचयपत्र पाएका छन् ।
यसअघि सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित गुमीको जंगलमा बस्दै आएका राउटे समुदाय जेठ १७ गतेमात्र दैलेखको गोगनपानीमा बसाइँ सरेका थिए।
यो समुदायमा अहिले १४५ जना सदस्य छन् ।