'डाँफे खेल्ने, गुराँस फुल्ने
चाँप फुल्ने मेरो देश
आऊ है मैयाँ नाचौं न छमछमी
बारुले कम्मर भाचौं न छमछमी..'
'अभया एन्ड द स्टिम इन्जन्स्'को नयाँ गीत 'हावाहुरी'मा एउटा पुरानो स्वरमा गुञ्जन्छन् यी शब्द।
'बितिसकेको समय/छुटिसकेको माया'को विषय समेटिएको 'हावाहुरी'का लागि अभया एउटा पुरानो पुरुष स्वरको खोजीमा थिइन्। यस्तो आवाज जसले गीत सुन्नेलाई अतीतको स्मृतिमा पुर्याओस्।
'यही बेला मलाई मनपर्ने गायक गंगा वरदान दाइको याद आयो। गंगा दाइ पनि पुरानो मायाजस्तै भुलिँदै गएको नाम हो,' अभया भन्छिन्, 'यो गीतले स्रोतालाई नोस्टाल्जियामा पुर्याउँछ।'
'हावाहुरी'का लागि धरानबाट बत्तिएर काठमाडौं आएका गंगा वरदान अभयाको 'रक'मा आफ्नो लोकशैली कसरी मिल्ला भनेर अल्मलिए।
उनले अभयालाई सोधे, 'हाम्रो फरक स्टाइल एउटै गीतमा कसरी म्याच गर्ला?'
गंगाको संशय दूर भगाउन अभयाले भनिन्, 'तपाईं आफ्नै शैलीमा गाउनुस्, बाँकी चिन्ता मेरो।'
रक शैली र लोक स्वाद घुलिएको यो गीतमा आफ्नो भूमिकाबारे गंगाले पाएको एउटा प्रतिक्रिया रोचक छ, 'गंगा दाइ यो गीतको चटनी हो।'
हावाहुरी गीतको भिडियोमा ६६ वर्ष नाघेका गंगा 'छमछमी' नाचेको देख्न पाइन्छ। गंगाको यो लगाव र ऊर्जा लोभलाग्दो छ। अभयाले भनेजस्तै हावाहुरी गीतमा लामो समयपछि गंगालाई सुन्दा–देख्दा उनका 'छपनीले छान छान', 'छेउ काटी रूमाल चट्टै', 'कहाँमा काट्यो' जस्ता चर्चित गीतसँग परिचित स्रोताहरू पुरानो स्मृतिमा फर्केको हुनुपर्छ।
सेतोपाटीसँग कुराकानी गर्न सम्पर्क गर्दा उनले भृकुटीमण्डपमा बोलाए। सिमसिमे झरी परेको मध्याह्न समय। टुरिज्म बोर्ड पछाडिको चिया पसल अगाडिको कुर्सीमा पर्खिरहेका थिए।
भेट हुनेबित्तिकै भने, 'सानो काम छ, एकछिन् बाहिर जाम्।'
मोडल अस्पतालनजिकैको 'आएमई'मा छिरेर काउन्टरमा बसेकी महिलालाई 'नमस्कार बैनी' भन्दै श्रीमतीको नाम दोहोर्याए, 'क्रिक्मा राई। पाँच हजार।'
धरानमा रहेकी श्रीमतीलाई पैसा पठाउने काम सकेपछि उनले श्रीमतीको प्रशंसा गरे, 'मेरी बुढी लास्टै राम्री मान्छे। राम्रो मान्छेको संगत गर्नु भन्नेबाहेक अरु गुनासो केही गर्दिनन्। उनी आफैं लेख्छिन् पनि।'
फेरि उही चिया पसलमा फर्कियौं। अर्डरअनुसार चिया आइपुग्यो।
अब भने, गंगाको विगतमा फर्कने पालो आयो। उत्साहित हुँदै भने, 'गीत गाउन सुरू गरेको पचास वर्ष बितिसक्यो, खै कहाँबाट थाल्ने!'
स्मृतिमै सही, उनी आफ्नै जन्मथलो भोजपुरको दिङ्ला पुगे।
'दाइ त काले भाइ पनि काले
काले काले मिलेर खाउँ भाले'
२०२५ सालमा भोजपुरको दिङ्ला माध्यमिक विद्यालयमा भएको एउटा प्रतियोगितामा यही गीतले उनलाई दोस्रो पुरस्कार दिलाएको थियो।
नेवार परिवारमा हुर्केका गंगाका बुबा मादल बजाउँदै गाउँका नाचगानमा भाग लिन्थे। पेसाले सैनिक भए पनि मालश्री बजाउने र 'लाखे' नाच्ने जस्ता सांस्कृतिक गतिविधिमा उनका बुबा सक्रिय थिए। बुबाजस्तै गंगा पनि गाउँमा हुने जात्रा र मेलापर्वमा नाच्न-गाउन रुचाउँथे।
स्कुलको पढाइ सकिने बेला उनका बुबा बिते। बुबा बिना भोजपुरमा गंगा टिक्न सकेनन्।
भोजपुरबाट झरेर विराटनगर आए। त्यहाँ कलेज पढ्न बसे पनि उनको झुकाव पढाइमा कम कलामा बढी थियो। नायक शिव श्रेष्ठ अध्यक्ष भएको 'युवा कला परिषद्'मा ४ वर्षजति बिताएपछि उनी धरान उक्ले। ३० दशकदेखि गंगाको परिचय र पहिचान धरानसँगै गाँसिएको छ।
'छपनीले छानछान डबकीले हान
डबकीको निगारैले लाग्यो मलाई वाण'
२०३१ सालमा धरानमा भएको 'पूर्वाञ्चल गीत-नृत्य प्रतियोगिता'मा उनले 'इम्याजिनेसन ग्रुप'का तर्फबाट यही गीत गाए। सारा धरान उनको गीतको तालमा झुम्यो।
उनी भन्छन्, 'यही गीत गाएर वान डे हिट मान्छे हजुर म।'
खिरिलो ज्यान, बाबाजीझैं झ्यापुल्ले कपाल, कपाल घुम्रिएर परेका लट्टा, त्यसमाथि कालोबाट सेतो रङमा बदलिइरहेको दाह्री उनको सदाबहार 'लुक्स' हो। यस्तै हुलियाले गर्दा उनलाई धेरैले 'नेपाली बब मार्ली'को उपमा दिए। हुलिया मिले पनि बब मार्ली र गंगाको गाउने शैली फरक छ। बब मार्ली उत्पीडितका पक्षमा प्रतिरोध र संघर्षका गीत गाउँथे। गंगाले सधैं झर्रो लोक शैली अपनाए।
तै पनि उनलाई दशकौंदेखि वाक्कदिक्क पार्दै आएको प्रश्न हो यो, 'तपाईं बब मार्लीको फ्यान हो? तपाईंलाई नेपाली बब मार्ली भन्दा कस्तो लाग्छ?'
धराने पारामा लेग्रो तान्दै 'दुनियाँ आऽऽआऽऽ...' भन्दै थपे, 'बब मार्लीजस्ता महान् कलाकारसँग नाम जोडिँदा नराम्रो लाग्ने कुरै भएन। तर म गंगा वरदानको आफ्नै पहिचान छ। यस्तो दाह्री-कपाल पाल्ने त हाम्रै ऋषिमुनिहरू पनि थिए नि।'
जे होस्, कुनै बेला 'एक्स्ट्रा लुक्स' देखाउने रहरले अपनाएको आफ्नो हुलिया र नाम असाध्यै प्यारो छ उनलाई। यस्तै मोहले उनले थर 'प्रधान'को साटो 'वरदान' लेख्न थालेका हुन्।
'कसैले सपनामा आएर 'तेरो नामको पछाडि वरदान लेख्' भनेपछि मैले सपनाको आदेश मानेँ,' उनले 'वरदान'को पृष्ठभूमि सुनाए।
लाहुरेको सहर धरान, पहाडबाट झर्ने र पहाड उक्लनेहरूको व्यापार गर्नेदेखि थकाइ मार्ने थलो पनि हो। पूर्वी पहाड र तराईको संगम धरान बजारको विशेषताबारे गंगाले गाएको गीत स्रोताहरूले निकै रुचाए।
गीतले भन्छ,
बजारै भरौं न धरानै
अल्लारे जोवन यस्तै छ
नमान हैरानै...
गंगाको आफ्नै स्वभाव भने सबैलाई हैरानै पार्ने खालको छ। ६६ वर्ष पुग्दा पनि आफूलाई मनमौजी र बिन्दास मान्छे भन्छन्। उनको बानी अझै 'अल्लारे' नै छ। तन्नेरी बेला उनी अझै स्वच्छन्द हुने नै भए।
लामो लेग्रो तानेर बोल्ने ठेट 'धराने' लवजमा भने, 'जहाँ जति बेला मनलाग्यो त्यतै हिँड्ने यायावर बानी मेरो। हिजो पनि, आज पनि। मान्छेहरू हिजो चन्द्रगिरि गएँ, आज भेडेटार गएँ भन्छन्। म त सधैं गइरहेको हुन्छु नि। हाहा...।'
गंगाले जीवनमा संगीतबाट पाएको लोकप्रियतालाई पैसा कमाउनेभन्दा स्रोता कमाउने माध्यमका रुपमा लिए। त्यही भएर पश्चिम महाकालीदेखि पूर्व मेचीको सीमापारसम्म पटकपटक संगीत प्रस्तुत गर्न पुगेका छन् उनी। भारतका दार्जिलिङ, मिरिकदेखि नेपाली लाहुरेहरूको केन्द्र हङकङमा समेत संगीतकै माध्यमबाट 'यार'हरू कमाए। जीवनमा आफूले कमाएको यही सम्पत्ति मूल्यवान् लाग्छ उनलाई।
नामको मोह भए पनि दामको लोभ नगरेको बताउने गंगाको अर्थ–दर्शन यस्तो छ, 'बासी पैसा राख्नु हुन्न।'
आज पनि उनी धरान, विजयपुरमा डेरामा बस्छन्। उनी जन्मेको समयताका छरछिमेक र साथीभाइ कि पल्टन जान्थे, कि भारतको आसाम, मेघालयतिर लाग्थे। तर उनी पैसा कमाउन कहीँ गुडेनन्।
'मैले त्यो सोचिनँ। गीत-संगीतमै रमाएँ,' उनी कुनै खेद राख्दैनन्,'सबभन्दा ठूलो आत्मसुख हो।'
आत्मसुख केमा छ?
'प्रकृतिमा, माटोको गन्धमा,' उनी अलि 'दार्शनिक' सुनिन्छन्।
जीवनमा कहिल्यै जागिर नखाएका उनी प्रकृतिलाई अन्नदाता मान्छन्। आफ्नो जीवन दर्शनबारे भने, 'प्रकृतिले मलाई कला र गला दिएको छ। म धरतीको लेखक, धरतीको गायक। प्रकृतिलाई पुज्छु, प्रकृति नै गाउँछु।'
प्रकृतिलाई जीवनदेखि संगीतसम्मको स्रोत मान्ने उनका गीतका विषयवस्तुमा समेत प्रकृति चित्रण बाहुल्य छ। वरपरको परिवेशलाई टपक्कै टिपेर शब्दमा उतार्न माहिर छन् उनी। भोजपुर, धरान, इटहरी, दमौली, मुस्ताङदेखि नेपालबाहिरका हङकङ, मिरिक, कालिङपोङसम्मका परिवेशलाई मीठो र सरल भावमा उतारेर गीत बनाएका छन् उनले।
उनले सन् १९९८ मा कालापत्थर पुगेर त्यहीँको विषयलाई गीत बनाएर गाएका छन्।
'पर्यटन प्रवर्द्धनका लागि त्यो गीत गाएको सर्टिफिकेट नै छ। साथीभाइले पर्यटन प्रवर्द्धनका विषयमा गीत बनाउन हङकङसमेत बोलाए।'
पर्यटन विकासमा संगीतको भूमिकाबारे जोड दिँदै उनले भने, 'संगीतलाई स्थान विशेषको प्रचारमा उपयोग गर्न सके पो आर्थिक विकास हुन्छ।'
बसिरहेको टेबुल ठटाउँदै उनले इटहरीबारे बनाएको गीत सुनाए,
'इटहरी चोक साथी केको शोक
लैबरी... लाग्दैन भोक
देखिन्छ रमाइलो सबैथोक
मन हुन्छ घमाइलो, छैन कुनै रोग...'
एकछिन आँखा चिम्लिएर घोत्लिएपछि गीतका शब्द सर्लक्कै सम्झँदा रहेछन् उनी। सुनाइसकेपछि सोध्न पनि भ्याइहाले, 'कस्तो लाग्यो?'
यो गीत 'गंगा वरदान भाग-३' मा संग्रहित छ। गंगाकै नाममा भाग एकदेखि चारसम्म संकलित गीतबाहेक आफैं लेख्ने र गाउने उनीसँग रेकर्ड हुन बाँकी थुप्रै गीत छन्। तर ती गीत कहाँ-कसरी रेकर्ड गर्ने अन्योलमा छन् उनी।
यतिबेला नयाँ गीत रेकर्ड गर्ने कुरासँगै पुराना गीतको रोयल्टी नपाएको कुराले पनि सताइरहेको छ उनलाई।
उनले दिक्दारी पोखे, 'रञ्जना क्यासेट, म्युजिक नेपाल, रेडियो नेपाल सबैले आफ्नै दुनो सोझ्याए।'
अहिले त क्यासेटको ठाउँ युट्युबले लिइसकेको छ। युट्युबमा उनका गीत नभएका हैनन् तर त्यसवापत आउने पारिश्रमिकमा पनि अरूकै हालीमुहाली छ।
यति बेला उनी सोचिरहेका छन्, 'मलाई अरूले ठग्यो कि आफैं ठगिएँ?'
चर्चित गीत गाएर पनि गंगाको हात लाग्यो शून्ना स्थितिले पूर्वेली र्यापर गिरिश खतिवडालाई पनि पिरोलेको रहेछ।
त्यही भएर करिब डेढ वर्षअघि गिरिशले आफ्नो च्यानलमा गंगाको लोकप्रिय गीत 'कहाँमा काट्यो बेतको लौरी'को भिडियो राखेर अनुरोध गरे, 'मैले गंगा वरदानको पुराना प्रख्यात गीतरु पछिल्लो पुस्ताका स्रोतामाझ पुगोस् भनेर सहयोग स्वरुप यो म्युजिक भिडियो अपलोड गरेको हुँ। यो भिडियोले मेरो च्यानलमा बनाउने पैसा सबै गंगा वरदानलाई दिनेछु। नेपालका लिजेन्ड गायकले कम्पोज गरेका तर अहिलेसम्म रेकर्डिङ स्टुडियो नपुगेका गीत रेकर्ड गर्न गंगा वरदानलाई मद्दत गरौं।'
पुरानो पुस्तालाई गायन र लेखनको माध्यमबाट लट्ठयाउन सफल गंगा युवा पुस्तामाझ पनि लोकप्रिय छन् भन्ने प्रमाण हो गिरिशको यो पहल।
गीत त भयो नै, सरल व्यवहार र 'युनिक गेटअप'ले पनि नयाँ पुस्ता गंगाप्रति आकर्षित हुने धरानकै भानु थापा बताउँछन्।
'गंगा दाइ सरल र सहज भएकैले धरानमा हुने सांगीतिक कन्सर्टमा प्रायः नछुट्ने नाम हो। संगीत दिवसका दिन जुन २१ मा भएको कन्सर्टमा पनि उहाँले केही गीत गाउनुभएको थियो,' सेतोपाटीसँग टेलिफोन संवादमा थापाले भने।
धेरैको माया पाउँदा-पाउँदै पनि गंगा भन्न छुटाउँदैनन्, 'टपदेखि फ्लप कलाकारसम्मले ठगिएको मान्छे हुँ म।'
रेडियो नेपालमा २०३५ सालमा आफ्नो गीत 'कहाँमा काट्यो बेतको लौरी' महिनौंसम्म घन्केको सम्झिँदैउनले प्रश्न गरे, 'यो गीत पछि कसले गायो तपाईंलाई थाहा होला नि?'
'कहाँमा काट्यो' त्यही गीत हो, जसलाई दार्जिलिङका गायक विपुल क्षेत्रीले 'चोरेर गाए' भनेर लामो विवाद भएको थियो।
आगामी दिनमा आफ्नो सिर्जनामाथि अरूले 'रजाइँ' नगरोस् भनेर आफ्ना स्वर र शब्द समेटिएका सबै गीत भेटिने आफ्नै नामको युट्युब च्यानल बनाउन चाहन्छन् उनी।
'हावाहुरी'बाट सुरू भएको हाम्रो संवाद सकिँदा झरी दर्किन सुरु भइसकेको थियो।
कुरा ट्ंग्याउनुअघि आफूलाई नजिकबाट चिन्नेको टिप्पणी सापट लिँदै 'कन्फेस' गरे, 'मेरा हितैषीहरू भन्छन् गंगा वरदान कहिले गाँजामा भुल्यो, कहिले घुमघाममा।'
अनि बिट मारे, 'अब सम्हालिन चाहन्छु।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी