नेपालमा हत्या गरी भारत पसेर उतै घरबार गरिरहेका एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ। जन्मकैद (२० वर्ष) तोकिएका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई बारा प्रहरीले ३४ वर्षपछि पक्राउ गरेको हो।
बारा प्रहरीले फेटा गाउँपालिका वडा नम्बर ३ का अमलदेव यादवको हत्यामा संलग्न ३४ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको हो।
सोही गाउँपालिका-३ बस्ने लखिचन साह कलवारलाई मंगलबार कलैया उपमहानगरपालिका वडा नम्बर १० बाट पक्राउ गरेको हो।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार उनी २०४२ वर्षदेखि फरार थिए।
उनले २०४२ असार ३० गते बिहान खेतमा पानी लगाउन गएका बेला यादवलाई कुटपिट गरी हत्या गरेका थिए। जग्गासम्बन्धी विवादको पूर्वरिसिइबीको कारण कुटपिट गरी हत्या गरेर भागेका उनलाई अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो।
कलवारलाई बारा जिल्ला अदालतले २०४३ माघ १६ गते, तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतले २०४६ माघ १० गते र सर्वोच्च अदालतले २०६० भदौ ४ गते जन्मकैद (२० वर्ष) सजाय सुनाएको थियो।
‘घटनालगत्तै गाउँबाट भागेर आफ्नो मामाघर भारत बिहार मोतिहारी जिल्ला ग्राम बेलदर्वा वडा नं.२ बेलदर्वा टोल गएर उतै घर बनाई परिवारसहित लुकिछिपी खेतीपाती समेत गर्दै आएका थिए,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘प्रतिवादीलाई विशेष सूचनाको आधारमा हाम्रो टोलीले सीमावर्ती कलैयाको निलकन्ठवाबाट पक्राउ गरेको हो।’
उनलाई बुधबार फैसला कार्यान्वयनका लागि बारा अदालत बुझाइएको थियो। अदालतको आदेशमा उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको छ।
उनी नेपाल-भारत आउजाउ गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी कलवारको पछि लागेको थियो। पछिल्लो समय बारा प्रहरीले फैसला कार्यान्वयनको अभियानै चलाएको छ।