धनगढी उपमहानगरपालिका-४ मा 'कपडा बैंक' सञ्चालनमा आएको छ। शिवपुरीधामको जग्गामा तीन दाजुभाइ मिलेर यो काम सुरू गरेका हुन्। गोपाल, श्याम, देवेन्द्र हमालले केही दिनअघि सञ्चालनमा ल्याएको 'कपडा बैंक'को सोमबार औपचारिक उद्घाटन भएको छ।
तीन वर्षअघि नै बनेको यो योजनाले सोमबारदेखि मूर्त रूप लिएको व्यवसायी गोपालले बताए। उनका अनुसार उनीहरूले १५ लाख रूपैयाँ लगानी गरेर निःशुल्क कपडा वितरण केन्द्र सुरू गरेका हुन्।
'हामीले यो योजना तीन वर्षअघि नै बनाएका थियौं,' गोपालले सेतोपाटीसँग भने, 'विविध कारणले रोकिएको थियो। गत मंसिरबाट भवन बनाउन थालियो। र अहिले सञ्चालनमा आयो।'
कपडा बैंक नाम दिइएको भए पनि केन्द्रमा दैनिक जीवनलाई आवश्यक पर्ने झोला, जुत्ता, छाता, भाडाकुँडा लगायत सबै खाले दैनिक प्रयोजनका सामान लिन-दिन सकिने गोपालले जानकारी दिए।
सबै वर्ग र समुदायका लागि 'कपडा बैंक' खुला रहेको बताउँदै उनले भने, 'यहाँ धनीले दिने र विपन्नले लैजाने मात्र होइन, सबैले दिन र सबैले आवश्यक परेको सामान लैजान सक्छन्।'
संकलित सामानहरू घामपानी, कीरा-धमिरा, मुसा लगायत समस्याबाट सुरक्षित राख्न पक्की भवन बनाइएको उनले बताए।
'आफूले दिएको कपडा सही सदुपयोग होस्, फोहोर नहोस् र लिनेलाई पनि राम्रो सामान लिएको महशुस गराउन व्यवस्थित भवन भनाइएको हो,' सामाजिक अभियन्ता समेत रहेका गोपालले भने।
मठ-मन्दिर बनाएर मात्रै धर्म नहुने भन्दै उनले शिवपुरीधाममा आउने दिनदुःखी र तिर्थारूलाई खाना-लत्ताकपडा व्यवस्था गर्ने उद्देश्य रहेको बताए।
यसबाट प्राकृतिक विपत्तमा परेकालाई पनि सहयोग पुग्ने विश्वास उनीहरूको छ। 'चेन्जिङ रुम (लुगा फेर्ने ठाउँ) समेत भएको यो बैंकमा एक जना कर्मचारी समेत राखेर व्यवस्थापन जिम्मेवारी दिइएको छ।
कपडा बैंकमा कपडा दिने र लिने व्यक्तिको जानकारी राखिने केन्द्रकी कर्मचारी ज्ञानु शाहले बताइन्।
'हामीले लिए-दिएको सामानको रेकर्ड राखेका छौं,' शाहले भनिन् 'लेनदेन बढ्दै जाँदा दान गर्ने व्यक्तिलाई आफ्नो कपडाको दुरुपयोग भयो भन्ने लाग्नु हुँदैन।'
'कपडा वा अन्य सामान लैजाने व्यक्तिको विवरण भने गोप्य रहन्छ,' उनले थपिन्।
देशका विभिन्न स्थानमा खुलेका 'कपडा बैंक'ले चौतर्फी प्रशंसा बटुलिरहेको छ। व्यवस्थित भवनभित्र सञ्चालित यो कपडा संकलन केन्द्र निश्चित समयमा मात्रै खुला रहने बताइएको छ।
गर्मीमा बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्छ भने जाडोमा बिहान ८ देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्रै खुला रहनेछ।