जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का ७५ वर्षीय बद्री र उनकी श्रीमति सुदामा ठाकुर जिल्ला प्रशासन कार्यालय धनुषामा भेटिए।
प्रायः नागरिकता बनाउनेदेखि वैदेशिक रोजगारमा जाने युवाहरु पासपोर्टका लागि यहाँ आउने गर्छन्। तर वृद्ध उमेरका बद्रीको समस्या भने बेग्लै थियो।
प्रमुख जिल्ला अधिकारीसँग बद्रीले छोराबाट खाना खर्च भराउनका लागि निवेदन सिफारिस गर्न लगाए। उनको पीडाबारे सोधपुछ गर्दै गर्दा चश्मा तलबाट बर्बर आँसु झर्न सुरु भयो।
कुनै बेला जग्गा मालिक रहेका बद्री अहिले साँझ र बिहान खानाका लागि भौंतारिरहेका छन्। बद्रीका ३ छोरा छन्।
जेठो छोरा लालबाबु ठाकुर जो जनकपुरधाममै फोटोकपीको पसल चलाउँछन्। माइला छोरा श्याम ठाकुर जनकपुरधाम उपमहानगरपालिकाका खरिदार हुन्।
कान्छो छोरा प्राइभेट बैंकमा ‘क्यासियर’को काम गर्छन्। तर यी तीनै जनाको कमाईले बृद्ध भएका बाबुआमाका लागि कुनै राहत त पुगेन नै बरु भएको १ बिघा जग्गा समेत खोसियो।
कान्छो छोरो मिथिलेशले आमा सुदामाको नाममा रहेको १८ कठ्ठा ५ धुर जग्गा बेचिदिए। पैसा बाँडफाँड नगरी आफैले राखे। दाइ लालबाबुको ७ कठ्ठा जग्गा समेत उनलाई झुक्याएर बेचे। सरकारबाट पाउने वृद्धभत्ताबाट नै आफूहरु पालिँदै आएको बद्री बताउँछन्।
‘७५ वर्ष भएँ, सरकारले दिएको बृद्धभत्ताबाट दुबै जनाको गुजारा चलिरहेको छ, तर कहिलेसम्म पो चल्ने हो।’ चुरोट फ्याक्ट्रीबाट रिटायर्ड हुँदा पाएको पैसा समेत कान्छो छोरालाई दिएका उनी भन्छन् ‘छोराले नै विश्वासघात गर्छन् भन्ने मलाई के थाहा।’
उनको पीडाबारे जेठो छोरा लालबाबुलाई प्रश्न गर्दा उनले भने ‘हामी माथि पनि छोराछोरीको र पारिवारिक जिम्मेवारी छन्, तै पनि हामीले बाबुआमाका लागि सक्दो गरेकै छौँ।’
छोराको विश्वासघातबाट घरबारबिहीन भएका यी दम्पत्तिको अब एउटै चाहना छ, ‘छोराहरु हाम्रो बुढेसकालको सहारा बनुन् र बाचेसम्म खान लाउनका लागि पीडा नहोस्।’