गलामा माला, रातो टीका अनि पञ्चे बाजाको घन्किरहेका थिए।
टपरीमा रोटी, अनि दही र चिउरा। विभिन्न असारे भाकामा नाच्नेहरूको पनि कमी थिएन। पर्यटक हिलोमा रमाइरहेका थिए, पोखरा महानगरपालिका १७ महतगौडामा । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा १६ औं असारे रोपाइँ महोत्सव भयो। हरेक वर्ष फरक–फरक ठाउँमा गरिँदै आएको छ।
खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुँदै पर्यटकले हिलो छ्यापाछ्याप गरेका थिए। विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए। विगतका महोत्सवमा भन्दा यस विदेशी पर्यटकको संख्या धेरै थियो।
असारे रोपाइँ महोत्सवको हिलो खल्ने विभिन्न देशका पर्यटकलाई तछाडमछाड थियो। ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित स्वदेशीदेखि विदेशीहरूका लागि महोत्सव आयोजना गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरू खेतमा धान रोप्न व्यस्त।
अझ त्यसमा पनि धान दिवस। तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा व्यस्त बने। पर्यटक हिले दौड, रोपाइँ प्रतियोगिता, रसितान्ने प्रतियोगिता, हिलोमा माछा समाउने प्रतियोगितामा भाग लिँदै रोपाइँ महोत्सवमा रमाए।
विदेशी पर्यटकहरूले नेपालको नाम सुने पनि असारे रोपाइँको बारेमा जानकारी नभएको तर प्रत्यक्ष सहभागी हुँदा खुसी लागेको बताए।
खेतको आलीमा बसेकाहरूलाई हिलो छ्याप्दा छेउमा बस्नेहरू भागदौड गर्दा वातावरण निकै रमाइलो बनेको थियो। सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने हो कि! भन्ने चिन्ता कार्यक्रममा सबैले व्यक्त गरे।

यस वर्ष पोखरा १७ महतगौडाका ऋषिराम भण्डारीको ४ रोपनी क्षेत्रफलमा चार हल गोरु नारेर रोपाइँ महोत्सव गरिएको थियो। रोपाइँ महोत्सवमा सहभागी हुनका लागि अमेरिका, बेलायत, चाइनालगायतका देशबाट विदेशी आएका थिए।
कास्कीमा जेठो बुढो, मनसुली, गुर्दी, बतीसरा, तौली लगायतका पुराना जातका धानका साथै, राधा ७, राधा नौ, सावित्री लगायतका विकासे धानहरू लगाइन्छ। नेपालभर धानका करिब एक हजार जातका धान लगाउने गरिन्छ।

हालसम्म नेपालमा ३८ प्रकारका वैज्ञानिक धान लगाउने गरेकोमा कास्कीमा १० प्रकारका वैज्ञानिक धान लगाउने गरिएको कृषि क्षेत्रका जानकारहरू बताउँछन्। कास्कीमा २६ हजार सात सय हेक्टर जमिनमा धान खेती हुने गरेकोमा बर्सेनी ८० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने गरेको छ। यस वर्ष पोखरा २४ पामे, हेम्जा र लेखनाथमा समेत रोपाइँ महोत्सव भएका थिए ।
तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी













