आइतबार संसदको विकास तथा प्रविधि समिति कमलविनायक-नगरकोट सडक खण्डको अनुगमनमा पुगेको थियो। समिति सभापति कल्याणी खड्काको नेतृत्वमा गएको टोलीमा चाँगुरारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, सांसद महेश बस्नेत, समिति सदस्यहरूलगायत थिए।
बारम्बार म्याद थप्दा पनि कमलविनायक-नगरकोट सडकखण्ड नबनेको भन्दै विकास तथा प्रविधि समितिमा चाँगुरारायण नगरपालिकाका मेयर मिश्रले निवेदन दिएपछि समिति स्थलगत अनुगमनमा पुगेको थियो।
१५.६६० किलोमिटर कमलविनायक-नगरकोट सडक खण्ड स्तरोन्नति गर्न २०७१ असार २ गते सैलुङ एआइपिएल जेभीसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो।
सैलुङ कन्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्।
सडक स्तरोन्नतिको लागि एक्जिम बैंक अफ इण्डियाले ऋण दिएको कारण ५० प्रतिशत सामान भारतीय हुनुपर्ने र निर्माण कम्पनीको कम्तीमा ५१ प्रतिशत हिस्सा भारतीय कम्पनी नै हुनुपर्ने सम्झौता छ।
सम्झौता जे जस्तो भए पनि काठमाडौंको सबैभन्दा नजिकको पर्यटकीयस्थलको बाटो राम्रो हुने भयो भनेर स्थानीय खुसी भएका थिए।
तर, काम सुरु भए पनि गति लिन सकेन। सम्झौता अनुसार ठेकेदार कम्पनीले २०७३ असार ४ गते सडक निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने थियो।
सो समयमा काम नसकिएपछि २०७४ कात्तिक ४ गतेसम्मको लागि समय थपियो तर काम सम्पन्न भएन। फेरि २०७४ कात्तिक १८ गतेसम्मको लागि म्याद थपियो तर ठेकेदार कम्पनीले फेरि पनि काम सम्पन्न गर्न सकेन। अन्तत: फेरि २०७५ जेठ ३० सम्मको लागि समय थपियो। काम सम्पन्न भएन।
यो अवधिमा निर्माण कम्पनीले १४ करोड भुक्तानी पाइसकेको छ। निर्माण कम्पनीले २०७६ चैत १७ गतेसम्मको म्याद थप्न माग गरे पनि आयोजनाले यथोचित कारण नभएको भन्दै प्रक्रिया अगाडि बढाएको छैन।
हालसम्म ६५ प्रतिशत मात्रै काम भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए। ‘कालोपत्रेको त कुरै नगरौं, सम्पूर्ण कार्यको ६५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘निर्माण कम्पनीले यति मेसिन, जनशक्ति प्रयोग गरेर यति समयमा काम सक्छु भनेर लिखित दिए मात्र हामी समय थप्ने र पैसा रिलिज गर्ने प्रक्रिया अगाडि बढाउछौं।’
सडक समयमा सम्पन्न गर्न दबाब नभएको होइन। स्थानीय जनतादेखि स्थानीय सरकारले आग्रह र चेतावनी दिँदा समेत ठेकेदार कम्पनीले विभिन्न व्यवधान देखाउँदै समयमा काम नसकेको स्थानीय बताउँछन्।
ठेक्का लागेको पाँच वर्षसम्म सडक नबनेपछि स्थानीयले संघर्ष समिति नै बनाएका छन्। सडक अलपत्र हुँदा स्थानीयदेखि पर्यटकहरू समेतले दु:ख पाएको नगरकोट-कमलविनायक सडक निर्माण दबाब समिति संयोजक राजकुमार लामिछानेले बताए।
‘बर्खामा हिलो बाटोमा पानी बग्छ, घरभित्र पस्छ र हिउँदमा धुलो उड्छ। काठमाडौं जानुपर्दा हिलो र धुलोको कारणले वर्षभरि रेनकोट लगाउनु पर्छ,’ उनले भने।
संसदीय समितिको अनुगमन आउने जानकारी पाएपछि निर्माण कम्पनीले दुई दिनदेखि सडकका ठूला खाल्डा पुरेको लामिछानेले बताए। आफूले धेरैपटक आग्रह गर्दा पनि ठेकेदार कम्पनीले काममा नगरेपछि समितिमा निवेदन दिएको चाँगुरारायण नगरपालिकाका मेयर सोम मिश्रले बताए।
‘मैले भनेको नमानेको हो कि भनेर सिडियोलाई भन्न लगाएँ, सैलुङ कन्ट्रक्सनका सञ्चालक प्रचण्डका घरबेटी शारदा अधिकारी हुन् भन्ने थाहा पाएर प्रचण्डलाई समेत भन्न गएँ,’ उनले भने, ‘प्रचण्डले मेरो अगाडि ह्याण्ड फ्रि गरेर मोबाइलमा फोन गर्दा उहाँले बनाउँछु भन्नुभयो तर सडक अहिलेसम्म बनेन।’
आयोजनाले एक पटक म्याद थपिदिए समयमै काम सक्ने सैलुङ कन्ट्रक्सनका प्रतिनिधि सुदन गौलीले प्रतिवद्धता जनाए। ‘दिउँसो ट्रिपर चल्न नदिने राति क्रसरबाट लोड गर्न नदिने। यहाँ रुख काट्नकै लागि धेरै समय विवाद भयो त्यही भएर काम ढिलाइ भएको हो,’ उनले भने, ‘हामीले अब ढिला गर्यो भने हामीलाई नै घाटा हो। एक त कालोसूचीमा पर्छौं, अर्को बाँकी खर्च आफैंले बेहोर्नुपर्छ।’
आयोजनाले म्याद थप गरिदिए लिखित रुपमा कार्ययोजना दिने गौलीले बताए। निर्माण कम्पनीले ढिलाइ मात्र नभई विभिन्न कमजोरी समेत गरेको समितिकी सभापति कल्याणी खड्काले बताइन्। ‘हामी यो विषयमा विकास समितिमा छलफल गर्छौं। सार्वजनिक खरिद ऐनलाई टेकेर निर्माण कम्पनीले म्याद थप गरिरहेको छ। यो काम सम्पन्न नगरी हामी कुनै पनि हालतमा छोड्दैनौं,’ उनले भनिन्।
निर्माण कम्पनीले चौमासिक कार्ययोजना बुझाएपछि मात्र म्याद थप गरिने उनले बताइन्। ‘अब निमार्ण कम्पनी पन्छिन पाउँदैन। निर्माण कम्पनीले बुझाएको चौमासिक कार्ययोजना अनुसार काम भए नभएको हेरेर मात्रै अरु काम गर्न पाउँछ,’ उनले भनिन्।