केही समयअघि ललितपुर महानगरपालिका कार्यालयको प्रांगणमा राखिएको 'पानी एटिएम' ले निकै चर्चा पायो।
अहिले फेरि कार्यालयको गेटैमा नयाँ मेसिन राखिएको छ जसलाई 'बीउ एटिएम' नाम दिइएको छ। यो मेसिनबाट विभिन्न तरकारी र फलफूलका बीउ निकाल्न सकिन्छ।
सहरी आवश्यकता र कौसी खेतीलाई ध्यानमा राखेर उन्नत जातका बीउ 'भेन्डिङ मेसिन' मार्फत् वितरण गर्ने कार्यक्रम अघि सारिएको महानगरका कृषि शाखा प्रमुख केशव अधिकारीले बताए।
निजी-सार्वजनिक-साझोदारी कार्यक्रमअन्तरर्गत महानगरले 'सक्कल एग्रो कन्सर्न'सँग बीउ-बीजन वितरणको सहकार्य गरेको हो। मौसमी बीउ-बिजनको व्यवस्था कम्पनीले नै गर्ने सम्झौता भएको महानगरका अधिकारीले जानकारी दिए।
उनका अनुसार मेसिन सञ्चालनको जिम्मा पनि कम्पनीलाई नै छ।
नेपालमा पैसा निकाल्नबाहेक अरू काममा भेन्डिङ मेसिन कमै प्रयोग हुन्छ। त्यसैले 'बीउ एटिएम' मा पैसा हालेर बीउ किन्न मेसिनको अघिल्लो भागमा लेखिएका विवरण राम्ररी पढ्नुपर्ने सञ्चालक उज्जवल थापा बताउँछन्।
उनका अनुसार मेसिनभित्र तरकारी र फूलका गरी ३६ प्रकारका बीउ छन्। यी बीउका प्याकेट बाहिरबाटै प्रस्ट देखिन्छ। आफूलाई चाहिएको कुन हो भनेर किन्न चाहिँ मेसिनको स्क्रिनमा हेर्नुपर्छ। त्यहाँ 'प्रेस हियर' लेखिएको ठाउँमा थिचेपछि बीउका विवरण स्क्रिनमा देखिने छन्। बीउको नाम, चित्र र कति मूल्य भन्ने त्यहीँ देखिन्छ।
यसरी स्क्रिनमा आएको विवरण हेरेर आफूलाई आवश्यक परेको बीउ छानेपछि पैसा हाल्नुपर्छ। पैसा हाल्नका निम्ति बेग्लै ठाउँ छ। यसमा कागजका नोट नोट मात्र हाल्न मिल्छ। थोत्रा, पुराना र च्यातिएका नोट नलिने थापाले जानकारी दिए।
यसबाहेक सबभन्दा ध्यान दिनुपर्ने कुरा, कति रूपैयाँको नोट हाल्ने भन्ने हो। किनकि, यो मेसिनले पैसा फिर्ता दिँदैन। आफूले किनेको सामानकै मूल्य बराबरको नोट मात्र हाल्नुपर्ने थापाले जानकारी दिए।
उनका अनुसार बीउ किन्न २०, ५० र १०० रुपैयाँको नोट प्रयोग गर्न सकिन्छ।
'हाल यो परीक्षणमै छ। सफल भएपछि नोटको क्षमता विस्तार गर्ने योजना छ,' थापाले भने।
मेसिनबाट एकपटमा ५ प्याकेटसम्म निकाल्न सकिन्छ।
यो मेसिन भारतबाट ल्याइएको हो। नेपाल ल्याइसक्दा यसको लागत ९ लाख रूपैयाँ हाराहारी लागेको थापाले जानकारी दिए। मेसिनमा पैसा छिराएर सामान किन्न पाइने सुविधाले धेरैलाई सहज हुने उनको भनाइ छ।
महानगरका कृषि शाखा प्रमुख अधिकारी पनि यसमै जोड दिन्छन्। सहरी खेती गर्दै आएका मुलुकमा यसप्रकारको मेसिन सामान्य भए पनि नेपालमा नयाँ प्रयोग भएको उनको भनाइ छ।
'विकसित मुलुकमा यो प्रविधि निकै चल्तीमा छ,' अधिकारीले भने, 'मौसमी फूलका र तरकारीका बीउ उपलब्ध हुँदा यो सुविधाबाट मौसमअनुसार गरिने खेतीबारे पनि सजिलै थाहा पाउन सकिनेछ।'
मुख्यगरी महानगरमा दैनिक आउने सेवाग्राहीलाई लक्षित गरी यो मेसिन सञ्चालनमा ल्याइएको अधिकारीले बताए। उनका अनुसार महानगरमा हाल दैनिक हजारदेखि १५ सय सेवाग्राही आउँछन्।
परीक्षणका रूपमा सुरू भएको यो मेसिनको औपचारिक उद्घाटन भएको छैन। प्रयोगमा भने आइसकेको छ। परीक्षण सफल भए महानगरका २९ वडामै सेवा विस्तार गरिने अधिकारीले जानकारी दिए।
'हराभरा महानगर, स्वच्छ वातावरण, फोहोरमैला व्यवस्थापन तीन उद्देश्य राखेर हामीले यो योजना अघि सारेका हौं,'अधिकारीले भने, 'बीउ वितरणसँगै, कौसी खेती गर्ने तरिका र कम्पोष्ट मल बनाउने तरिका सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं।'