प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाउने गठामुंगः पर्व भक्तपुरमा पृथक शैलीमा मनाइएको छ।
नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप मंगलबार साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्याई जलाएर पर्व मनाइयो।
भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् पुरुषोत्तमलोचन श्रेष्ठले सातौं शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउँछन्। महादेवलाई मन पराउने राक्षसका रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको उनले बताए।
उनका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिन्छ। आजदेखि रोपाई सकेर रमाइलो गर्ने र चाडवाडको याम सुरू हुने दिनका रूपमा पनि लिइन्छ। आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ।
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ। टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाए रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वाससमेत छ।
राँको बालेर भूत भगाउने भन्दै पुतलाका रूपमा बनाइएको गठामुंगः राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याइन्छ। अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर गठामुंगः राक्षस जलाइन्छ।
हेर्नुहोस् भक्तपुरमा मनाइएको पर्वका केही तस्बिर: