सुर्खेतको वीरेन्द्रनगरमा रहेको धार्मिक क्षेत्र काँक्रेबिहारमा तोडफोड भएको छ। सोमबार राति चोरी गर्ने उद्देश्यले गएको समूहले काँक्रेबिहारको गेटभित्र र आसपासमा तोडफो गरी चोरी गर्ने प्रयास भएको छ।
काँक्रेबिहारमा घोडा सवारी गराउने बालकृष्ण कार्कीका अनुसार गेटभित्र रहेको नयाँ टिकट काउण्टरको ढोका र काउण्टरका झ्यालका सबै सिसाहरु तोडफोड भएको छ। ‘काउण्टरको ताल्चा फोडेर मेरो र मसँगै सामान बेच्ने साहुजीको खुद्रा सामानमा क्षति पुर्याएका छन्’ कार्कीले भने।
रातिको समयमा कोही पनि नहुने हुँदा थाहा भएकै समूहले घटना निम्त्याएको हुनसक्ने उनले बताए ।काँक्रेबिहार क्षेत्रमै घोडा सवार गराउने विशाल कटुवालले चोरी गर्न आएको समूहले खुकुरी प्रयोग गरेको हुनसक्ने बताए।
कटुवालका अनुसार काँक्रेबिहारको अगाडि लगाइएका सयपत्रीका फूलका बोटहरु सबै काटिदिएका छन्। काउण्टरभित्र पर्यटकलाई बेचिने खुद्रा सामानमध्ये उनीहरुले चाउचाउ, चुरोट, गुट्खा, पानी खाएको कटुवालले बताए। यस्तै काउण्टरको बाहिरपट्टि जडान गरिएको वास बेसिन, प्लाष्टिक टेबुल पनि काम नालाग्ने गरी फोडेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षत्रीले घटनाको मुचुल्का बनाएर खोज्ने कार्य भइरहेको जानकारी दिएका छन्। सोमबार राति उनीहरुले बैंकको चेकपनि लिएकोले उनीहरु बैंकमा चेक सटही गर्न आएमा पक्राउ गर्न सजिलो हुने उनले बताए।
काँक्रे बिहार पर्ने वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरका अनुसार काँक्रेबिहारमा यस्तो घटना तेस्रोपटक भएको हो। एकसाता अघि मात्र काँक्रेबिहाको दक्षिणतर्फ रहेको गेटको माथि रहेको गजुरी भाँचिएको थियो।
उनले सुरक्षाका लागि रातिको समयमा दुईजना सुरक्षा गार्डका रुपमा राख्न लागिएको जानकारी दिए।