बुधबार रातिदेखि भइरहेको अविरल वर्षाले प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ ।
जनकपुरधामका प्रायः सडक छेउमा रहेको घर तथा सरकारी कार्यालयहरूमा पानी जमेको छ। अविरल वर्षाका कारण मुख्यमन्त्री कार्यालय, ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघा मैदान, रामानन्द चोक, जिल्ला प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताललगायत स्थान जलमग्न भएको छन्।
एकीकृत शहरी विकास परियोजनाको ऋण सहयोगमा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुर अञ्चल अस्पतालको नवनिर्मित भवनको आकस्मिक कक्षमा समेत पानी पसेको छ। आकस्मिक कक्षको छत चुहिएका कारण पानी जमेको त्यहाँका कर्मचारीहरूलाई बताएका छन्।
अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलनको काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाअन्तर्गत नगरका सडकहरू बनाइएका कारण सडकमा पानी जमेको त छैन तर पानी निकास नभएका कारण घर घरमा पानी पसेको छ। ढल व्यवस्थापन नभएकै कारण पानीको बहाव रोकिएको छ।
त्यस्तै जनकपुर उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोक, विश्वकर्मा चोक, कदम चोकमा समेत पानी जमेको छ।