मिथिलाको लोकपर्व मधुश्रावणी सोमबारदेखि सुरू भएको छ।
साउन महिनाको कृष्णपक्ष पञ्चमी तिथिबाट प्रारम्भ हुने यो पर्व शुक्लपक्ष तृतीया तिथिका दिन सम्पन्न हुने गर्दछ।
यसपटक १३ दिनसम्म मनाइने मधुश्रावणी खास गरी मिथिलाका नवविवाहिता महिलाका लागि विशेष पर्वको रूपमा रहेको छ।
तिथिको गणनामा थपघट भएपछि सोही अनुरूप यो पर्वको अवधिमा पनि हेरफेर हुने गर्दछ। मिथिलाको यो लोकपर्व बेहुलीहरूले विशेष गरी माइतीमा मनाउने गर्दछन्। यस पर्वमा बेहुलीका अतिरिक्त अन्य महिला र युवतीहरू सहभागी हुने गर्छन्। यस पर्वमा खास गरी माता गौरी, महादेव र नागदेवता (विषहरा) को पूजाको अनुष्ठान गरिन्छ।
मधुश्रावणी पर्वको विधि
मिथिलामा माता गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीको रूपमा पूजा गर्ने चलन छ। मधुश्रावणी पर्वका लागि व्रतालु (नवविवाहिता महिला) श्रावण कृष्ण चतुर्थीको दिन नुहाइधुवाइ गरी चोखो हुने गर्छन्।
सोही दिन दिउँसोमा नवविवाहिता महिलाहरूका साथै टोल छिमेकका अन्य महिलाहरू मिथिलाका विभिन्न लोक गीतहरू गाउँदै, हाँसीमजाक गर्दै फूल टिप्न जाने गर्दछन्, जसलाई मिथिलामा फूललोढी भन्ने गरिन्छ। टिपिएका फूल तथा बेलपत्रहरू भोलिपल्ट माता गौरी र महादेवलाई चढाउने गरिन्छ। यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने परम्परा छ।
त्यसपछि साँझमा माता गौरीका लागि नैवेध तयार गरिन्छ, त्यस समय बेसारलाई माता गौरीको प्रतीक प्रतीमास्वरूप बनाएर पानको पातमा राख्ने गरिन्छ जसलाई मैथिली भाषामा गौर भन्ने चलन छ।
यसका लागि छरछिमेकका महिलाहरूलाई निम्तो समेत दिइन्छ र महिलाहरूले मधुश्रावणीमा हुने विभिन्न विधि विधानहरूको महत्व र विशेषता झल्किने खालका लोक गीतहरू गाउने गर्छन्।
यस पर्वमा मिथिलाको लोक गीतहरू गोसाउनी गीत, गौरीगीत, शिवनचारी, महेशवाणी, कोहबरगीत आदि गाउने गरिन्छ।
मधुश्रावणीमा गौरी र महादेवको पूजा गर्ने भएकाले शिव-पार्वतीको पारिवारिक परिवेशसम्बन्धी आख्यानहरूको चर्चा गर्ने गरिन्छ। जसले गर्दा मनोरञ्जनात्मक परिवेशको निर्माण समेत हुने गर्दछ पूजाको समयमा।
गौरी नैवेध र गौरीको प्रतीमा नवविवाहिता महिलाको माइती र ससुराली दुवै ठाउँ बनाइने गरिन्छ। यो पर्व खासगरी माइतीमै मनाइने भएकाले ससुरालीमा बनाइएको गौरीको प्रतीक र गौरीको नैवेद्य पूजाको दिन पूजास्थानमा राखिने गरिन्छ।
यस अवसरमा नवविवाहिताको ससुरालीबाटै साडी,श्रृंगारका सम्पूर्ण सामग्रीका साथै पर्व अवधिका लागि अन्न समेत पठाउने चलन रहेको मधुश्रावणीको कथा वाचन गर्ने सच्ची देवीले बताइन्।
उनका अनुसार श्रावण कृष्ण पञ्चमीका दिन व्रतालुहरू स्नान गरी नववस्त्र धारण गरेपछि कुलदेवतालाई प्रणाम गर्दै पूजा हुने स्थानमा विशेष प्रकारको अरिपन बनाइएको स्थानमा बस्ने गर्छिन्। त्यसपछि त्यहाँ पाँच वटा नागदेवताको आकृति बनाइने गरिन्छ। विशेष प्रकारको अरिपनमाथि पूजा सामग्री समेत राख्ने गरिन्छ। यसमा कलशका साथै एक सय आठ स्थानमा नाग देवताको आकृति बनाइएको हुन्छ। त्यसपछि माता गौरीको पूजा गर्दै मधुश्रावणी पूजा आरम्भ गरिन्छ।
सर्वप्रथम हात्तीमाथि माता गौरको ( बेसारबाट बनाइएको माता गौरीको प्रतीक) पूजन गर्ने गरिन्छ। पञ्चोपचार पद्धतिबाट गन्धपुष्प धुपदीप ताम्बुल, दूवार्दल, बेलपत्र, नैवेध इत्यादिद्वारा विशेष विधिविधानसहित स्वामीपुत्रसहित माता गौरीको पूजा गरिन्छ। पूजा गरेपछि प्रत्येक दिन निर्धारित कथा सुनाइने गरिन्छ।
कथापश्चात बाचोबीनी नामक मन्त्रविशेष समेत एकपटक सुनाइने गरिन्छ। पूजा समाप्त भएपछि व्रतालु कुलदेवतालाई प्रणाम गर्दै आफूभन्दा श्रेष्ठबाट समेत आशिर्वाद लिने गर्छन्। त्यसपछि पूजास्थानमा राखिएको खीरको भागलाई पूजा गर्दै पाँच जना सधवा महिलाहरूलाई खुवाइने गरिन्छ। यस विधिलाई मैथिलीमा करोतरि भन्ने गरिन्छ। यस पर्वमा १५ दिनसम्म पूजनकालमा ससुरालीबाट आएको वस्त्र (साडी) मात्रै लगाइने गरिन्छ कथावाचिका सच्ची देवी बताउँछिन्।
यसरी १३ दिनसम्म गरिएको पूजामा एकत्रित गरिएको फूल अर्थात् निर्माललाई अन्त्यमा विसर्जन गरिने प्रावधान रहेको छ। साउन शुक्लपक्षको तृतीया तिथिका दिन मधुश्रावणी पर्व समापन गरिन्छ। तृतीयाभन्दा एक दिन पूर्व व्रतालु बेहुली (चोखो हुनु)नुहाइधुवाइ गरेपछि सोही दिन साँझ फेरि गौरी नैवेध पकाउँछिन्। सोही दिन नवविवाहिता टेमी विधिमा सहभागी हुन्छिन्। टेमी विधिमा दीयोको टुप्पीले नवविवाहितालाई गोडामा पोलिन्छ। बेहुलीको देब्रे गोडामा टुप्पीले स्पर्श गराइन्छ। स्पर्श गराइएको स्थानमा चन्दनको लेप लगाइन्छ।
यसमा पोलिएको ४ स्थानमध्ये एक वा तीन स्थानमा घाउ आए श्रीमानले भविष्यमा अझै बढी माया गर्ने भन्ने विश्वास रहेको छ। तर नवविवाहिता महिला गर्भवती रहेको पाइए उनीहरूलाई शीतल टेमी दिइन्छ।
मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व रहे पनि ब्राह्मण, कायस्थ, भूमिहार र सोनार जातिले मात्रै मनाउने गर्छन्। पर्वमा जाति, स्थान अनुसार विधिमा विविधता समेत पाइन्छ। जस्तै ब्राह्मण परिवारमा पूजा अवधिभरि ससुरालीबाट आएको अन्न मात्रै खाने प्रचलन छ। तर अन्य जातिमा भने सो प्रावधान पाइँदैन।
मधुश्रावणी पर्वको महत्व
अवधिको दृष्टिले यो पर्व मिथिला क्षेत्रको सबभन्दा ठूलो पर्व हो। भगवान् शंकरलाई मिथिला क्षेत्रमा त्रिभुवननाथ भनि आस्थाका साथ पूजा गरिन्छ। आशुतोष शंकर मनोवाञ्छित फल प्रदान गर्ने देवताको रूपमा पूजित छन्। मधुश्रावणी पर्वमा विशेष रूपमा नाग देवतालाई विषहराको नामले पूजा गर्ने गरिन्छ।
विषहरालाई महादेवको सन्तति सरह मानिएकोले यो पर्व गर्नाले सर्पको भय नहुने र भगवान् शंकर समेत प्रसन्न हुने जनविश्वास रहेको पाइन्छ।
मधुश्रावणी पर्व दार्शनिक दृष्टिकोणबाट समेत महत्वपूर्ण रहेको नेपाल नाट्य संगीत कला प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झा बताउँछन्। पर्वअन्तर्गत वाचन गरिने कथाहरूमा सृष्टितत्व, पृथ्वीको जन्म आदिको वर्णन पाइनुका साथै जीवन, प्रारब्ध, कर्मफलको भोग, पुनर्जन्म इत्यादि गम्भीर विषयहरूलाई समेत लोककथाको माध्यमले सुनाइने गरिन्छ।
हुनत यो पर्व सामाजिक दृष्टिकोणले समेत अति नै महत्वपूर्ण रहेको छ। पर्वका कथाहरूमा भगवान शंकरको पारिवारिक जीवनसम्बन्धी कुराहरू, विवाह, भगवान शंकर र माता गौरीको दाम्पत्य जीवनको प्रसंगका साथै समाज र परिवारमा द्वेष, सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम(वासना), मनोरञ्जन, दाम्पत्य प्रेम, पारिवारिक कर्तव्यबोध इत्यादिको वर्णन गरिएको हुनाले यो पर्व शिक्षाको दृष्टिले समेत महत्वपूर्ण रहेको रमेशरञ्जन बताउँछन्।
नवविवाहिताका लागि शिक्षा र मनोरञ्जनको पर्व
फुललोढी पर्वले मनोरञ्जनात्मक संयोग जुराइदिएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की नवविवाहिता पूजा झा बताउँछिन्। उनी भन्छिन्, ‘एकै ठाउँमा बसे पनि कार्य व्ययस्ताका कारण हामी एकसाथ बसेर कुरा गर्न सकिरहेका हुँदैनौ तर यो १५ दिनको पर्वले यो अवसर समेत जुराइदिएको छ।’
मधुश्रावणी मनोरञ्जनात्मक त छँदैछ साथै यसले मैथिल विधिविधान समेत सिकाउँछ वडा नम्बर ४ कै नवविवाहिता कल्पना झाको भनाइ रहेको छ।
उनले भनिन्, ‘कतिपय मैथिली संस्कारको विधिविधानबारे मैले जान्ने अवसर पाउने भएकी छु।’
उनले अगाडि भनिन्, ‘साथै यस पर्वले एक नारी कतिसम्म सहनशील धैर्यवान् हुन सक्नुपर्छ भन्ने कुराको ज्ञान समेत प्रदान गरेको छ।’
फुललोढीमा साथीसंगीहरूसँगै विभिन्न मनोरञ्जनात्मक लोक मैथिली गीतहरू गाउँदै बाटो बाटो डुल्दै अर्काको बारीबाट फूल टिप्नुले बालपनको आभाष गराउने गरेको कल्पनाले बताइन्।
पर्वमा शामिल नवविवाहिताहरू यो पर्वबाट हामीलाई खुलापनको आभाष त गराउँछ तर यसका साथै पारिवारिक लोकलाजको विषयमा समेत शिक्षा प्रदान गर्ने गरेको बताउँछिन्। अर्थात् मधुश्रावणी पर्व व्रतालुहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै जीवनोपयोगी शिक्षा दिने उत्कृष्ट पर्व हो।
मधुश्रावणी व्रतको प्रारम्भ
गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकोले यस पर्वमा गौरी तथा नागनागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद्हरू बताउँछन्।
गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनकामना पूर्ण गर्ने देवी पनि हुन्। मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ। वाल्मीकि रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग पहिलो भेट भएको थियो।
पर्वमा कतिपय कथा शिव पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसंग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पति प्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास समेत पाइन्छ।
यो पर्व कहिलेदेखि सुरू गरिएको हो भन्न सकिने तथ्य नरहे पनि शिव पुराणको प्रसंगअनुसार मधुश्रावणी नामक नवविवाहिताले शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए।
उनको सुझावअनुसार उनले व्रत गरेपछि पति निको भई स्वस्थ भए। त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दे परम्परागत रूपमा मनाउँदै आएको बुझिन्छ।