महोत्तरीमा उधारो पैसा लिन जाँदा एक जना महिलामाथि कुटपिट भएको छ।
महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर १ की ३५ वर्षीया रिनादेवीले छिमेकी राजेश ठाकुरसँग २ वर्षअघि भैंसीको दूध लिए बापत बाँकी रहेको २ सय ५० रुपैयाँ माग्न उनको घर पुगेकी थिइन्।
बाँकी रहेको दूधको पैसा माग्दा ‘किन ताकेता गरिस्’ भन्दै राजेशले निर्मम तरिकाले कुटपिट गरेको उनका १४ वर्षीय छोरा सुरज चौधरीले बताए।
‘दूधको पैसा माग्दा केही साताअघि राजेशले आमालाई निर्घात कुटपिट गरेका थिए, आमाले बाँकी रहेको दूधको पैसा माग्दा, किन ताकेता गरिस् भन्दै निहुँ खोजेर निर्मम तरिकाले कुटपिट गरेपछि उहाँलाई तत्कालै स्थानीय अस्पतालमा उपचार गरिएको थियो, उहाँको उपचार स्थानीयस्तरमा नभएपछि विराटनगर रेफर गरिएको थियो, तर पनि उहाँलाई बचाउन सकिएन’, मृतक रिनाका छोराले भने।
असार २० गते दिउँसो आमा राजेशको घर गएकी उनले बताए।
सुरजका अनुसार उनीहरू विद्यालय गइसकेकाले घरमा कोही नभएको बेला रिनालाई कुटपिट गरिएको थियो।
रिनाका श्रीमान् दयाराम चौधरी वैदेशिक रोजगारको क्रममा मलेसियामा छन्।
टाउको, पिठ्यू, ढाड र तिघ्रामा चोट लागेको रिनाको परिवारले कुटिएको थाहा पाएपछि तत्कालै स्थानीय स्वास्थ्य चौकी, रामगोपालपुरस्थित स्वास्थ्य चौकी तथा जलेश्वर अस्पतालमा समेत लगियो। तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो र विराटनगरमा उपचारकै क्रममा गत आइतबार मृत्यु भएको हो।
कुटपिट भएपछि जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा समेत उजुरी दिएको ७० वर्षीय उनका आफन्त जोगिन्द्र चौधरीले बताए।
रिनाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै केही प्रतिक्रिया दिन मिल्ने जनाएको छ।
छिमेकी राजेश ठाकुर रिनाको मृत्यु भएको थाहा पाएलगत्तै फरार भएका छन्।